अंग्रेजी नया बर्षमा लुम्बिनी र भैरहवामा फुड फेस्टीभल तथा सास्कृतिक कार्यक्रम


लुम्बिनीखबर
भैरहवा, पुस ।
अंग्रेजी नया बर्षको अवसर पारेर लुम्बिनीमा फुड फेस्टीभल तथा भैरहवामा सास्कृतिक कार्यक्रम हुने भएको छ । लुम्बिनीमा आयोजित फुड फेस्टीभलको आयोजना सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी शाखाले गदैं छ भने भैरहवामा आयोजित सास्कृतिक कार्यक्रमको व्यवस्थापन होटल पौवाले गर्दैछ ।


‘लुम्बिनी जाआंै, सडकमा खाऔं, सडकमै रमाऔ’ भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागतमा सडक खाना महोत्सव आयोजना गर्न लागिएको हो । सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी शाखाको आयोजनामा तथा लुम्बिनी विकास कोष एवं लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहआयोजनामा डिसेम्बर ३१ अर्थात् पुस १६ गते खाना महोत्सव हुन लागेको आयोजकले शुक्रबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । एशोसिएसनको आयोजनामा हुन लागेको खाना महोत्सव पाँचौं पटक हो ।
महोत्सवमा तारे होटलदेखि सामान्य रेष्टुराँ तथा बिभिन्न जाति एवं समुदायका खानाका परिकार उपलब्ध गराइने आयोजकले जनाएका छन् । महोत्सवमा थाई, इण्डियन, बर्मेली, चाइनिज, जापानी, मुस्लिम, थारु, स्थानीय खानाहरु सेलरोटी, माछा, च्याउ लागायतको स्टल राखिने छ । खासगरी अन्य समयमा नपाइने खानाहरुलाई विशेष प्राथमिकता राखेर खानाको स्टल राखिने आयोजक संस्थाका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । ‘अन्य समयमा पनि पाइने खानाभन्दा अलि फरक र लोपोन्मुख खानालाई विशेष प्राथमिकता दिने उद्देश्य राखेका छौं’, अध्यक्ष श्रेष्ठले भने ।
उनले लोपोन्मुख खानाको स्टल राख्दा ती खानाहरुको प्रवद्र्धन हुने र महोत्सवमा आउने पर्यटकहरुले पनि नयाँस्वाद लिन पाउने हुँदा त्यसतर्फ आफूहरुले विशेष ध्यान दिएको जानकारी दिए । ‘पर्यटन क्षेत्रको विकाससँगै यहाँको खानालाई विश्वजगत्मा चिनाउने हाम्रो प्रयास हो’, उनले भने, ‘यसले पर्यटकहरुलाई आगामी दिनमा बढी आकर्षित गर्छ ।’ खाना महोत्सव लुम्बिनीस्थित महिलवार बजार क्षेत्रलाई आधार मानी आयोजना गरिने छ । बेलुक
५ बजेदेखि मध्यरात १२ बजेसम्म आयोजना हुने खाना महोत्सव अंग्रेजी नयाँ वर्षको स्वागत गरेर समापन गरिने छ ।
होटल एशोसिएसनले यस अघि गरेका ४ वटै सडक खाना महोत्सवमा अत्यधिक दर्शकहरू आएका थिए । महोत्सवमा खानाका विभिन्न परिकारका एक सय स्टलहरु रहने छन् । अहिलेसम्म करिब ५० स्टल दर्ता भइसकेका छन् । महोत्सवमा स्थानीय खानासँगै सांस्कृतिक कार्यक्रम पनि हुने पर्यटन व्यवसायी हेम विष्टले बताए । ‘विगतमा आयोजना भएको महोत्सवले पर्यटन क्षेत्रमा निकै सकारात्मक सन्देश दिएको छ, हामीलाई हौसला मिलेको छ’, उनले भने, ‘यसपटकको महोत्सवले पनि लुम्बिनी क्षेत्रको पर्यटन विकासमा एउटा इँट्टा थप्ने छ ।’
लुम्बिनीमा बर्सेनि आन्तरिक तथा बाह्य गरी १५ लाख बढी पर्यटक आउँछन् । पछिल्लो समय लुम्बिनीमा आध्यत्मिक गतिविधि बढ्दै जाँदा पर्यटक आगमन ह्वात्तै बढ्दै गएको छ । लुम्बिनीमा हुने ठूला कार्यक्रमहरुलाई पानी, जुस निःशुल्क उपलब्ध गराएर तथा खाना र बस्नमा विशेष छुट दिएर पर्यटन व्यवसायीले सहयोग गर्दै आएका छन् । ‘हाम्रो उद्देश्य भनेको पर्यटकलाई राम्रो सेवासुविधा दिएर आकर्षित गर्ने हो’, होटल एशोसिएसनका केन्द्रिय सदस्य गोविन्द ज्ञवालीले भने, ‘महोत्सवमा आएर एकै ठाउँमा धेरै स्वाद लिन पाउँदा अन्य समयमा पनि पर्यटकको आगमन बढ्छ, यो हाम्रो विगतको अनुभवले पनि देखाउँछ ।’
सडक खाना महोत्सवमा स्थानीयसहित भैरहवा, बुटवल, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, काठमाडौं, पोखरा लगायत भारत तथा तेस्रो मुलुकका पर्यटक आउने आयोजकले जनाएका छन् । खाना महोत्सवले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा थप टेपा पुग्ने आयोजकको विश्वास छ । महोत्सवमा खानामा १५ र बास बस्न २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । करिब १० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा लिइएको छ ।
यसैबीच भैरहवामा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्ष सन् २०१९ को पूर्व सन्ध्यामा सांकृतिक कार्यक्रम गर्ने भएको छ । शुभ ओम् कम्पनी प्रा.लि.द्वारा सञ्चालित पौवाले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी सन् २०१८ लाई विदाई गर्दै ०१९ लाई स्वागत गर्न पुस १६ गते अर्थात् डिसेम्बर ३१ मा सांस्कृतिक कार्यक्रम गर्न लागेको अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए । उनले नेपाली कला–संस्कृतिको संरक्षणसंगै व्यवसायिक प्रबद्र्धन गर्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारकोे प्रस्तुती रहने आयोजकले जनाएका छन् । नेपाल आइडलका रनर निशान भट्टराइ, लोकदोहोरी गायिका राधिका हमाल, हास्य कलाकार सुबोध गौतम सहित स्थानीय र छिमेकी मुलुक भारतको गोरखपुरबाट ख्याति प्राप्त डान्सरहरुको प्रस्तुती रहने होटल पौवाका प्रबन्धक विष्णु भण्डारीले बताए । कार्यक्रम बेलुका ६ बजे देखि मध्यरात १२ बजे सम्म सञ्चालन हुनेछ ।
करिब ३ हजार दर्शक आउने अपेक्षा गरिएको कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । यस्तै खानाका परिकारहरुमा समेत विशेष छुटको व्यवस्था गरिएको प्रबन्धक भण्डारीले जनाए ।

स्थापना देखि पौवाले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । पौवाले जुम्ला सदरमुकाम, दाङको लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको सालझण्डीमा शाखा स्थापना गरिसकेको छ । त्यस्तै अब छिट्टै अन्य तीन स्थानमा पनि शाखा विस्तार गर्न लागिएको सञ्चालकले जनाएका छन् । कार्यक्रममा पत्रकार लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाई, नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव कमल रायमाझील लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार