विद्यार्थीहरुमा भलिबल क्रेज


नरेश के.सी
भैरहवा, माघ । भलिबल खेल पहाडी क्षेत्रमा लोकप्रिय खेलको रुपमा स्थापित छ । पहाडी क्षेत्रका विद्यालयहरु, क्याम्पस र हरेक खाली चौरमा खेलिने भलिबल पछिल्लो समय तराईका समथर भुभागमा पनि आकर्षण बढ्दै गएको छ ।

क्रिकेट, फुटबल जस्ता तराई क्षेत्रका लोकप्रिय खेलसंगसंगै पश्चिम तराईको केन्द्र भैरहवामा भलिबलको क्रेज पनि बढ्दै गएको देखिएको छ । यसरी भलिबलमा क्रेज बढाउने काम चाहिं सामूहिक विद्यालय परिवारले गरेको हो । २०५९ सालमा संस्थागत विद्यालयहरुको हकहितकोलागि स्थापना भएको सामूहिक विद्यालय परिवारले विद्यार्थीहरुमा पठनपाठनको अतिरिक्त खेलकुदमा दक्षता अभिवृद्धि गर्ने ध्येयले विभिन्न खेलकुद कार्यक्रम गर्ने प्रचलन शुरु भएसंगै उक्त परिवारमा आवद्ध विद्यालयहरुले नियमित रुपमा भलिबलको प्रशिक्षण चलाउँदै आएका छन् ।
सामूहिक विद्यालय परिवारका पूर्व अध्यक्ष गम्भिर गुरुङका अनुसार विद्यार्थीको काम पढ्ने मात्रै नभएर खेल मार्फत स्वस्थ रहने पनि भएकोले हरेक विद्यालयले खेल शिक्षक राखेर खेलकुद प्रशिक्षणलाई प्राथमिकता दिएसंगै विद्यार्थीहरु खेलप्रति अग्रसर भएको बताए ।
सोही अनुसार हरेक वर्ष सामूहिक विद्यालय परिवारले विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने क्रममा मंगलबार र बुधबार भैरहवाको नालन्दा स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न भएकोछ । भलिबल प्रतियोगितामा छात्र र छात्राहरु उत्तिकै उत्साहबद्र्धक रुपमा सहभागी भएका थिए । विद्यार्थीहरुलाई हौसला दिन खेल मैदानमा पुगेकी रुपन्देही खेलकुद विकास समिती सदस्य उमा अधिकारीले भनिन्, ‘व्यवस्थित र योजनाबद्ध ढंगले प्रशिक्षण चलाउने हो भने यिनै विद्यार्थी केही वर्षमै राष्ट्रिय स्तरका खेलाडी बन्न सक्छन् । ’

संस्थागत विद्यालयहरु विद्यार्थीहरुको सर्वागिंण विकासकोलागि पठनपाठनको संगसंगै खेलकुदलाई पनि अगाडी बढाईरहेको प्याब्सन नेपालका केन्द्रिय सदस्य विष्णु पन्थिले बताए ।

भलिबल कपको उपाधी आदर्श र युनिक होम्सलाई

बुधबार सम्पन्न भलिबल प्रतियोगितामा न्यू मुन एकेडेमीलाई हराउँदै आदर्श विद्या मन्दिरले छात्रा तर्फको सामूहिक विद्यालय परिवार भलिबल कपको उपाधी हात पारेको छ । उक्त खेलमा उपविजेता न्यू मुन एकेडेमी भएको छ । यसैगरी फ्युचर लाईटले युनिभर्सल स्कुललाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेको छ । छात्रा तर्फको प्रतियोगितामा आदर्श विद्या मन्दिर, साई ग्लोबल, सनलाइट, लर्ड बुद्ध, मिर्नवा, युनिभर्सल, सिबी पब्लिक, फ्युचर लाइट, युनिक होम, बुद्ध ज्ञान निकेतन , न्यू मुन र लुम्बिनी शिक्षा निकेतनको टिम सहभागी थिए ।

यसैगरी छात्र तर्फको उपाधी युनिक होम्सले हासील गरेको छ । युनिक होम्सले फ्युचरलाईटलाई बेस्ट अफ फाईभमा ३ , २ ले हराउदैं उक्त उपाधी हात पारेको हो । उक्त खेलमा उपविजेता फ्युरचर लाइट भएको छ । यसैगरी तृतिय स्थानकोलागी बुद्ध ज्ञान निकेतन र स्पांगल स्कुल बीच भएको प्रतिसपर्धा हुनुपर्नेमा बुद्ध ज्ञान निकेतनले वाक ओभर दिएपछि स्पांगल स्वतः तृतिय बन्ने भाग्यमानी टिम भएको छ । यस बर्षको भलिबल प्रतियोगितामा छात्र तर्फ फ्युचर लाईट, नेपाल नालन्दा, सिबी पब्लिक, बुद्ध ज्ञान निकेतन, न्यू मुन, मिर्नवा, युनिक होम, आदर्श विद्या मन्दिर, लर्ड बुद्ध, एभर ग्रीन, सनलाइट, स्पांगल, साईग्लोबल र लुम्बिनी शिक्षा निकेतन विद्यालयका टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक भरत गिरीले बताए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार