गुजारामुखी श्रमलाई उद्योगमा रुपान्तण गर्ने कृषि मन्त्रीको उद्घोष


लुम्बिनीखबर
भैरहवा, मंसिर । अघिल्लो हप्ता कृषि तथा पशुपंक्षी मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको गुजारामुखी श्रमलाई उद्योगमा रुपान्तरण गर्ने आफ्नो पहिलो काम भएको बताएका छन् ।
लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले भने , ‘ हाम्रो मुलुकको समृद्धिकोलागी, विकासकोलागी, राष्ट्रिय पुँजीको विकासकोलागी खासगरी परम्परागत कृषि अल्झिएको गुजारा श्रमलाई परिवर्तन गरेर उद्योगमा ल्याउनु जरुरी छ । त्यसकोलागी सरकारको सम्पूर्ण नीति तथा कार्यक्रमलाई त्यस काममा केन्द्रित गर्नेछौं ।


मन्त्री भुसालले अहिले नै म यो गर्छु, उ गर्छु भनेर बोल्नु गफ लाउनु मात्रै भएको बताउँदै मैले के के गर्छु भन्ने कुरा अबको एक महिना पछि मात्रै बताउने हँुदा सोही अनुसार सबैको सहयोगको अपेक्षा पनि गरे ।
उनले भने मैले प्रेसका साथीहरुलाई पटक पटक भनेको छु किनभने मेरो भिजन र दृष्टिकोण के छ भने म नेपाल सरकारको बजेट, नीति तथा कार्यक्रम लागु भएको चार महिनापछि मन्त्री भएर आएको छु । यसैले धेरै ठुला कुरा गर्नु व्यवहारिक हँुदैन । मेरो काम सरकारको नीति तथा कार्यक्रमले जुन परिणाम खोजेको छ , जुन लक्ष्य राखेको छ ,त्यसप्रति बफादार भएर काम गर्नु नै हुनेछ ।
नेकपाका बौद्धिक नेताका रुपमा चिनिने भुसालले ०३६ सालदेखि आफुहरुले किसानले मलखाद पाउन सकेका छैनन् भनेर भाषण गर्दै आएको उल्लेख गदै अहिले पनि उक्त समस्या विद्यमान रहेको समेत बताए । उनले भने, ‘०३६ सालमा पनि किसानले मलखाद पाउन सकेका थिएनन् अहिले पनि समस्या उस्तै छ । यसैले देखाउँछ कृषि मन्त्रालयको वर्तमान अवस्थाको चित्रण । यी यावत समस्या समाधान गर्न मैले एक्लै चाहेर हँुदैन । सबै मन्त्रालयको सहयोग र सहकार्य जरुरी छ । ’
मन्त्री भुसालले कृषि मन्त्रालय आफ्नो रोजाईको पनि मन्त्रालय भएको उल्लेख गर्दै भने, ‘मैले मिडियामा र सामाजिक सञ्जालमा आएको शुभेच्छा र चिन्तालाई नियालिरहेको छु । तिनले मलाई सचेत पनि गराईरहेको छ । ’
उनले मन्त्रालयमा पदभार ग्रहण गर्ने बेला लोभ र डरले प्रभावित हँुदैन भनेर उल्लेख गरेको बताउँदै उक्त कुरालाई बारम्बार दोहोराउन चाहेको पनि बताए । यसअघि झलनाथ खनाल प्रधानमन्त्री छँदा प्रधानमन्त्री कार्यालय हेर्नेगरी विना विभागीय मन्त्रीको रुपमा छ महिना सिंहदरबारको अनुभव संगालेका भुसाल सत्ताधारी दल नेकपा भित्र आलोचक नेताको रुपमा समेत परिचित छन् । नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विश्लेषक भुसालले कृषि मन्त्रालयमा सम्हालिरहँदा देशको बाँझो खेत र खरेनमा फेरी हरियाली छाउला कि भनेर धेरैले आशा पनि गरेका छन् । पत्रकार सम्मेलन लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता र महासचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार