सीमामा एक्सरे मेसिनको आवश्यक्ता


लुम्बिनीखबर
भैरहवा, साउन । नेपालको राजधानी काठमाडौंबाट सिधा भारतको राजधानी दिल्ली र भारतको राजधानीबाट सिधा नेपालको राजधानी आवत जावत गर्न सहज होस् भन्ने हेतुले नेपाल भारतका दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा नेपाल भारत सिधा बस सेवाको सञ्चालन गरेका थिए ।
उक्त सेवा सञ्चालन भएसंगै नेपालको पोखरा, बुटवलबाट पनि सिधा बस सञ्चालन भयो । जसले नेपाल भारत आवत जावत गर्नेहरुलाई सहज पनि भयो तर पछिल्लो समय दिल्ली बस चोरी तस्करी गर्नेहरुको लागि मात्रै सहज भएको छ । यात्रुको सेवाको लागि लक्षित उक्त बसलाई चोरी तस्करीका मुख्य नाईकेहरुले यतिबेला प्रयोग गरिरहेको भेटिएको छ । बसका सञ्चालहरु नै दिल्लीमा बसेर चोरी तस्करीको सञ्जाल फैलाएका छन् । उनीहरुले चोरी तस्करी कार्य गर्नेहरुको समुह नै बनाएर योजनाबद्ध रुपमा दिल्लीबाट सिधैं नेपालका विभिन्न ठाउँमा भन्सार छली गरेर सामान पठाउने गरेका छन् । उक्त कार्यको पुष्टि पछिल्ला दुई घटनाले गरेका छन् ।
२०७५ पौष महिनामा ना ६ ख ४०३३ नम्बरको दिल्लीदेखि काठमाडौंको लागि जाँदै गरेको बस चेकजाँचको क्रममा पक्राउ पर्यो । बसमा फल्स बटन बनाएर लुकाई छिपाई अवैध ढंगले राखिएको १५ लाख रुपैयाँको कपडा र मोटर पार्टस् भेटियो । यही साउन १७ गते दिल्लीबाट आउँदै गरेको लु १ ख ६६४९ नम्बरको बुटवल जाँदै गरेको बस चेकजाँच गर्ने क्रममा फल्स बटन बनाई अवैध ढंगले नेपाल भित्राएको साढे ६ लाख मूल्य बराबरको कपडा बरामद भयो ।
गएको पुस महिना र शुक्रबार बरामदित सामग्री दुवै दिल्लीबाट नेपाल आउँदै गरेको दिल्ली नेपाल बसबाट बरामद भएको हो । दुवै बसमा फल्स बटन बनाई नेपाल भित्राइएको हो ।
भन्सारमा चेकजाँच गर्ने क्रममा सामान्य चेकजाँच हुने हँुदा चोर तस्करको समूहले दिल्लीमै बैठक बसेर नेपालको कुन कुन ठाउँमा कस्तो प्रकृतिका सामान पठाउने भनेर निधो गर्ने गर्दछन् । दिल्ली नेपाल बस सेवाको विषयमा राम्रो जानकारी राख्नेहरु भन्छन्, ‘दिल्लीको आजादपुरमा ग्यारेजका मिस्त्रीहरुलाई बोलाएर बसको सिटमुनिको बटन खोलिन्छ । अनि नेपाल पठाउने सामान सबै हालिसकेपछि पुनः वेल्डिंग तथा नटबोल्ट लगाई जस्ताको तस्तै बनाइन्छ । सामान्य आँखाले उक्त वस्तु भेट्टाउन सक्ने हैसियत नै नराख्ने अनुसन्धानमा संलग्न सशस्त्र प्रहरीका अधिकृत बताउँछन् ।
सशस्त्र प्रहरी बल ३८ नं गुल्म रुपन्देहीका डिएसपी गोविन्द खाती भन्छन्, ‘हेर्दा केही पनि देखिँदैन । सबै ठिकठाक हुन्छ । बाहिरबाट केही पनि देखिँदैन । मिस्त्री नै लगाएर बनाएको हुन्छ । तर हामीले केही सुत्र मार्फत त्यो पत्ता लगाउने गरेका छौं । ’
अनुसन्धानलाई सहज बनाउन र नेपाल दिल्ली बसबाट अवैध समान नेपाल भित्रिन रोक्न सीमामा गाडी एक्सरे मेसिन राख्नु जरुरी रहेको डिएसपी खातीले बताए । उनले भने , ‘सबै गाडीका यात्रु झारेर, सबैको फल्स बटन खोलेर, वेल्डिंग तोडेर चेकजाँच गर्दा धेरै समय खर्च हुन्छ । अर्कोतिर कुनैमा नराखेको पनि हुन्छ । जसले बद्मासी गरेको हँुदैन त्यसलाई अनावश्यक दुख दिएको जस्तो हुन्छ, त्यसैले एक्सरे मेसिन भयो भने तत्काल पत्ता लाग्छ । ’
स्याङ्जा घर भई दिल्लीको आजादपुरमा बसी बस सेवा सञ्चालन गर्ने श्याम के.सीले चोर तस्करहरुको सेटिंगमा अवैध धन्दा चलाउने गरेको बुझिएको छ । श्याम के.सीले श्री अकालादेवी टुर्स एण्ड ट्राभल्स मार्फत यात्रु बुकिंक मात्रै नगरेर अवैध लत्ता कपडा र मोटर पार्टस समेत बुकिंग गर्ने र त्यसबापत मोटो रकम लिने गरेका छन् । उनले नै मिस्त्री बोलाएर गाडीमा फल्स बटन बनाई नेपाल पठाउने गरको छन् । उक्त कार्यमा गाडीका चालक र सहचालकले पनि सघाउने गरेको देखिएको छ ।
शुक्रबार पक्राउ परेको गाडी बुटवलमा रहेको आचार्य टुर्स एण्ड ट्राभल्स मार्फत सञ्चालित हो । तर उक्त टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाबुराम आचार्यले आफुहरुले दिल्ली जाने यात्रुको टिकेटिंग गर्ने गरेको तर सामानको विषयमा आफुहरु जवाफदेही नभएको बताए । नेपाल दिल्ली दैनिक १० वटा बस ओहोर दोहोर गरिरहन्छन् ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार