logo
  • २३ भाद्र २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीका दिवंगतप्रति श्रद्धाञ्जलीसहित प्रहरीले इन्टरपोल दिवस मनाइयो


    २२ भाद्र २०८३ , सोमबार

    भोटेकोशी बाढीका दिवंगतप्रति श्रद्धाञ्जलीसहित प्रहरीले इन्टरपोल  दिवस मनाइयो

    लुम्बिनीखबर 

    रूपन्देही, २२ भदौ । इन्टरपोल दिवसको अवसरमा नेपाल प्रहरीले सोमबार काठमाडौँको सुन्धारास्थित धरहरामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी भोटेकोशी बाढीमा परी दिवंगत भएका नेपाली तथा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा सम्पन्न भएको हो।

    भोटेकोशी बाढी आएको १३ औँ दिन तथा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवंगत नेपाली दाजुभाइ तथा दिदीबहिनी र कर्तव्यपालनाका क्रममा दिवंगत नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्व झल्काउने सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो। विभिन्न देशका प्रहरीबीच हुने सहकार्य, सूचना आदानप्रदान तथा समन्वयले अन्तरदेशीय अपराध अनुसन्धानमा पुर्‍याउने योगदानलाई वृत्तचित्रमार्फत प्रस्तुत गरिएको थियो।

    अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धानमा विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदानप्रदान र समन्वय महत्वपूर्ण रहेको दीप प्रज्जलन कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले बताउनुभयो । उहाँका अनुसार अपराधको स्वरूप अन्तरदेशीय बन्दै गएकाले प्रभावकारी अनुसन्धान र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्य आवश्यक हुँदै गएको छ।

    इन्टरपोल दिवसले विभिन्न देशका प्रहरीबीचको सहकार्य, समन्वय र सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने उद्देश्य बोकेको हुन्छ।

    अन्तर्राष्ट्रिय प्रहरी सहकार्य दिवस हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो। विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदानप्रदान र समन्वय सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु दिवसको मुख्य उद्देश्य रहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यसँगै प्राकृतिक विपत्तिका समयमा समेत नागरिकको खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, राहत व्यवस्थापनमा सहजीकरण तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने कार्य गर्दै आएको छ। विपद्का समयमा उद्धार तथा राहतमा परिचालित भए पनि प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान, लागूऔषध नियन्त्रण, सीमा सुरक्षा, तस्करी नियन्त्रण, साइबर अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षालगायतका नियमित जिम्मेवारीसमेत निरन्तर निर्वाह गर्दै आएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मीलगायत आमन्त्रित महानुभावको उपस्थिति रहेको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.