५० अर्ब भित्र्याउने तिलोत्तमा लगानी सम्मेलन असोज ९ मा


लुम्बिनीखबर

भैरहवा, असोज । तिलोत्तमा नगरपालिकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई तिलोत्तमा क्षेत्रमा लगानी गर्न उत्साहित गर्ने ध्येयले तिलोत्तमा लगानी सम्मेलन गर्ने भएको छ । यही असोज ९ गते कोटिहवास्थित होटल टाईगर प्यालेसमा हुने उक्त सम्मेलनको तयारी पूरा भएको नगरपालिकाले बताएको छ । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी सयौं लगानीकर्ताको सहभागिता रहने सम्मेलन मूल आयोजक समितिका संयोजक समेत रहेका तिलोत्तमा नगरका प्रमुख बासुदेब घिमिरेले बताए । प्रमुख घिमिरेले भने, ‘हामीले खासगरीकन स्वदेशी पूजींको परिचालनलाई नै मुख्य ध्यान दिएका छौं ।आईडल भएको पूजिंलाई उत्पादनमूलक उद्योगमा लगाउनेगरी यो सम्मेलन आयोजना गरिएको हो । मान्छेहरुसँग अहिले पनि प्रशस्त पैसा छ तर के गरम के गरम भएको छ , उनीहरुले सही योजना छनौट गर्न नसकेको अवस्था छ । यस्तो समयमा हामीले वैज्ञानिक प्रणालीबाट बनाइएका योजना सहित मानिसहरुलाई लगानी गर्न उत्प्रेरित गर्नेगरी यो लगानी सम्मेलनको आयोजना गरेका हौं । ’ नगर प्रमुख घिमिरेले लगानी सम्मेलनमा चाईनिज, भारतीय, कोरीयनहरु आउने निश्चित भईसकेको र अन्य देशका लगानीकर्ताहरु पनि सम्पर्कमा रहेको बताए ।

नगरपालिकाले लगानी सम्मेलनलाई अवसरको रुपमा लिएको छ । उक्त सम्मेलनले अपेक्षाकृत सफलता प्राप्त गरेमा तिलोत्तमाकोलागि मात्रै नभएर सिंगो रुपन्देही जिल्ला, प्रदेश ५ र नेपालकै लागि महत्वपूर्ण उपलब्धी हुने देखिएको छ । सम्मेलनले तिलोत्तमा क्षेत्रमा पर्यटन, कृर्षि, व्यापार, पूर्वाधार, शिक्षा, स्वास्थ्य र उद्योगको क्षेत्रमा स्वदेशी मात्रै होइन विदेशी लगानी समेत भित्रिने अपेक्षा गरिएको छ । नगरपालिकाले लगानी गर्नेहरुको लगानीको सुरक्षाको जिम्मेवारी स्थानिय सरकारले लिने पनि घोषणा गरेको छ । लगानी सम्मेलनमा ७ वटै प्रदेशका मुख्यमन्त्रीको सहभागीता रहने र सम्मेलनलाई पूर्व प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताईन् । तिलोत्तमा सुरक्षीत लगानीको अक्षत् (भर्जिन) भूमि भन्ने मूल नाराका साथ हुन थालेको लगानी सम्मेलनको क्रममा अढाई दर्जन योजना प्रस्ताव गर्नेगरी नगरपालिकाले तयारी गरेको छ । उक्त प्रस्तावमाथी रुची हुने लगानी कर्ताहरुले तत्कालै सम्झौता गर्न सक्ने पनि कार्यक्रम हुनेछ । सम्मेलनको क्रममा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, ढाक्रेबास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङ रोडमा रेलवे, स्मार्ट हाटबजार, एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ स्मार्ट परियोजनालाई प्राथमिकता साथ प्रस्ताव गर्ने तयारीमा रहेको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

५० अर्ब बराबरको लगानी भित्राउने अपेक्षासहित गर्न थालिएको लगानी सम्मेलन सफल पार्नु सबैको दायित्व भएको प्रवक्ता श्रीले बताए । नगरपालिकाले लगानीकर्ताको हितलाई ध्यान दिँदै उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने ढंगले विशेष नीति नै बनाएको छ । जस अनुसार न्यूनतम ५० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको ५ वर्ष सम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिइनेछ । न्यूनतम ३०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइनेछ । ३०० जना भन्दा माथि ५०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्ष सम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिइनेछ । ५०० जना भन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिइने छ । यसैगरी परियोजनाको भवन, टहरा तथा संरचना निर्माणको लागि नगरपालिकाबाट नक्सा पास गर्दा ५० देखि ३०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति हामीले लिएका छौं । कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज, आदिलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ । तिलोत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिइने छ । पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटल मोटेल तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई स्थापनाको ५ वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ । न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शतप्रतिशत छुट र परियोजनाका लागि जग्गा खरिदमा सहजीकरण गरिनुका साथै विद्युत सेवाका लागि पनि सहजीकरण हुनेछ ।

देशमा संघीय शासन व्यवस्था लागु भएसंगै स्थानीय सरकारहरु शक्तिशाली सरकारको रुपमा स्थापित भए । सिंहदरबार गाउँघरमा पुराउने नीति अनुसार स्थानीय सरकारलाई सर्वाधिकार सम्पन्न अधिकार प्रत्यायोजन भयो । उक्त अधिकारलाई केही केही स्थानीय सरकारले मात्रै सदुपयोग गर्न सकेको अवस्था छ । आफूले प्राप्त गरेको अधिकारलाई बढी भन्दा बढी प्रयोग गरेर जनताको प्रिय सरकार बनिरहेको तिलोत्तमा नगर सरकारले मुलुकमै पहिलोपटक लगानी सम्मेलन समेत गरेर राष्ट्रिय पूजींको विकास गर्न थालेकोमा उद्योगी व्यवसायी समेत खुसी देखिएका छन् । लगानी सम्मेलनले उद्योग व्यवसायको क्षेत्रमा तरंग सृजना गरेको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारीले बताए । उनले भने , ‘स्थानीय सरकारले उद्योगी व्यवसायीको क्षेत्रमा नेपालमै गर्ने पहिलो सम्मेलन भएकोले आफैमा महत्वपूर्ण हुनेछ । तिलोत्तमा नगर क्षेत्रमा सार्वजनिक जग्गा धेरै छन् । ती जग्गालाई लिजमा दिएर ठूला ठूला उद्योग भित्राउन सकिन्छ । पर्यटन क्षेत्रलाई जोड दिएर सम्मेलनका क्रममा योजना सहित प्रस्ताव लैजानु राम्रो हुनेछ । यसले उद्योगी व्यवसायीलाई फाइदा नै दिन्छ । हामी उत्साहित छौं । ’

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार