भैरहवाले ईतिहांस दोहराउदैंः प्लस टू मा कानून


लुम्बिनीखबर
भैरहवा,  साउन । २०४८ सालमा तत्कालिन श्री ५ इन्द्रराज्य लक्ष्मी माध्यामिक विद्यालय, नारयणस्थान भैरहवाको प्रांगणमा रुपन्देही ल क्याम्पस सञ्चालन हुदा विद्यार्थिको चाप अत्याधिक थियो । पहिलो ब्याचमा नै ८० जना विद्यार्थि थिए ।

पछि सरकारले प्रविणता प्रमाणपत्र तह फेजआउट गर्ने गृह कार्य शुरु गर्यो । जसको पहिलो शिकार ०५४ सालमा आइएल भयो । देशैभर आईएल कार्यक्रम हटाईएपछि रुपन्देही ल क्याम्पसमा पनि पठनपाठन बन्द भयो । जबकी आईए, आइकम लगायतका अन्य कार्यक्रम ०६५ साल पछि मात्रै फेजआउट भए । ०५४ सालयता कानून पढ्न चाहने विद्यार्थिहरु काठमाण्डौं धाउन परिरहेको थियो । केही बर्ष यता कालिका मानबज्ञान बुटवलले शुरु गरेको भएता पनि भैरहवामा शुरु हुन सकेको थिएन । तर यो शैक्षिक सत्रदेखि सामुदायीक विद्यालय तर्फ भानु माध्यामिक विद्यालयले कक्षा ११ र १२ मा कानून विषयको अध्यापन गर्नेगरी भर्ना शुरु गरिसकेको छ । यसैगरी संस्थागत विद्यालय तर्फ न्यू ईरा आवसीय विद्यालयले पनि कानून विषय पढाउने तयारी थालेको छ । कानूनमा कक्षा ११ र १२ पास गरेपछि बेरोजगार बस्न नपर्ने विषय भएकोले एसइइ दिएका विद्यार्थिको पहिलो रोजाईमा कानून विषय पर्ने देखिएको छ । ०५४ सालतिर देशैभर कानुनको आइएल फेजआउट गरेता पनि कानून विषयको बजार अत्याधिक रहेको रुपन्देही ल क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा.डा कपिलदेव लामिछानेले बताए । उनले भने , ‘सरकारले त्यतिबेला हटाएर गल्ती गरेको थियो । किनकी कानूनको अनविज्ञता क्षम्य हुदैंन भनिन्छ त्यसैले यसको महत्व अत्यन्तै छ । ’
प्रा.डा लामिछानेका अनुसार रुपन्देही जिल्लामा मात्रै कानूनको जनशक्ति ७ सय भन्दा बढी आवश्यक रहेको एक तथ्यांकले देखाएको बताए । उनले भने, ‘कानून पृष्ठभूमि भएका जनशक्ति अत्याधिक आवश्यक छ तर मान्छे नै पाउन ग्राहो छ । ’
आईएल कार्यक्रम फेजआउट भएपछि कुनैपनि विषयमा स्नातक गरेपछि एलएलबी पढ्ने प्रणाली शुरु भएको थियो । यसको मुख्य कारण न्याय क्षेत्रकै अगुवाको घमण्डताले भएको जानकार बताउंछन् । उनीहरु भन्छन, ‘भर्खरै आइएल गरेको मान्छे अभिकर्ता भएर बर्षौ न्याय सम्पादन गरेका न्यायधीसको अगाडी पुगेर बहस गर्दा न्यायधीसहरुलाई अफ्ठ्यारो लाग्ने गरेको हुदां ०५४ सालमा सरकारलाई दबाब दिएर उक्त कार्यक्रम हटाइएको हो । ’ वकिल बन्ने मान्ेछे परिपक्क होस् भन्ने चाहेकोले स्नातक पछि पुनः एलएलबी पढ्ने व्यवस्था गरिएको हो ।
०५४ सालपछि भैरहवामा पहिलोपटक पठन पाठन शुरु गर्ने उद्धेश्यले निश्चीत सिटसंख्या सहित भानु माविले भर्ना खोलेको प्राचर्य मोति सुवेदीले बताए । उनले भने , ‘हामीले कक्षा ११ मा कानूनको भर्ना खोलेका छौं । सर्वसुलभ मूल्यमा कानूनको उचीत शिक्षा दिने उद्धेश्यले दिवाकालिन समयमा पठनपाठन हुनेगरी भर्ना खोलिएको छ । साउनको पहिलो हप्तादेखि पठनपाठन शुरु हुन्छ । ’
कानून विषयको महत्व
विकसित देशहरुमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा भन्दा कानून विषय सबैभन्दा आकर्षणको विषय मानिन्छ । तर हाम्रो जस्तो अल्पविकसीत देशमा राम्रो जिपीए ल्याएको विद्यार्थिले विज्ञान पढ्र्नै पर्ने सामाजिक र पारिवारिक दबाब छ । एसइइमा उत्कृष्ट रिजल्ट ल्याउनेहरु डाक्टर, इन्जिनियर बन्ने भन्दै विज्ञान पढ्न महंगो कलेजमा दौडधुप गरिरहेका हुन्छन् । तर संसारको उत्कृष्ट विषयहरु मध्ये एक कानून पढाउने विषयमा कोही पनि अविभावक अग्रसर भएको देखिदैंन ।
रुपन्देही ल क्याम्पसको संस्थापक विद्यार्थि अधिवक्ता दीलिप मल्लीकले अन्य विषय शैक्षिक बेरोजगारीको संख्या बढाउने विषयको रुपमा स्थापीत भईरहेको बेला स्वरोजगार र अवसरकोलागी कानून विषय मह्त्वपुर्ण भएको बताए । उनले भने, ‘कानून पढेपछि एकातिर न्याय सेवामा अवसर हुन्छ भने अर्कोतिर लोकसेवा आयोग मार्फत अन्य क्षेत्रमा पनि प्रतिसपर्धा गर्न पाइन्छ । यसैगरी स्वरोजगार हुन चाहनेहरुलाई यो सबैभन्दा उत्तम विषय हो । ’
देशमा कानूनी राज्यको उपहांस भईरहेको बेला कानून विषयको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । ‘कानूनि अनविज्ञता क्षम्य हुदैंन’ भन्ने सर्वमान्य सिद्धान्त अनुसार यो विषयका विद्यार्थि समाजप्रति बढी उत्तरदायी र जवाफदेही हुने पनि देखिन्छ । राष्ट्रिय शिक्षा बोर्डले पाठ्यक्रम नै बनाएर कक्षा ११ र १२ मा कानून अध्यापनलागी भर्ना खोल्नु राम्रो विषय भएको जिल्ला अदालत बार एशोसियसन रुपन्देहीका पुर्व अध्यक्ष जगत बहादुर रायमाझीले बताए । उनले भने , ‘यो कार्यक्रम आफैमा राम्रो हो तर १२ पास गरेपछि सिधैं ३ बर्षे विएल गर्न पाउने की नपाउने भन्ने विषयमा अन्यौलता छ । यो पनि स्पष्ट हुनुपर्दछ । ’
विषय छनौट
एसईईको परीक्षाफल प्रकाशित भएसंगै विद्यार्थिहरुमा कुन विषय पढने भनेर अन्यौलता सृजना भईरहेको छ । उत्कृष्ट जिपीए ल्याउनेहरु देशैभरबाट काठमाण्डौं तर्फ हानिएका छन् । काठमाण्डौंका कलेज र होस्टलहरुमा यतिबेला विद्यार्थि र अविभावकको भीडभाड नै छ । काठमाण्डौं गएर पढ्दा पढाई अब्बल हुने भ्रममा पर्दा त्यस्तो भएको हो । अर्कोतिर केही विद्यार्थिहरु विज्ञान विषय बाहेक अरुमा भविष्य नै देख्दैनन् । जबकी समाजशास्त्र, राजनीतिशास्त्र र कानून संसारकै अब्बल विषय मानिन्नछन् ।
भैरहवाको चर्चा गर्दा केही विद्यार्थीहरु जिल्ला छाडेर काठमाडौंतर्फ हानिएका छन् भने केही बुटवलतर्फ त केही विद्यार्थीहरु भैरहवा क्षेत्रकै उच्च माविमा फारम भरिरहेका छन् । तर अचम्म, भैरहवा क्षेत्रका विद्यार्थीहरु बुटवलतर्फ आकषर््ाित भईरहँदा बुटवलक्षेत्रका एकाध विद्यार्थी पनि भैरहवाका उच्च माविमा पढ्ने गरी फारम भरेको देखिँदैन । अहिले विद्यार्थीहरुमा अन्योलता छ ,अब के पढ्ने भनेर । उनीहरुलाई अभिभावक, शैक्षिक परामर्श केन्द्र तथा विद्यालयहरुले जति सल्लाह दिइरहेका छन् त्यो भन्दा बढी प्रचारले प्रभाव पारेको छ ।
कहां कुन विषय
प्लस टू तर्फ भैरहवामा शैक्षिक गुणस्तरमा एक नम्बर भएको भन्दै क्युएए अवार्ड प्राप्त गरेको रुपन्देही क्याम्पस छ । विज्ञान विषयमा उत्कृष्टता हासिल गर्दै आएको भैरहवा नमूना उच्च मावि, साइग्लोबल छन् । सनसाइन, बुद्धज्योति , न्यू ईरा, काशी नोबल, बृहस्पति, मूनलाईट, नेपाल नालन्दा , लिलाराम उच्च मावि र बहिरा बाल मावि छन् । यसैगरी प्राविधीक तर्फ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानमा आखांको पढाई हुन्छ भने प्रतिमान नीमा प्रतिष्ठानमा ल्याब, रेडीयोलोजीको पढाई हुन्छ । यी क्याम्पसमा विषयगत विज्ञहरुले पढाउँछन् ।
प्रयाप्त भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर पनि छ तर विद्यार्थीहरुको रोजाईमा बुटवल तर्फकै क्याम्पस बढी पर्ने गरको देखिन्छ । यस्तो हुनुमा कलेजको पनि दोष भएको फ्युचर लाईट बोर्डिङ्ग स्कूलका प्रिन्सिपल गम्भिर गुरुङ्ग बताउँछन् । उनले भने ‘पहिलो कुरा त भैरहवा क्षेत्रका उच्च माविहरुले आफ्नो कलेजमा कुन कुन विषय पढाई हुन्छ, फि कति छ, पहिले कस्तो रिजल्ट आएको थियो , भौतिक संरचना कस्तो छ ?भनेर हरेक विद्यार्थी, शिक्षक तथा अभिभावकलाई जानकारी गराउनै सकेका छैनन् । ’
प्रिन्सिपल गुरुङ्गले थप जोड दिँदै भने ‘अहिलको जमाना भनेको प्रचारको जमाना हो । बुटवल तिरका उच्च माविको हेर्नुस् त होर्डिङ बोर्ड ठाउँठाउँमा छन्, पत्रपत्रिका भरीभराउ छन्, रेडियो टिभि खोल्यो कि उनीहरुकै प्रचार छ । सोसल मिडियाभरी त्यस्तै छ, अनि अहिलेका बालबालिका त्यस्तै प्रति आकर्षित हुन्छन् । ’
इतिहास
विक्रम् सम्बत २००७ सालमा बसन्तपुर पञ्चायतका प्रधान हरिकृष्ण दुबेको अगुवाईमा खुलेको जिल्लाको पहिलो सामुदायिक विद्यालय दशरत जनता निमावि अहिलेसम्म मावि बन्न सकेको छैन । त्यहिताका बुटवलमा बुटवल हाईस्कूल पनि सञ्चालनमा आएको हो ।
विक्रम सम्बत २०३५ सालमा सिद्धार्थनगरपालिका वडा नम्बर ३ खजहनामा यमबहादुर रसाईलीले लुम्बिनी शिसु सदन स्थापना गर्दा जिल्लामा अन्य बोर्डिङ्ग स्कुल थिएनन् । तर अहिले उक्त विद्यालय बन्द भएको अवस्थामा छ ।
०४८ सालमा कानून विषयको पठनपाठन हुनेगरी स्थापना भएको रुपन्देही क्याम्पसमा अहिले उक्त विषय छैन । उक्त क्याम्पसले भर्खरै विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) अवार्ड प्राप्त गरेको छ ।
२०३८ सालताका सनसाइन र बुद्धज्योति स्कूल खुल्दा त्यतिबेला जिल्लामा शैक्षिक तरङ्ग नै सृजना भयो । ०५४ सालमा उच्च मावि बनेको बुद्धज्योतिमा शुरुताका विद्यार्थीको भिडभाड थेगिनसक्नु थियो । यतिबेला उच्चमावि तहमा जम्मा १७ जना विद्यार्थी छन् । एक दशकभन्दा बढी समय चलेको आइएससी अहिले बन्द भएको छ । सोही सालताका उच्च मावि सञ्चालन गरेको बृहस्पति कलेजमा शुरुताका विद्यार्थी संख्या अधिक हुँदा सेक्सन नै सञ्चालन भए । अहिले उक्त क्याम्पसमा एक सयको हाराहारीमा विद्यार्थी छन् । सो कलेजमा पनि ३ वर्षसम्म आइएस्सी सञ्चालन भई बन्द हुन पुग्यो । सनशाईन कलेजमा पनि साइन्स केही वर्ष सञ्चालन भएर बन्द भयो । ०५३ सालमा उच्च मावि सञ्चालन गरेको भैरहवा उच्च माविमा पनि पहिले जस्तो विद्यार्थीको क्रेज छैन । यद्यपि विज्ञानतर्फ उक्त कलेजको नतिजा राम्रो छ । ३ दशक अगाडिसम्म जिल्लाको उत्तरी क्षेत्रका विद्यार्थीको समेत पठनपाठनको रोजाईको केन्द्र बनेको भैरहवाका विभिन्न उच्च मावि तहमा पछिल्लो समय विद्यार्थीको संख्या न्यून छ ।
२०२५ सालमा भैरहवामा सिद्धार्थ कलेज र बुटवलमा लुम्बिनी कलेज खोलियो । सिद्धार्थमा त्यतिबेला हर्ष बहादुर बुढा र लम्बिनीमा माधव ओम श्रेष्ठ प्रिन्सिपल थिए । त्यतिबेला नै साइन्स शुरु गरिएको थियो । पछि सिद्धार्थ भैरहवा क्याम्पस र लुम्बिनी बुटवल क्याम्पसमा परिणत भए ।
यसरी इतिहास बोकेको भैरहवा क्षेत्रका शैक्षिक संस्थामा तुलानात्मक हिसाबले अन्यत्र भन्दा विद्यार्थीको संख्या कम हुनुमा भूगोलको प्रभाव, गुणस्तरीयता र भैरहवाका अभिभावकमा स्थानीयताको कमी भएको शिक्षाविद् बालकृष्ण भट्टराई बताउँछन् ।
यहाँका दर्जनौ संस्थागत र सामुदायिक विद्यालयबाट माध्यामिक तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरु ओइरो नै लागेर भैरहवा बाहिर पढ्न जाने गरेका छन् ।
कमजोरी
केही वर्ष अगाडि भैरहवाकै मन्टेश्वरी हाईस्कुलका विद्यार्थी अनुराग पाण्डे नेपालको बोर्ड प्रथम भए । तत्कालिन समयमा टिनको छानाभित्र पढाई हुने उक्त विद्यालयका विद्यार्थीले नेपाल टप गर्दा धेरै आश्चर्यमा परे । विद्यालयका प्राचार्य भरतेन्द्र पाल सहितको टिमको मेहनतले सो परीक्षाफल निकाल्न सफल भयो । नेपाल टप विद्यालय भएता पनि त्यसपछिका वर्षमा उक्त विद्यालयमा विद्यार्थीको आकर्षण खासै भएन । नत अन्यत्र झैँ उक्त विद्यालयले ठूला ठूला होर्डिङ्ग बोर्ड र ब्यानर बनाएर प्रचार गर्यो, नत मिडियाबाजी गर्यो । जसको कारण प्रयाप्त रुपमा सबैलाई नेपाल टपेको जानकारी भएन । तर सोही प्रकृतिको रिजल्ट निकाल्ने अधिकांश विद्यालयले व्यापाक प्रचार प्रसार गर्ने र क्याम्पिङ गर्ने गर्दछन् । जसले धेरै भन्दा धेरै विद्यार्थीलाई तान्ने गर्दछ ।
समस्या
भैरहवा क्षेत्रमा खुलेका शैक्षिक परामर्श दाताहरुले आफ्नो उद्धेश्य विपरीत ब्रिज कोर्श पढाउने नाममा भैरहवा बाहिरका उच्च माविहरुबाट निश्चित कमिशन रकम लिएर विद्यार्थीलाई अन्यत्र पठाउने गरेका छन् । साविकको उच्च मावि तह ११ र १२ राम्रोसंग सञ्चालन गरेका कतिपय विद्यालयहरु अहिले कमजोर हुनुको मुख्य कारण आन्तरिक र बाह्य चूनौतीलाई थेग्न नसकेर भएको काशी नोबलका सहायक प्राचार्य श्रीबहादुर रायमाझीको तर्क छ । भूगोल विद् उमेश चन्द्र रिजालका अनुसार भैरहवालाई भूगोलले पनि ठगेको बताउँछन् । उनी भन्छन् ‘शिक्षामा मात्रै होइन सबै क्षेत्रमा भैरहवा ठगिएको छ । जसको कारण इतिहासको कालखण्डमा उर्बर बनेको भैरहवाको भूमि अहिले आएर जर्जर बन्दै गएको छ । ’ उनका अनुसार अवस्थितिको महत्वले बुटवललाई सहयोग गरेको हो ।
बृहस्पति माविका निर्देशक सहप्राध्यापक कुलप्रसाद खनाल भैरहवामा विद्यार्थी नटिक्नुको मुख्य कारण विश्वासको कमी भएको बताउँछन् । उनी भन्छन् ‘म यहाँका हरेक विद्यालयमा पुगेको छु । आफ्ना राम्रा विद्यार्थीलाई हाम्रा उच्च मावि कलेजमा पठाउनुस् भनेको छु तर यहाँका विद्यालय सञ्चालकहरु पढे आफ्नोमा पढाउने नभए बुटवल जाऊ भनेर सल्लाह दिने गर्दछन् । ’ उनी भन्छन् ‘हामी तामझाम गर्दैनौ , पढाईमा मात्रै ध्यान दिन्छौं । धेरैले देखावटी तामझाम गर्छन् , विद्यार्थी अविभावक त्यसैको पछि लाग्छन् । ’

विज्ञको अनुभव र सुझाव
शिक्षाविद् बालकृष्ण भट्टराईको अनुभवमा २०२० देखि ३० को दशकसम्म भैरहवामा मण्डलेहरुको गुण्डागर्दी थियो । जसको कारण राम्रा र योग्य शिक्षक भैरहवा आउनै चाहेनन् । भैरहवा क्याम्पसका पुर्व क्याम्पस प्रमुख समेत रहेका उनी भन्छन् ‘२०४१ सालताका राजनीतिशास्त्रको शिक्षक खोज्न काठमाडौं जाँदा कोही पनि आउन मानेन् । पछि हरेकृष्ण शाह सर आउनु भयो । उहाँले पनि त्यतिबेला भन्नुभएको थियो भैरहवामा अलि बढी गुण्डागर्दी छरे बाहिरका मान्छेलाई बस्नै , कामै गर्न दिन्नन् रे । ’
उनी भन्छन् ,समयसंगै सबै व्यवस्था पनि फेरिएको छ । घरघरमा कलेजहरु खुलेका छन् तथापि गुणस्तरीयता कायम गर्न सकेका छैनन् । एसईईको परीक्षामा उत्र्तीण भएका विद्यार्थीले विशेषगरी रुची र क्षमतालाई ध्यान दिनुपर्ने भट्टराईको सुझाव छ । भट्टराई भन्छन् ‘अभिभावकले पैसा भएपछि डाक्टर इन्जिनियर बनाउने होडमा जबरजस्ती साइन्स पढाउने गर्छन् । त्यसो गर्नु हँुदैन । विद्यार्थीको क्षमतालाई ध्यान दिएर पढ्न दिनुपर्दछ । अर्कोतर्फ यो उमेर निर्णय गर्न नसक्ने कमजोर उमेर अवस्था हो । यस्तो बेलामा साथीको लहडमा लागेर विषय रोज्नु पनि हुँदैन । ’
साइन्स र म्याथमा राम्रो भएकाले मात्रै साइन्स पढ्नु पर्दछ । होइन भने रुचीको विषय पढ्नु राम्रो हुन्छ । कलेज छान्दा उसको पुर्व रिजल्ट र भौतिक पुर्वाधारलाई पनि ध्यान दिनु जरुरी नै छ । तथापि घर भन्दा टाढाको कलेजलाई प्राथमिकता दिनुहुन्न । विद्यार्थी अविभावकहरु झुक्किइरहेका छन् । भर्खरै एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुले सकेसम्म घरनजिकको उच्च माविमा पढ्दा राम्रो हुन्छ । सम्भव भएमा आफूले एसईई परीक्षा उत्तीणर््ा गरेको स्कुलमै प्लस टू पढ्नु राम्रो हुन्छ यदि इच्छाएको विषय छैन भने अन्य नजिकको उच्च माविमा अध्ययन गर्दा धेरै कुराको फाइदा हुने सामूहिक विद्यालयका पुर्व अध्यक्ष तथा युनिभर्सल स्कूलका प्रबन्ध निर्देशक गोकुल पोखरेलको सुझाव छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार