वर्गीय समानताको लागि कदम चालेका छौँ


                            अमृता गुरुङ                                                                                                       उपाध्यक्ष, सियारी गाउँपालिका, रुपन्देही

 

सियारी गाउपालिकाको न्याय समितीको संयोजक भएर काम गरिरहदा कस्तो अनुभूति गरिरहनु भएको छ, उपाध्यक्ष ज्यू ?
–हो, म सियारी गाउँपालिकाको उपाध्यक्ष भएर काम गरिरहँदा जनअपेक्षा अनुसारका विकासे काम देखि न्याय सम्पादन सम्मको जिम्मेवारी पुरा गर्ने कार्यमा लागिरहेको छु । कानुनले उपाध्यक्षलाई न्याय समितिको संयोजकको जिम्मेवारी दिएको छ । कानुन अनुसार यहाँ पनि न्याय समिति गठन भएको छ । हाम्रो समितिले कानूनले व्यवस्था गरेअनुसारका विभिन्न विवाद तथा मुद्धाहरु दर्ता गर्ने त्यसमाथि छलफल गर्ने र न्याय समितिले प्राप्त अधिकारको परिधिभित्र रही मुद्धाको छिनोफानो गर्ने काम गरिरहेकोछ ।

यहाँहरु निर्वाचित भएर आएको पनि एक वर्ष बितिसक्यो, यो अवधिमा कति मुद्धा हेर्नुभयो ?
–हामी निर्वाचन जितेर आइरहँदा जनअपेक्षा धेरै थिए । ती अपेक्षा हुनु स्वभाविक पनि हो । किनकी दुई दशक भन्दा बढी समयसम्म देश जनप्रतिनिधि विहीन थियो । त्यस्तो अवस्थामा आफुले मत दिएर चुनेको व्यक्ति जनप्रतिनिधि भएर गएपछि अपेक्षा राख्नु स्वभाविक पनि हो ।
तथापी यो अवधिमा स्पष्ट कानुनको व्यवस्था नहुँदा केही समय अन्यौलता पनि भयो । संघ, प्रदेश र स्थानीय सरकारका काम कर्तव्य अधिकार र दायित्वको बाँडफाँड र नीति निर्माणमै धेरै समय खर्चिने काम भयो । तर पनि हामी स्थानीय तहमा आफ्नो दायित्वमा प्रतिबद्ध भएर लागिरहेका छौं । तथ्यांकलाई हेर्ने हो भने हामी आइसकेपछि हाम्रो न्याय समितिमा ५१ वटा विवादहरु आएका छन् । हामीले सकेसम्म जुन वडाको विवाद हो त्यहि समाधान होस् भन्ने हेतुले कुनैपनि विवाद आएपछि वडामै जान अनुरोध गर्छौँ । यसरी यस वर्ष २९ वटा विवाद वडा तहमै समाधान भएका छन् । वडा तहमा समाधान नभएका विवाद गाउँपालिका स्तरको न्याय समितिमा छलफल गरी समाधान गरेका छौँ । यस्ता मुद्धा २२ वटा रहेका छन् ।

यहाँ कस्ता प्रकृतिका मुद्दा मामिला आउने गरेका छन् ?
–हाम्रो गाउँपालिका जाति, धर्म, संस्कृति र भूगोलमा विविधतामा एकता भएको गाउँपालिका हो । यो शहरोन्मुख गाउपालिका पनि हो । यहाँ विशेषतः जग्गा जमिनको विवाद, श्रीमान श्रीमतिको झगडा बढी आउने गरेका छन् । एउटा विवाद अलि धेरै मेहनत गरी समाधान गरिएको थियो । वडा नम्बर ४ मा एकजना महिलाले नागरिकता बनाइदेऊ भन्दा उनको श्रीमान, ससुराले नमानेपछि हामीले पनि धेरै पटक सम्झाई बुझाई ग¥यौँ । म उनको घरमै गएर सम्झाएँ तर उनले नमानेपछि बाध्यभएर कानून अनुसार प्रहरीको सहयोगमा उनलाई नागरिकता बनाईएको थियो । यो घटनाले अहिले पनि केही महिलाहरु नागरिकताबाट वञ्चित छन् की जसले बाहिर भनेका छैनन् भन्ने सूचित गरेको        छ ।

मुद्धा निरोपण गर्दा समस्या त भएको छैन ?
–अहिलेसम्म त्यस्तो समस्या आएको छैन । हामीलाई विभिन्न संघसंस्थाले न्याय सम्पादन सम्बन्धि तालिम पनि दिएका छन् । त्यसैमा म यहाँ जनप्रतिनिधि भएर आउनुभन्दा पहिले यहीँकै समाज, भूगोलमा रहेर दिनरात सामाजिक सेवा गर्दै आएको हुँ । यहाँका जनतालाई थाहा छ की म उपाध्यक्ष हुनुभन्दा पहिले पनि जनताकै बीचमा थिए । जनताको पक्षमा वकालत गर्दै आएकी थिएँ । यहीँकै समाजमा रहेर विभिन्न सामाजिक समस्या समाधान गर्न तल्लीन रहेँ । आफ्नो जीवनको भोगाई, सिकाई र केही अफ्ठयारो पर्दा अध्यक्ष अयोध्या थारु ज्यूको सुझाव, कर्मचारीहरुको सहयोग एवं न्याय समितिका सदस्यहरुको सहयोग तथा वडाका अध्यक्ष एवं सदस्यहरुको सहयोगमा काम गरिरहेका छौं । तथापी एकजना कानुनी सल्लाहकार आवश्यक देखिन्छ । जसले सिंगो गाउँपालिकालाई कानुनी हिसाबले सल्लाह सुझाव दिने गरोस् ।

केही गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्षलाई थाहै नदिई विभिन्न महत्वपूर्ण निर्णय अध्यक्षले गर्ने गरेको देखिन्छ यहाँ त्यस्तो छ की छैन ?
–हाम्रो गाउँपालिकामा त्यस्तो अहिलेसम्म भएको छैन । यहाँ अध्यक्ष र म एउटै विचार र सिद्धान्तबाट प्रशिक्षित व्यक्तित्व पनि भएर होला । अध्यक्षले हाम्रो कार्यक्षेत्रमा अहिले सम्म हस्तक्षेप पनि गर्नुभएको छैन । हामी चाहन्छौँ सधँैभरी यस्तै रचानात्मक सहयोग हुनेछ । यद्यपी केही कर्मचारीले नबुझ्दा बेला बेलामा समस्या सृजना नभएको चाहीँ होइन । केही कर्मचारीमा अहिले पनि पहिले जस्तै आफुखुसी काम गर्ने परम्परा छ । हामी जनप्रतिनिधिले त्यस्ता बानी व्यहोरा भएकालाई सकेसम्म सुधार्ने हो नभए अर्को विकल्प खोज्ने हो । जनताले हामीलाई ५ वर्षको लागि काम गर, भनेर खटाएर पठाएका छन् । हामी जनताको लागि, जनताद्वारा निर्देशित काम गर्ने व्यक्ति हो ।

अलि प्रसंग बदलौं, गाउँपालिकाको उपाध्यक्षमा स्वंय महिला हुँदा गाउँघरका महिलाहरु कत्तिको काम लिएर आउने गरेका छन् ?
–महिला दिदीबहिनीहरु आइरहनु हुन्छ । हामीले लैंगिक समानताको लागि भूमिका खेलिरहेका छौं । यद्यपी हामीले लक्षित वर्ग भनेर लिंग, जाति, भाषा, धर्मको आधारमा भन्दा पनि वतर्गीय आधारमा समस्याको साधान खोज्यौं भने त्यो दीर्घकालिन हुने ठानी सोही अनुसार गर्दैछौँ । कार्यक्रम पनि त्यसरी बनाइरहेका छौं । हामीले बालिकाहरुले स्कुलमा पढ्ने अधिकारलाई प्रत्याभूत गर्न बिमा कार्यक्रम पनि अगाडि सारेका छौँ । यसैगरी वृद्धाअवस्थामा आर्थिक समस्या नहोस् भनेर अनिवार्य बचतको पनि कार्यक्रम अगाडि बढाउँदै छौँ ।

वर्गीय आधारमा भन्नाले ?
–हेर्नुस्, समाज विकासको क्रमलाई राम्रोसँग केलाएर गयो भने मात्र अगाडि बढ्न सकिन्छ । संसारमा जति पनि समस्या सृजना भएका छन् तीनको पछि वर्ग जोडिएको छ । अहिले हाम्रो देश, समाज पनि पूँजीवादको चरणमा छ । हाम्रो समाजमा पनि विभिन्न वर्ग छन् । एउटा हुँदा खाने वर्ग छ जसलाई निम्न वर्गीय पनि भन्न सकिन्छ । अर्को हुने खाने वर्ग जसलाई पूँजीपति वर्ग भनिन्छ । पूँजीपतिहरु सधैँ अवसरको पछि हिँड्छन् । उनीहरुले विगत २ दशक सम्म कर्मचारीतन्त्रलाई दबाब र प्रभावमा पारेर आफ्नो काम गराउन तल्लीन भए । एक हिसाबले भन्ने हो भने देशको सबै आर्थिक गतिविधि आफ्नो नियन्त्रणमा राखे । तर निमुखा गरीब निम्न वर्गीयहरु जहिल्यै पनि अवसरबाट विमुख भइरहेका छन् । यसैले हामीहरु जातिय आधारमा, धार्मिक आधारमा दिइने सहयोग र प्राथमिकतालाई भन्दा वर्गीय आधारमा जो निम्न वर्गीय छन् । तिनीहरुलाई प्राथमिकतामा राखेर अवसर दिनुपर्दछ भन्ने मनसायमा छौँ । यसो ग¥यो भने हामीले कल्पना गरेको समाज निर्माण हुन्छ । जहाँ वर्गीय समानता हुन्छ । सबै समान हुन्छन् । समाजवाद उन्मुख शासकीय स्वरुप र कार्यक्रम नै आजको आवश्यक्ता पनि हो ।

अन्त्यमा ?
–यो सियारी गाउँपालिकामा हामीले कृषि, पर्यटन र उत्पादनमुखी कामलाई बढी जोड दिइरहेका छौँ । बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न विभिन्न साझेदार संस्थाको सहयोगमा विद्यालयमा खाजा, पोशाक र पठनपाठनमा विशेष जोड गरेका छौं । शिक्षालाई मुख्य प्राथमिकतामा राखी अगाडि बढेका छौं । हामी समृद्ध र विकाससील बेरोजगारमुक्त र सबैप्रकारका हिंसामुक्त, वर्गिय समनता भएको नमूना गाउपालिका बनाउनेगरी अगाडी बढीरहेका छौं । हाम्रो यात्रामा सबै जनता, सरोकारवाला, सन्चारकर्मीले सकारात्मक सहयोग गरेमा हाम्रो अभियान सफल हुने अपेक्षा गर्दछौं ।

यसमा तपाइको मत

अन्तर्वार्ता बाट अन्य समाचार