बोधगयामा दोस्रो अन्तर्रा्ष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट सुरु


लुम्बिनीखबर

बोधगाया (बिहार), मंसिर । बौद्धस्थलहरुको प्रचारप्रसार र पबद्र्धन गर्ने उद्देश्यले भारत बिहार राज्यको बोधगयामा दोस्रोपटक अन्तर्रा्ष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरु भएको छ । एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर (एबीटीओ) भारतको आयोजनामा मार्ट भएको हो ।
मार्टको भारत सरकारका पर्यटन मन्त्रालयका सचिब विनोद जुत्सी उद्घाटन गरे । उनले विश्वमा बुद्ध दर्शनको प्रभाव दैन्दिन बढ्दै गएको बताउँदै बौद्ध सम्पदाबाटै पर्यटक क्षेत्रको विकास गर्न सकिने जनाए । ‘बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगयासहित दुवै देशका बौद्ध सम्पदालाई जोडेर प्रवद्र्धन गर्न जरुरी छ । यसले नेपाल भारत दुवै देशको पर्यटन विकासमा महत्पूर्ण भूमिका खेल्छ’, उनले भने ।


अझै पनि बौद्ध सम्पदाहरु भएको ठाउँमा आवश्यक पूर्वाधार पुग्न नसकेको बताउँदै उनले त्यसतर्फ दुवै देशका सरकारहरुले ध्यान दिनुपर्ने जनाए ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई बोधगयामा पठाउने र बोधगयामा आउने पर्यटकलाई ल्म्बिनी पठाउन बुद्ध सर्किटका क्षेत्रलाई जोडेर नेपाल र भारतका पर्यटन व्यवसायीले पर्यटकीय प्याकेज तयार बनाउनुपर्नेमा जोड दिए । ‘हामीले जवसम्म बुद्ध सर्किटमा प्याके बनाउँदैनौं, तबसम्म पर्यटक व्यवसाय फस्ट्याउन सक्दैन’, उनले भने, ‘कनेक्टिभिटी बढाई सबै सम्पदा जोड्न जरुरी छ ।’
बुद्ध जन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम, देवदह लगायत नेपालका अन्य बुद्धिष्ट क्षेत्रहरु र भारतका बोधगयासहित बिभिन्न बुद्धिष्ट क्षेत्रहरुको प्रबद्र्धन, बिकास प्रचारप्रसार गर्ने उद्देश्यले यसवर्ष पनि इन्टरनेशनल बुद्धिष्ट ट्राभल मार्टलाई निरन्तरता दिइएको आयोजक संस्था एबीटीओका अध्यक्ष जेपी शाहले बताए ।
अशोका मिसनका अध्यक्ष भिक्षु लोप्जाङले बुद्ध शिक्षा र दर्शनको जति प्रचार गर्नसक्यो पर्यटन क्षेत्रमा उत्तिकै फाइदा पुग्दै जाने जनाए । इन्डोनेसियाका दुतबिरा बौद्ध क्याम्पसका भाइस रेक्टर इफन्दी हन्सेनले बिश्वमा बुद्ध दर्शनको प्रभाव बढिरहेकाले उनीहरुलाई बुद्ध जीवनीसंग जोडिएका क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिए । बुद्धिष्ट ट्राभल्स मार्टमा सिद्धार्थ होटल संघ नेपालसहित, भारत, थाइल्याण्ड, चीन, श्रीलंका, कम्बोडिया, भुटान, मलेशिया, म्यानमारलगायत १७ देशका पर्यटन ब्यबसायी (होटल तथा ट्राभल व्यवसायी) र सरोकारवाला सहभागी छन् ।
बुद्धिस्ट मार्टमा नेपाल र भारतमा रहेका बुद्धिष्ट क्षेत्रहरु जोड्न र एक ठाउँ आएका पर्यटक अर्को ठाउँमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समान धारणा बनाइने छ । सम्मेलनमा नेपालसहित भारतका विभिन्न ट्राभल्स एवं होटलहरुका २० वटा परिचयात्मक स्टलहरु राखिएका छन् । कार्यक्रममा सहभागी लुम्बिनी क्षेत्रका ब्यबसायीहरुले लुम्बिनी, भैरहवा, तिलोत्तमा क्षेत्रका होटलहरुमा रहेका सुबिधाहरु, त्यहाँका ब्यबसायीले प्रदान गर्ने आतिथ्यता लुम्बिनीको टुर प्याकेज, यातायात साधन तथा सेवा लगायतका बिषयमा बिजनेश टु बिजनेश (बि–टु–बि) र बिटुसी कार्यक्रम समेत गर्ने कार्यक्रम छ ।
सम्मेलनमा नेपालबाट होटल संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा आएको टोलीमा लुम्बिनी, भैरहवा, तिलोत्तमा क्षेत्रका होटल ब्यबसायी, सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन सोट्टो नेपाल प्रदेश ५ मा आबद्ध पर्यटन ब्यबसायी र पत्रकार गरि ३३ जनाको टोली सहभागी छ । सम्मेलनले दुवै देशका पर्यटन व्यवसायीहरुको हितलाई मध्यनजर गर्दै समन्वय र सहकार्य बढाउन मद्दत पुग्ने सिद्धार्थ होटल संघ, नेपालका महासचिब रवीन्द्र शर्मा घिमिरेले बताए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार