विशेष आर्थिक क्षेत्रमा धमाधम उद्योग खुल्दै


लुम्बिनीखबर

भैरहवा,  मंसिर । विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा उद्योगहरु खुल्न थालेका छन् । सेजमा पछिल्लो समय उद्योगहरु स्थापना गर्न व्यवसायीहरु लागेका हुन् । यसअघि चासो मात्रै देखाउने तर उद्योग स्थापनामा भने सक्रियता नदेखाउनेहरु समेत उद्योगको संरचनामा नै जुटेका छन् । ५२ विघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ वटा प्लट छन् । जसमा २ उद्योगले भौतिक संरचना बनाइसकेका छन् भने ८ उद्योगले निर्माणको तयारी सुरु गरेका छन् ।

१६ वर्ष पछि सेज ऐन बन्यो । त्यसमा संशोधन समेत भइसकेको छ । विद्युत् उपलब्ध छ । पूर्ण क्षमताको विद्युत् ल्याउन काम जारी छ । केही उद्योग खुलिसकेका छन् । मुलुककै पहिलो निर्यातमुखी योजना भैरहवा सेजमा अहिले भने उद्योग सञ्चालनमा आएको हो ।

अघिल्लो वर्ष उच्च जोखिमै उद्योग बनाउन सुरु गरेका नेपाली लगानीकर्ताले शक्ति मिनरल्स् प्रालि संचालनमा ल्याइसकेका छन् । यो उद्योगले गएको जेठबाट स्वदेशी चुनढुंगालाई प्रशोधन गरि फाइनस्टोन, फ्लक्स, लाइनस्टोन र डोलोमाइटको उत्पादन गरी भारत निर्यात् गर्दै आएको छ । सेजमा उद्योग स्थापना गरी भारत निकासी सुरु गर्ने शक्ति पहिलो उद्योग हो । भारतीय लगानीकर्ताले स्थापना गरेको विस्तार ग्लोबल प्रालिले पनि बिहीबारबाट व्यवसायिक उत्पादन सुरु गरेको छ । यो सेजमा स्थापना भइ उत्पादन सुरु गर्ने दोस्रो उद्योग हो ।

‘हामीले ऐन, नियम पर्खँदै लगातार उद्योग निर्माण गरिरह्यै । अन्ततः आज व्यवसायिक उत्पादन गर्ने अवस्थामा आयौं । सरकारले भएका झन्झटिला प्रक्रिया हटाउनु पर्छ । यदि यस्तो भएमा थप उद्योगहरु निर्माण हुनेछन्’, विस्तार ग्लोबलका संचालक योगेश जैनले भने । उद्योगमा १५ करोड रुपैयाँ लगानी भएको छ । एक सयले रोजगारी पाएका छन् । उद्योगको मासिक उत्पादन क्षमता ३ सय मेट्रिकटन भन्दा बढी छ । ‘उद्योगबाट घरेलु प्रयोगमा आउने स्टीलका भाडाहरु उत्पादन हुन्छन् । नेपालसहित अन्य मुलुकमा यसको अत्यधिक माग छ’, जैनले भने ।

स्टीलका भाडाहरु भारत, दुवई, साउदी, नाइजेरिया, अफ्रिका लगायतका मुलुकमा राम्रो माग छ । अब यी देशहरुमा तत्काल निर्यात सुरु गर्ने उद्योग संचालकले जनाएका छन् । उद्योगीले सेजमा तत्काल फूल फेजको विद्युत, खानेपानी उपलब्ध गराउनु पर्ने र सरसफाईमा ध्यान दिनु पर्ने माग गरेका छन् । उद्योगको बिहीबार विशेष आर्थिक क्षेत्र प्राधीकरणका उपसचिव सुन्दर थापाले उद्घाटन गरेका हुन् । थापाले निर्यात प्रबद्र्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले नै सरकारले सेजको अवधारणा ल्याएको बताए । ‘अवधारणा अनुसारमा हामीले पहिला नै सेज संचालन गर्नु पथ्र्यो तर केही कमिकमजोरी भए । अब सुधार गर्दै उद्योगमैत्री वातावरण सिर्जना गर्छौ’, उनले भने ।
सरकारले बढ्दो व्यापार घाटा कम गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न भन्दै सेजको अवधारणा ल्याएको हो । तर आवश्यक सेवासुविधा उपलब्धतामा भएको ढिलाईले डेढदशकमा पनि सेजभित्र पूर्ण उद्योगहरु सञचालन आउन सकेका छैनन् । ‘पछिल्लो समय सेजसम्बन्धी कामले धेरै गति लिएको छ । अब उद्योगीहरु निरास हुनु पर्दैन । निर्माण सम्झौता गरेका उद्योगीले निर्माण थाल्नुपर्छ’, उनले भने । रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनले सेजमा दोस्रो उद्योगले उत्पादन सुरु गर्नु महत्वपूर्ण रहेको बताइन् । रोहिणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठानले सेजमा रहेका उद्योगहरु सञ्चालन गर्नु प्रशंसनीय रहे पनि उद्योगमा स्थानीयले नै रोजगारी पाउनुपर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले उद्योगी व्यवसायीहरुले मुलुक बाहिर लगानी गरेर पुँजी पलायन गर्नु भन्दा स्वदशमै उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले यस क्षेत्रका उद्योगहरुमा सकेसम्म स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन आग्रह गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले राज्यले उद्योगमैत्री वातावरण सिर्जना गर्न नसक्दा सेज सञ्चालनमा ढिलाइ भएको बताए । ‘मन्त्रीपिच्छे उद्घाटन गर्ने तर आवश्यक नीति, नियम नबनाउने । यसले गर्दा पनि सेजप्रति उद्योगी आकर्षित नदेखिएका हुन्’, उनले भने । उनले सेजमा दोस्रो उद्योग सञ्चालनमा आएसँगै यसले निजी क्षेत्रलाई केही आसा पलाएको जनाए ।

सुरुमा यहाँ स्थापित उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत विदेश निर्यात गर्नुपर्ने प्रावधान राखिए पनि विशेष आर्थिक क्षेत्र ऐन पहिलो संशोधन, २०७५ मार्फत् ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान बनाइएको छ । यस्तै, कर छुट सुविधा नलिई एक वर्षसम्म उद्योगबाट उत्पादित वस्तु शतप्रतिश पनि आन्तरिक बजारमा विक्रीवितरण गर्न पाइने व्यवस्था गरेको छ । यो प्रावधानले सेजमा उद्योग खोल्न चाहने उद्योगीलाई थप प्रोत्साहन मिलेको छ । प्राधिकरणका अनुसार उद्योग स्थापनाका लागि २२ उद्योगले सम्झौता गरे पनि दुईवटा उद्योगले मात्रै निर्माणको काम सकेर उत्पादन सुरु गरेका छन् ।

उद्योग निर्माणका लागि प्लट लिएर प्राधिकरणसँग सम्झौता गरेका १० उद्योगीले भने काम सुरु गर्ने छाटकाँट नै देखाएका छैनन् । ‘हामीले ती १० उद्योगीलाई ताकेता गरिरहेका छौं । यदि अबको एकदुई हप्तामा पनि उहाँहरुले काम थाल्नु भएन भने सम्झौता रद्द गरेर अन्य उद्योगीहरुलाई प्लट उपलब्ध गराउँछौं’, उपसचिव थापाले भने । उनले भन्सार छुट लगायतमा उद्योगीका मागअनुसार सरकारले ऐन संशोधन गरेकाले तत्काल उद्योग निर्माण थाल्न आग्रह गरे ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार