विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगमा सन्दीप ’अनिवार्य’


जितु साउँद
दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए । तर, सन् २०१६ मा बङ्गलादेशमा भएको यु(१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने । यु(१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौ खेलाडी हुन् ।

आयरल्याण्डविरुद्धको त्यो ह्याट्रिकले उनलाई विश्वमाझ चिनायो जसका कारण सन्दीप अहिले विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगमा नभई नहुने खेलाडी जस्तै बनिसकेका छन् । केहि समय अगाडी मात्र नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि सन्दीप नेपाली क्रिकेटको भविष्य भएको बताएका थिए ।
अहिले नेपाली राष्ट्रिय टोलीका लेग ब्रेक स्पिनर सन्दीपलाई राष्ट्रिय नभई अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइजी लिग खेल्न भ्याइनभ्याई छ । भर्खरै मात्र उनी अष्ट्रेलियाको बिग बास लिगका ४ खेल खेलेर बंगलादेश प्रस्थान गरेका छन् । बिग ब्यासमा उनले चार खेलमा ८ विकेट लिँदै सनसनि मच्चाए । जहाँ उनी कप्तान किलर समेत बने । दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले ‘बिग ब्यास खेल्ने सपना देखेको छु’ भन्दै प्रतिक्रिया पदिएका थिए ।
जुन उनको त्यो सपना साकार समेत भयो । हाल उनी बङ्गलादेश प्रिमियर लिगको तयारीमा व्यस्त छन् । यसै महिनाको ५ तारीखबाट सुरु हुने बङ्गलादेश प्रिमियर लिगमा सन्दिपले ६ तारिखमा स्यालहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएनसविरुद्ध खेल्दै डेब्यु गर्ने छन् । गत बर्षको इण्डियन प्रिमियर लिगबाट टि(२० लिगमा डेब्यू गरेको उनले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि(२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि(१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई पेबेलियन पनि फर्काएका छन् । फेब्रुअरीमा पाकिस्तान सुपर लिगमा खेल्नेछन् ।
सत्र वर्षको उमेरमा आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले दिल्ली डेरडेविल्समा डेब्यू गरे । रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्धको पहिलो ओभरमा छ रन दिएका सन्दीपले दोस्रो ओभरमा पार्थिव पटेललाई पवेलियनको बाटो देखाए । दोस्रो खेलमा दुई र तेस्रो खेलमा तीन विकेट लिँदा सन्दीपको सफलता मैदानमा जसरी चुलिँदै गएको थियो, कमेन्ट्री बक्समा पनि उस्तै गरी चुलिँदै थियो । आइपिएलमा ६ विकेट लिएका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका लागि ७ विकेट लिए । त्यसपछि क्यानडामा मोन्ट्रेल टाइगर्सका लागि ८ विकेट लिए । टि(१० लिगमा पनि केरला नाइट्सका लागि ६ विकेट लिए । सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ ।
सन्दीपको क्षमताबाट प्रभावित हुने पहिलो लिजेन्ड माइकल क्लार्क थिए जसले हङ्कङमा सन् २०१६ मा भएको टि(२० ब्लीजमा उनको बलिङ देखेका थिए । त्यसपछि क्लार्कले लामिछानेलाई अष्ट्रेलियामा ग्रेड क्रिकेट खेल्न र प्रशिक्षण गर्न समेत बोलाए । यस क्रममा उनले रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, सुनिल नराइन, क्रिस गेल जस्ता उच्चकोटिका खेलाडीसँग ड्रेसिङ रुममा बिताउन पाए । यससँगै उनले डेविड वार्नर, क्रिस लिन र केइरन पोलार्ड जस्ता विश्वस्तरीय ब्याट्सम्यानहरूको विकेट पनि लिइसकेका छन् ।
स्याङ्जाको आरुचौर जन्मेका उनी सानैमा भारतीय रेल्वे सेवामा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँगै भारत पुगेका थिए । भारतमा चार कक्षासम्म पढेर उनी नेपाल फर्केका थिए । सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणका लागि पुग्दा सन्दीपको बलिङबाट एकै नजरमा प्रभावित भएका थिए । त्यसपछि आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत युएईसँगको खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिइएको थियो । सुपर लिगअन्तर्गत एक खेलमा सन्दीपले ४ विकेट लिएका थिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार