भलाई कोषको नवीकरणपछि मजदुरमा खुसी


लुम्बिनीखबर
बुटवल, पुस । लामो समय सम्म नविकरण हुन नसेको भलाई कोष नविकरण भएपछि मजदुरहरुमा खुसी छाएको छ । सरकारले यातायात व्यवसायीका संस्थालाई कम्पनीमा जानका लागि समय दिए अनुसार कानुनी अन्यौलता सृजना भएको थियो ।


तर ढिलै भएपनि यातायात मजदूर तथा व्यवसायी भलाई कोष नवीकरण गरेर राज्यले मजदुरको पक्षमा काम गरेको छ ।
अरु यातायात व्यवसायीका संस्था र भलाई कोष कामको प्रकृतिका हिसावले फरक भएकाले संस्था नवीकरण भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

“यातायात व्यवसायीको सिन्डिकेट अन्त्यका लागि सरकारले त्यस्ता संस्था नवीकरण नगर्ने भनेको हो, तर भलाई कोष सिन्डिकेटका आधारमा चल्ने भन्दा पनि मजदूर वर्गको कल्याण हुने गरी काम गर्ने संस्था भएको र मन्त्रालयले नवीकरण गर्न भनेकाले नवीकरण गरिएको हो”–उनले भने–“मजदूरहरुको संस्था भएकाले यातायात व्यवसायीका संस्थासँग भलाई कोषलाई दाँज्न मिल्दैन ।” यसअघि सरकारले नवीकरण रोक्का गर्ने यातायात व्यवसायीका संस्थामा भलाई कोषलाई पनि सुचीमा राखेको थियो ।

तर भलाई कोष विशुद्ध मजदूर वर्गको हितमा काम गर्ने संस्था भएकाले यसको नवीकरण गर्नुपर्ने भन्दै कोषका पुर्व अध्यक्ष कुमार थापाले अगुवाई गरेका थिए । जिल्ला प्रशासन हुँदै गृहमन्त्रालयमा समेत विभिन्न चरणमा भएका छलफलमा भलाई कोषको कामको प्रकृतिबारे प्रष्ट पारेपछि संस्था नवीकरणमा सहमति जुटेको थापाले बताए ।

कोषका अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषबारे सरकारी निकायमा बुझाउ नसक्दा लामो समयसम्म अन्यौलको अवस्थाबाट गुज्रिनुपरेको भन्दै संस्था नवीकरण भएकाले अव कोषका गतिविधिलाई नियमित रुपमा अगाडि बढाइने बताए । संस्था नवीकरणपछि शुक्रबार बसेको कोषको कार्यसमित बैठकले संस्था नवीकरणमा महत्वपूर्ण भूमिका खेल्ने थापालाई धन्यवाद दिंदै मजदूर वर्गको हितमा थप सक्रिय भइ अगाडि बढ्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार