उत्पादक, उपभोक्ता र व्यापारीको त्रिवेणी बन्यो लुम्बिनी महोत्सव


लुम्बिनीखबर

नरेश के.सी.
भैरहवा, पौष । तराई पहाडमा हिउद शुरु भएसंगै मेला महोत्सवको पर्व नै लाग्ने गर्दछ । आजभोली हरेक पालिका स्तरमा हुने यस्ता व्यापारीक मेला महोत्सव हाटबजार जस्तै हुने गरेको भनेर आलोचना भईरहेको बेला भैरहवामा मंसिर २० गतेदेखी सन्चालीत सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला भने उत्पादक, उपभोक्ता र विक्रेताको संगम स्थल भएको दाबी गरिएको छ ।


विश्व पर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवा व्यापारीक नाका, विशेष आर्थिक क्षेत्र र औद्योगिक नगरको रुपमा समेत परिचित छ । सोही नगरमा सन्चालित महोत्सवमा अल्लोको उत्पादनदेखी बहुराष्ट्रिय कम्पनिका उत्पादन, च्याऊ देखी सुन्तला स्याऊ सम्म पाएकोमा टिकुलीगढदेखी मेला हेर्न आएका दर्शक रामलाल जैसी मख्ख देखिन्थे । नातिनातिना सहित आएका ६२ वर्षिय जैसीले भने , ‘म २ चोटी आए , धेरै राम्रो लाग्यो । धेरैपछि कुराउनी र खीर खाईयो । यी नानीहरुले पनि खाए । विगतको भन्दा मेला राम्रो लाग्यो । ’
जैसी जस्तै मेलामा कुस्ती हेर्न मर्चवारबाट आएका साधुराम यादब झनै मख्ख थिए । उनी भन्दै थिए ‘मज्जाले कुस्ती हेरियो । रमाइलो भयो । ’
दिनभर विभिन्न लोक तथा आधुनिक कलाकारको प्रस्तुति र सांझपख डिजेको प्रस्तुतीले भैरहवामा बढ्दै गएको जाडोलाइ समेत मथ्थर पार्दै गएको प्रतित हुन्थ्यो । नाम चलेका कलाकारले दिनभरी बुढ्यौली र पुरानो पुस्तालाई मनोरन्जन दिईरहदा सांझ ६ बजेपछि डिजे तामा सहितका कलाकारको प्रस्तुतिमा युवा पुस्ता झुमेको देख्दा आकाश समेत खुलेर हासिरहेको देखिन्थ्यो । महोत्सवमा १० दिन सम्म सहभागीहरुलाई हरेक दिन राष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकारहरुले जसरी छमछमी नचाए त्यसैगरी भ्वाईस अफ भैरहवा र नृत्य प्रतियोगिताले नयां प्रतिभालाई स्थापीत मात्रै गरेन नयां र पुराना कलाकारको मितेरी पुल समेत बन्न सफल भयो ।
मंसिर २० गते करिब ३ किलोमिटर सम्म लामो लाईनमा पंक्तिबद्ध विभिन्न जाति, समुदायको झाकिं सहितको र्यालीमा सहभागी हजारौं जनाको सहभागीतालाई पुर्व प्रधानमन्त्री प्रचण्ड, पुर्वमन्त्रीहरु बालकृष्ण खाण, घनश्याम भुसाल, दीपक बोहरा लगायतले सम्बोधन गरेर उद्घाट गरिएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ (पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला) आइतबार समापन भएको छ ।


महोत्सवमा एकातिर टयाक्टर नै शरिरमा चढाएर साहसीक खेल प्रदर्शन गर्ने भारतीय अली पहलमानहरुको कुस्तीको अखडामा देखाएको प्रदर्शनले दर्शकहरुलाइ चिटचिटी पसिना छोडाई रहेको थियो भने अर्कोतिर घुम्ने पींग र मिनीरेलको यात्रामा दर्शकहरु रमाईरहेका थिए ।
महोत्सव परिसरमा रानिमहल र मायादेवी मन्दिर जस्ता ऐतिहासीक सम्पदाको आकर्षक अस्थायी संरचना सहित कुल २ सय ७५ स्टल रहेका थिए । देवदह भुलहिका च्याऊको उत्पादन, छपियाको माछा, जमराको जुस सहित कृर्षिका २५ स्टल, दंगाली अल्लोको उत्पादन सहित २५ हस्तकलाका स्टल महोत्सवमा दर्शकका रोजाईका स्टल देखिएका थिए । महोत्सवमा औद्योगिकततर्फ ५५, होजेरी तथा गार्मेन्टतर्फ ६५, अटोमोबाइल्सतर्फ १३, बैंक तथा वित्तीय संस्थातर्फ ५, होटल तथा रेष्टुरेण्ट तर्फ १६, इलेक्ट्रोनिक्सतर्फ ८, खाद्यान्नतर्फ १९, कस्मेटिकतर्फ ४, शैक्षिक परामर्शतर्फ २, फुटवेयरतर्फ ९, स्वास्थ्यतर्फ २ र पर्यटनतर्फ ७ वटा स्टल रहेको आयोजक सिद्धार्थ उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन समितीका संयोजक ठाकुर कुमार श्रेष्ठले जनाए ।
‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंको आयोजनामा भैरहवामा आयोजित महोत्सवमा १२ करोड बराबरको कारोबार र ३ लाख दर्शकले मेलाको अवलोकन गरेको महासचिव नेत्र प्रसाद आचर्यले बताए ।
महोत्सव मुल आयोजक समितीका संयोजक कुल प्रसाद न्यौपानले महोत्सवले भैरहवा र आसपासको क्षेत्रलाई पर्यटकीय, औद्योगिक एवं व्यापारीक केन्द्रको रुपमा स्थापित गर्ने र लुम्बिनीको ऐतिहासिक एवं पर्यटकीय महत्वबारे व्यापक जनचेतना फैलाएर लुम्बिनी र प्रदेश नं. ५ को पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यमा एक इट्टा थप्न संघ सफल भएको विश्वास व्यक्त गरे ।
उनले “लुम्बिनीको विकसित पहिचान,नेपाल र नेपालीको सान” भन्ने नारालाई साकार पार्न सरकार र निजी क्षेत्रले आत्मसात गरी संगसंगै अघि बढ्न हौसला मिलेको पनि बताए ।
महोत्सवको आइतबार समापन गर्दै प्रदेश नम्बर ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश स्तरमा उद्योग, व्यवसाय र पर्यटनमैत्री बातवरणकोलागी लुम्बिनी महोत्सव सार्थक भएको बताए । ‘भैरहवामा मेला महोत्सवको लागि प्रदर्शनीस्थलको आवश्यकता छ, त्यसको लागि प्रदेश सरकार उद्योगी व्यवसायीसंग हातेमालो गरेर अगाडी बढ्नेछ,’ मन्त्री गिरीले भने ।’
कार्यक्रममा प्रदेश सांसद सन्तोष कुमार पाण्डेले अन्तराष्ट्रिय जगतले चिनेको लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरको विकासकोलागी प्रदेश सरकार स्थानिय सरकारसंग सहकार्य गरेर अगाडी बढ्ने जनाए ।
कार्यक्रममा प्रदेश सांसद फकरुद्धिन खान, सिद्धार्थनगरका उपप्रमुख उमा काफ्ले, संघका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, प्याब्सनका केन्द्रीय सदस्य विष्णु पन्थि, संघका बरिष्ठ उपाध्यक्ष भिस्म न्यौपाने लगायतले बोल्दै भैरहवा मण्डपकोलागी आवश्यक पहल गर्ने बताएका थिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार