होटलमा बास, मृत्युको काख


लुम्बिनीखबर

भैरहवा, साउन । झट्ट नाम सुन्दा गोर्खा प्रिन्स बिर गोरखालीहरुको राजकुमार भन्ने सुनिन्छ ।भारतीय र अंग्रेजहरु गोर्खा भन्दा वित्तिकै विश्वास र संरक्षणको प्रतीक भनेर चिन्दछन् । तर यतिका गविलो इतिहास बोकेको गोर्खाको नामबाट सञ्चालित भैरहवाको गोर्खा प्रिन्स अतिथीहरुकोलागि असुरक्षीत स्थल हुदैं गएको छ । भारत जाने र आउने स्वदेशी तथा विदेशी ग्राहकलाई लक्षित गरेर सञ्चालनमा रहेको गोर्खा प्रिन्स होटलमा बस्नेहरु दिनानुदिन असुरक्षीत भएका घटनाले भैरहवा बसपार्क क्षेत्रका सबै किसिमका होटलमा बास बस्न चाहनेहरु यतिबेला डराईरहेका छन् । सिद्धार्थनगरपालिका वडा नं ३ , सिद्धार्थ बसपार्क भैरहवा नजिकै रहेको उक्त होटलमा व्यवस्थापन पक्षले गर्ने चरम लापरबहिको कारण अपराधिक समूहले सहजै चलखेल गर्ने मौका पाएका छन् । होटलमा कोठा लिएर बसेका ग्राहकको मृत्यु हुदा समेत होटल सञ्चालक बेखबर भएको भन्दा सबैलाई अचम्म लाग्ला तर उक्त होटलमा यस्तै घटना दोहरीएका छन् । घटना एक पटक मात्रै होइन दुईदुई पटक भएको छ ।
घटना नं १ः २०७३ साल कार्तिक १७ गते भारतको महाराजन्ज जिल्ला मुडली ग्रामकी ३२ बर्षिय प्रीती मिश्रा उक्त होटलको १११ नम्बर कोठामा बसीन् । कोठा लिएर बसेको केही घन्टा नबित्दै उनको मृत्यु भएको खबर आयो । प्रहरीले अनुसन्धान गर्दै जादा मिश्राको उनीसंगै कोठामा बसेका साथीले हत्या गरेको प्रमाणीत भयो । तर मिश्रा संग कोठामा को बसेको थियो , कतिबेला हत्या गरेर अपराधी भाग्यो भनेर यकिन भएन । होटलले नत मिश्राको इन्ट्री गरेको भेटियो नत कोठामा बस्ने ग्राहकको कुनै परिचयपत्र नै । उक्त घटनाको अभियुक्त पक्राउ गर्न रुपन्देही प्रहरीले त्यतिबेला भारतमै गएर अनुसन्धान गरेको थियो । अथक प्रयासका बाबजुद भारतीय नागरिक विवेकप्रताप सिंहले उक्त हत्या गरेको खुलेको भएता पनि अपराधी अहिले सम्म पक्राउ परेको छैन ।
घटना नं २ः २०७६ असार २३ गते उक्त होटलको कोठा नं १२० मा काठमाण्डौंका राम लामा भनिने सन्जय लामा बसे । एक्कासी २६ गते कोठामा केही गन्हाएको थाहा पाएपछि होटल सञ्चाकले प्रहरी र स्थानीयहरुलाई खबर गरे । प्रहरीको रोहबरमा बाहिरबाट चाबी लगाएको उक्त कोठा खोली हेर्दा भित्र एकजना व्यक्ति मृत भेटिए । उनको शब गन्हाएर चारैतिर दुर्घन्ध फैलिरहेको थियो । प्रहरीका अनुसार दुईवटा खाटको बीचमा सेतो तन्नाले छोपेको अवस्थामा उक्त शब भेटियो । राम लामाको नाममा बुक भएको उक्त कोठामा मरेको मान्छे को हो भनी यकिन गर्ने होटलसंग कुनै आधार छैन । प्रहरीले अनुसन्धान गर्दै जादा कोठा बुक मौखिक रुपमा भएको देखिन्छ । राम लामाको नाममा बुक भएको भएता पनि कुनै परिचय खुल्ने प्रमाण छैन । अर्कोतिर कोठामा मृतक अवस्थामा भेटिएका व्यक्ति रामलामासंगै कतिबेला कोठामा आए भन्ने प्रमाण तथा आधार पनि होटलले राखेको छैन । कोठामा मृत भेटिएको व्यक्तिलाई सेतो कपडाले ढाकेर अर्को व्यक्ति सहजै होटल छाडेर भागेको अवस्था छ । पछि अनुसन्धान गर्दै जादा प्रहरीले मृतक काठमाण्डौं शंखरापुर नगरपालिका वडा नं २ पटापको २४ बर्षिय विजय लामा रहेको खुल्न आएको छ । प्रहरीले गहिरो अध्ययन पश्चात बर्ष २९ का राम लामा भन्ने सन्जय लामालाई काठमाण्डौंबाट पक्राउ गरी ल्याएको छ ।
यी घटनाले के देखाउछ भने गोर्खा प्रिन्समा बस्ने ग्राहकहरु अत्यन्तै असुरक्षित देखिएका छन् । कोठा भाडामा लिएर बस्नेहरुको अपराधीले कतिबेला हत्या गरेर कति बेला भाग्छन् त्यो न होटल सञ्चालकलाई थाहा हुन्छ नत तत्काल प्रहरीलाई नै । किनकी होटलले कोठा लिएर बस्नेहरुसंग कुनै परिचय खुल्ने प्रमाण नै राख्दैन । जबकी कोठामा बस्नेहरुको कहां देखि आएको, कहां जाने, होटलमा बस्ने कति जना हो , को को हो, नाता सम्बन्ध के हो जस्ता पुरा विवरण सहितका नामथर ठेगाना, सम्पर्क नम्बर सहितको परिचयपत्रको प्रतिलिपी राखेर मात्रै कोठा दिने कानूनि प्रावधान छ । तर गोर्खा प्रिन्स होटलले ०७३ सालमा प्रीती मिश्राको हत्या हुँदा सम्म जुन किसिमले होचुवाको भरमा कोठा भाडा दिने गर्दथ्यो अहिले पनि उस्तै प्रकृतिले दिने गरेको छ ।
पैसा दिएपछि चोर डाका, ज्यानमारा, लागु औषध प्रयोग कर्ता जस्तोसुकै प्रवृतिका मान्छेहरु पनि उक्त होटलमा सहजै बस्न पाउने देखिएको छ । होटलमा न कुनै सोधखोज हुन्छ नत कुनै परिचय खुल्ने कागज राखेर , होटलको लग बुकमा इन्ट्री गर्ने प्रचलन नै छ । जुन सुकै व्यक्ति पनि जतिबेला पनि सहजै उक्त होटलमा बसेर अपराध गर्न सक्ने देखिएको छ । बस पार्क र नेपाल भारत सीमा नजिक रहेको उक्त होटलमा लापरबाहिपूर्ण कार्य हुँदा प्रहरीलाई केही अपराध भइहालेमा पनि अनुसन्धान गर्न अत्यन्तै कठिनाइ भएको छ ।
प्रहरीले ३ बर्ष अगाडी मिश्राको हत्या पश्चात होटल सञ्चालक रमेश शर्मालाई अब उप्रान्त परिचय खुल्ने कागज नराखी होटलमा कसैलाई कोठा नदिने, सिसिटिभी राख्ने र प्रचलित कानून अनुसार होटल व्यवसायीले मान्नुपर्ने नियम मान्नेगरी लिखीत कागज नै गराएर सचेत गराएको थियो । तर ३ बर्ष पछि विजय लामा मृत भेटिदा सम्म होटलको व्यवस्थापनमा कुनै सुधार नभएको मिश्राको हत्या अनुसन्धानमा खटिएका डिएसपी धर्म भण्डारीले बताए । हाल रुपन्देही प्रहरी प्रवक्ता रहेका डिएसपी भण्डारी मिश्राको हत्या हुदा रुपन्देहीमा प्रहरी निरीक्षकको रुपमा कार्यरत थिए । उनले लुम्बिनीखबरसँग भने, होटलमा कोठा लिएर बस्नेसंग परिचय खुल्ने कागजपत्र राखेर मात्रै कोठा दिनुपर्ने सामन्य नियमलाई समेत उक्त होटलले पालना गरेको छैन । ०७३ सालमा प्रिती मिश्राको हत्या हुदा पनि ग्राहकको कुनै परिचयपत्र राखिएको थिएन अहिले पनि त्यस्तै गरिएको छ । यो चरम लापरबाही हो । ’
पुर्व पश्चिमका यात्रुबाहक बसको मुख्य केन्द्र बसपार्क क्षेत्रमा रहेको उक्त होटलदेखि भारतीय सीमा सुनौली जम्मा साढे दुई किलोमिटर टाढा छ । सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील क्षेत्रमा रहेको उक्त होटलले कानूनको पूर्णतया उल्घंन गर्दा अपराधगर्नेहरु सहजै उम्कन सफल भएका छन् । सो होटलले नेपाल सरकारको कानून , स्थानीय कानून नियमक निकाय प्रहरी प्रशासन र स्थानीय सरकारले दिएको निर्देशनलाई समेत ठाडै अस्वीकार गरिरहेको छ । असार २६ गते विजयको १२० नम्बर कोठामा मृृत्यु भएपछि प्रहरी, स्थानीय प्रशासन र स्थानीय सरकार प्रतिनिधीले पुनः चेतावनि दिँदै होटल सञ्चालकलाई परिचय पत्र विना कुनै पनि ग्राहकलाइ कोठा नदिन आदेश दिएका थिए । तर होटल व्यवस्थापनले उक्त आदेशलाई टेर पुच्छर नै लगाएन ।
यहि साउन ८ गते फेरी उक्त होटलमा अर्को घटना घट्यो । काठमाण्डौं कोटेश्वरका मनिष भण्डारीलाई कसैले अपहरण गरेको भन्दै उनका आफन्तले अपराध महाशाखामा उजुरी दिए । अपराध महाशाखाले देशैभर मनिषको तस्वीर सहित खोजतलासी शुरु गर्र्यो । पछि लोकेशन बुझ्ने क्रममा मनिष गोर्खा प्रिन्समा बसेको देखियो । त्यसपछि प्रहरीले उक्त होटलमा गई अनुसन्धान गर्दा उनी उक्त होटलमा नाम ठेगाना इन्ट्री गरेर बसेको तर परिचय खुल्ने कागज भने होटलले नराखेको देखिएको छ ।
कोठामा बस्ने ग्राहकलाई परिचय खुल्ने परिचयपत्र नदिई नराख्ने कानुन आफुलाई राम्रोसंग थाहा भएको होटल सञ्चालक रमेश शर्माले बताए । उनले भने, म नै काउन्टरमा थिएँ । उसले नागरिकता दिएको थियो । अर्कोदिन पैसा निकाल्न छ भन्दै नागरिकता लिएर गयो । दिंउसोतिर अरु दुई जना साथी पनि लिएर आएको थियो । मैले एक जना बस्ने भन्ने अनी धेरै साथी किन ल्याएको समेत भनेर गाली गरे । पछि त थाहा भयो ऊ त मरेछ । ’ शर्माले कोठामा के के हुन्छ आफुहरुले हेर्न नमिल्ने बताउदैं फोटोकपि मेसीन नहुदा परिचयपत्र नराखेको बताए । उनले भने, ‘अब परिचय पत्र नभई कसैलाई राख्दिन् । ’ होटलको कोठामा बसेका व्यक्तिको हत्या हुने, व्यक्ति मृतक अवस्थामा भेटिएकाले प्रहरीले होटल सञ्चाकलाई ज्यान मार्ने उद्योगमा मुद्धा दायर गर्नेगरी कारबाही अगाडी बढाएको बताएकोछ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार