
नरेश के.सी.
विश्वमा अहिले भाषिक, लैगिक, धार्मिक, जातिय तथा राजनितीक मात्रै नभएर भौगर्भयीय, शैक्षिक र वर्गिय बैमन्यस्ता बढ्दो छ ।
पश्चिमा भन्दा पूर्विया देशहरुमा यो विभेद भित्रभित्रै सल्कीरहेको छ । यस्तो अवस्थामा विश्व शान्तिको मूल केन्द्र शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीले सबै प्रकारको समानताको लागी अहम् भूमिका खेलेको पाइन्छ ।
आजभन्दा एक करोड दस लाख वर्ष अगाडीको पाषाण युगिन मानव रामापिथेकसको अस्तित्व बोकेको रुपन्देही वास्तवमा विश्व चर्चित ऐतिहासिक क्षेत्र हो । यसै क्षेत्रको पवित्र भूमि लुम्बिनीमा शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्म ई.पू ५६३ बैशाख शुक्ल पूर्णिमामा भएको हो । उनको शान्ति सन्देश आज सम्म पनि विश्वमा गुञ्जायमान भइरहेको छ । (सागर,२०७३)
ऐतिहासीक, सांस्कृतिक, पर्यटकीय र धार्मिक दृष्टिकोणले यो ठाउँ जत्ति महत्वपुर्ण छ त्यो भन्दा बढी मानव सभ्यता र समाजको समान विकासको लागी महत्वपूर्ण बनिरहेको यर्थाथ सबैको स्वीकार्य विषय हो । यस क्षेत्रमा हिन्दू, रितिरिवाज तथा प्रचलनको बाहुल्य रहेको भए तापनि बुद्धको जन्मस्थलका नाताले सामाजिक जीवनमा बुद्धमार्गी अनुयायीहरुको जीवनपद्धतिको प्रभाव पनि महत्वपुर्ण रहेको छ । –अधिकारी, २०७३)
सामाजिक अवस्था र संरचना, जातिगत अवस्था र संरचना, भाषागत अवस्था र संरचना, राजनीतिक अवस्था र संरचना, भौगर्भीय अवस्था र संचरना , शैक्षिक अवस्था र संरचना तथा वर्गिय अवस्था र संरचनाको मिहीन ढंगले विश्लेषण गर्दा पनि लुम्बिनी क्षेत्र विश्वमै विविधतामा एकता बोकेको क्षेत्र हो ।
सामाजिक विश्लेषणका सबै अवयवहरुको सुक्षम अध्ययन गर्दा यो क्षेत्र विश्व मान चित्रमै सामाजिक समनताको प्रतिक बन्न सकेको छ ।
लुम्बिनीको वास्तविक महत्व राष्ट्रिय तथा अन्तराष्ट्रिय बनाउन विश्व प्रसिद्ध वास्तुकलाविद् प्राध्यापक केन्जो टांगेद्वारा सन् १९७८ मा तयार पारी कार्यान्वयन शुरु गरिएको लुम्बिनी गुरुयोजनासँगै अग्रभागमा आएको हो । यो योजना पुरा भएमा लुम्बिनी विश्व पर्यटनको मुख्य केन्द्रकोे रुपमा स्थापित हुनेमा कुनै शंका छैन । नेपाल सरकार र लुम्बिनी विकास कोषले गुरुयोजनाको कामलाई तिब्रता दिँदै आएको छ । (राई , २०७०)
मानव सभ्यताको विकासक्रमसँगै शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आजभोली विश्व मानव समुदायको पवित्र स्थल हो । यो स्थलमा बौद्धमार्गी मात्रै नभएर विश्वका सबै धर्म संस्कृतिका अनुयायीहरु आउने गर्दछन् । किनकी बुद्धले दुखःबाट मुक्ति प्राप्त गर्नकोलागी सत्व प्राणिहरुकोलागी भिन्न भिन्न रुचि, मानसिक अवस्था र क्षमता अनुसार उपदेश दिएका थिए । ती उपदेशहरुलाई श्रावकयान, प्रत्येकबुद्धयान र सम्येकबुद्धयानगरी तीनवटा वर्गमा बाँडिएकोछ । (काफ्ले २०७०)
विश्वव्यापीकरणको फन्दामा परेर सांसारीक उल्झन, बल्झन र दुखबाटग्रस्त मानवजातीले केही समयभएपनि स्वतन्त्रता र मुक्तिका लागी लुम्बिनीलाई साझा चौतारीको रुपमा प्रयोग गर्ने गरेको देखिएको छ । लुम्बिनी भ्रमणकोलागी कुनै वाद, आस्था र सिद्धान्तले प्रतिबन्ध गर्दैन । लुम्बिनी विश्वको खुल्ला संग्रहालय हो ।
सामान्यतया विश्वका अधिकांश देशले लुम्बिनीमा जग्गा लिजमा लिएर आफ्नै देशको शैलीमा भवन निर्माण गर्ने र आफ्ना नागरीकहरुलाई त्यहाँ राखेर लुम्बिनीप्रति श्रद्धा व्यक्त गर्नुले पनि लुम्बिनी विश्वको एकमात्र साझा चौतारीको रुपमा स्थापित भएको सिद्ध भएको छ । विशेषतः त्यो भन्दा बेसी लुम्बिनीको हरेक महत्वलाई झल्किनेगरी त्यहाँको ऐतिहासिकता, सांस्कृतिकता, धार्मिकता, पर्यटकतालाई अनुकरण गर्दै अहिंसात्मक बाटोतर्फ पाइला अगाडी बढाउन विश्व अभिप्रेरित हुनुले पनि लुम्बिनी सबैको साझा भएको प्रस्टै छ ।
एकातिर लुम्बिनीको आसपासका क्षेत्रमा जनसांख्यीय हिसाबले मुस्लिम समुदायको बाहुल्य बसोबास रहेको छ अर्कोतिर हिन्दू धर्मालम्बीहरु प्नि उत्तिकै छन् । त्यति मात्रै होइन लुम्बिनीको रेखदेख र संरक्षणकोलागी स्थापना भएको लुम्बिनी विकास कोषमा आउने कर्मचारी पनि विभिन्न धर्मालम्बी हुनुले पनि लुम्बिनी विश्वकै मानचित्रमा धार्मिक दृष्टिकोणमा धार्मिक सहिष्णु भएको साझा चौतारी भएको छ ।
यसैले बुद्ध धर्म नभएर दर्शन भएको कुरा विद्धानहरुले बारम्बार बताउँदैं आएका छन् । तथापी केही बौद्धिस्टहरुले संसारको महान दशर्न बुद्धिज्मलाई धर्मको नाममा संकुचित गर्ने प्रयास गरिरहेका छन् । यस तर्फ भने सबै सचेत हुनु जरुरी छ । महामानब बुद्धको नजरमा संसार समान छ । तर सामान्य नजरले संसारलाई विश्लेषण गर्ने हो भने विश्वमा तीन तह केन्द्र, अर्धपृष्ठ र पृष्ठ क्षेत्र देख्न सकिन्छ ।
शक्ति सन्तुलनका दृष्टिले ३ तह रहने विश्वव्यवस्था प्रणाली अनुसार अहिले विश्वको केन्द्र संयुक्त राज्य अमेरिका रहेको छ । भारत अर्धपृष्ठको रुपमा रहेको छ भने नेपाल जस्ता देशहरु पृष्ठ क्षेत्रको रुपमा रहेको छ । केन्द्रले जहिले पनि अति सस्तो मूल्यमा पृष्ठ र अर्धपृष्ठ क्षेत्रबाट कच्चापदार्थ तथा श्रमशक्ति आयत गर्ने गर्दछ । त्यही श्रमशक्ति र कच्चापदार्थ प्रयोग गरि विभिन्न वस्तुहरुको उत्पादन गर्दछ ।
आफुले उत्पादन गरेको वस्तुलाइ अति महंगो मूल्यमा तीनै अर्धपृष्ठ र पृष्ठ क्षेत्रमा पठाउंछ । केन्द्रले आफुले उत्पादन गरेका वस्तुहरु पठाउँदा अप्रत्यक्ष रुपमा आफ्नो संस्कृतिलाई पनि विस्तार गरिरहेको छ ताकि अन्य क्षेत्रले आफ्नो संस्कृतिको अनुसरण गरुन् । विकासशील र विकासोन्मुख क्षेत्रले विकसित क्षेत्रको संस्कृति ग्रहण गर्न थाल्छन् ।
त्यस्तो अवस्थामा पूँजीवादी एजेन्सीहरुले केन्द्रको संस्कृति प्रसार गराउन विभिन्न भूमिका पनि खेल्ने गर्दछन् । त्यसैले आज नेपाल जानी नजानी विदेशी संस्कृतिको चंगुलमा फसेको छ । केन्द्रले जहिले पनि अर्धपृष्ठ र पृष्ठमाथि शोषण गर्छ, शासन गर्छ, प्रभुसत्ता लाद्छ भने अर्धपृष्ठले पृष्ठ क्षेत्रमाथी शासन गर्न खोज्छ । तर पृष्ठ जहिले पनि निरीह भएर बस्न बाध्य हुन्छ । विश्वका केन्द्र, अर्धपृष्ठ र पृष्ठ क्षेत्रका देशहरुले पनि लुम्बिनीमा आफ्नो देशको प्रतिबिम्ब झल्किनेगरी भवन निर्माण गरेका छन् । (के.सी , २०७१)

समाज विभिन्न चरण पार गर्दै अगाडी बढ्ने गर्दछ । ती चरणहरु पार गर्ने क्रममा विभिन्न आरोह अवरोहहरु पनि पैदा हुने गर्दछन् । आरोह अवरोहले नै द्वन्द्व सृजना गराउंदछ । द्वन्द्वले नै समाजको रुपान्तरण गर्ने गर्दछ । वैज्ञानिक तवरको द्वन्द्वको रुपान्तरणले हरेक समाज तथा मुलुकमा शान्ति र समृद्धिको ढोका खोल्ने गर्दछ ।
त्यसको लागी द्वन्द्वको सही व्यवस्थापन जरुरी छ । द्वन्द्व समाधानको लागी विश्वास र आस्था पनि अपरिहार्य हुने गर्दछ । वर्तमान परिवेशमा त्यो विश्वास र आस्थाको पयार्यवाचीको रुपमा लुम्बिनी हुन सक्छ । लुम्बिनी, जहाँ आज भन्दा २५६० औं वर्ष पहिले शान्तिका दूत बुद्धको जन्म भयो । शान्तिका अग्रदूत बुद्ध जन्मस्थल लुम्बिनी अबको परिवेशमा दुनियाँको लागी शान्ति र समृद्धिको उपयुक्त दृष्टान्त बन्न सक्दछ । जसको लागी युनेस्को र नेपाल सरकारले विशेष तयारीको साथ काम थाल्नु जरुरी छ ।
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तले पनि द्वन्द्व पछि शान्ति र समृद्धिको परिकल्पनालाई सुनिश्चित गरेको छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका प्रतिपादक दार्शनिक कार्ल माक्र्सले भनेका छन् “समाज आदिम उत्पादन प्रणाली, दास उत्पादन प्रणाली, सामन्ती उत्पादन प्रणाली, पूजिंवादी उत्पादन प्रणाली हुँदै समाजवादी उत्पादन प्रणालीमा प्रवेश गर्नेछ । ” (आचार्य, २०६३)
प्राचीनकालमा महत्वपूर्ण तीर्थस्थल रहेको लुम्बिनी भू गर्भमा छोपिएकोमा उन्नाइसाँै शताब्दीको अन्तिम दशकमा बौद्ध साहित्य एवं चिनियां यात्रीहरुको विवरणको आधारमा पत्ता लागेपछि आधुनिक युगमा यसको लोकप्रियता बढ्यो । विश्वका बौद्ध धर्मालम्बीको आकर्षणको केन्द्र बनेकोले यसको विकास र विस्तारको लागी वि.स.२००८ सालमा चार सदस्यीय लुम्बिनी प्रबन्ध समिती गठन भए यता लुम्बिनीको व्यवस्थापनमा ध्यान केन्द्रित भएको हो ।
तत्पश्चात वि.स. २०२४ मा संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव उत्थान्तको लुम्बिनी भ्रमण र वि.स. २०२७ मा भारत र थाइल्याण्डको प्रस्तावमा नेपालको अध्यक्षतामा १३ राष्ट्र सदस्य रहेको अन्तराष्ट्रिय समिती गठन र त्यसको कार्यालय न्यूयोर्कमा राखेसँगै लुम्बिनीको अन्तराष्ट्रियकरणले तिब्रता लिन थाल्यो । (गिरी, २०६९)
लुम्बिनीमा प्रस्ट रुपमा शान्ति शब्द जोडिएर निर्मित तथा प्रयोगमा आएका शान्ति स्तूपा, शान्ति दीप र शान्ति घण्ट भएता पनि लुम्बिनी क्षेत्रलाई समग्र रुपमा शान्ति बाटिका , पवित्र उद्यान भनिनुले पनि यस क्षेत्रमा रहेका हरेक संरचना, ठाउँले शान्तिको लागी योगदान दिइरहेका छन् । लुम्बिनी क्षेत्रमा पछिल्लो चरणमा केही जनचेतना बढ्न थालेका अनुभूति हुन्छ । यो बुद्ध जन्मस्थल लुम्बिनी कपिलवस्तुको देन हो । यस क्षेत्रमा पर्यटकीय पुर्वाधार वृद्धि गर्ने र पर्यटन उद्योग विस्तार गर्ने क्रम बढ्न बढेको छ । (थापा, २०७१)
नेपाल सरकारको २०७३÷०७४ को बजेट वक्तव्यको बँुदा नम्बर ९८ मा लुम्बिनीमा अन्तराष्ट्रिय सेमिनार, गोष्ठी र सभा आयोजना गर्ने ध्ययेले ५ हजार जनता अट्ने क्षमता भएको सभाहल बनाउने निर्णय गरी बजेट समेत छुट्टाएको छ ।
आगामी आर्थिक वर्षभित्र लुम्बिनीमा पाँच हजार क्षमताको सभा भवन निर्माण कार्य आरम्भ गरिनेछ । यसबाट पनि के प्रष्ट हुन्छ भने लुम्बिनी अब शान्तिको वार्ता स्थल बन्छ जहाँबाट समृद्धिको ढोका खुल्छ । बुद्धजन्मस्थल लुम्बिनी विश्भरीका शान्तिप्रिय जनताको लागी सबैभन्दा उत्तम र उपयुक्त स्थल हो ।
नेपाली समाजशास्त्र मानवशास्त्रका पिता भनेर परिचित डोर बहादुर विस्टले उनको प्रसिद्ध पुस्तक सबै जातको फुलबारीमा लुम्बिनीको बारेमा भनेका छन् ःसंसारभरीका करौडौं मानिसलाई शान्ति र अहिंसाको पाठ दिएर गएका सिद्धार्थ गौतम बुद्ध पनि नेपालकै राजकुलका कर्णधार भएर जन्मिएका थिए । उनको जन्मस्थल लुम्बिनी अर्को ठूलो तीर्थस्थल हो ।
रुपन्देही जिल्ला जहांको समग्र वस्तुस्थिती केलाउँदा ४० हजार ५ सय ७१ जनाले मात्रै बुद्ध धर्म अनुसरण गर्ने गरेको देखिन्छ जबकी हिन्दु ७ लाख ५९ हजार ४६ जना रहेका छन् । यसरी लाखौं हिन्दु धर्मावलम्बी भएको जिल्लाको एक कुनामा रहेको लुम्बिनी आज संसारको पवित्र स्थल बन्नुको रहस्य सामाजिक सद्भाव नै हो ।
जहाँ हजारमा बौद्ध धर्मी भएता पनि बुद्धका अनुयायी भने लाखौं रहेका छन् । धार्मिक हिसाबले बुद्ध धर्म नमानेता पनि विभिन्न कोणबाट बुद्धप्रति नतमस्तक छ यहाँका जनता । यो तथ्य संसार भर लागु हुने गरेको छ । यसैले बुद्ध धार्मिक हिसाबले मात्रै नभएर दर्शनका हिसाबले परिचालित भइरहेको छ । बुद्ध दर्शनमा सबै भाषा, धर्मी, राजनीति, भूगोल, शिक्षा, जाति, लिंग अटाएका छन् । यसैले बुद्ध दर्शनको केन्द्र लुम्बिनी आज विश्व समानताको आधारस्तम्भ बनेर उभिरहेको छ । जहाँ सबै समान छन् ।
जसरी बुद्धका दुई आँखाले संसारका हरेक जीवलाइ समान देख्छ त्यसरी नै बुद्ध भूमिमा सबै समान हुनुपर्दछ । यदाकदा पदीय दायित्व निर्वाह गरेकाहरुले त्यो लागू गर्न नसकेको अवस्था छ । त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु पनि आजको आवश्यक्ता रहेको छ ।
शाक्य र कोलियहरुको आवतजावत मार्गमा पर्ने विश्राम स्थलको रुपमा रहेको बगैचालार्ई कालीय रानी रुपादेवीको नामले सम्बोधन गर्दै कालान्तरमा स्थानीय बासिन्दाहरुले रुम्बिनी देई, रुम्मिनी देई, लुम्बिनी र यसैबाट जिल्लाको नाम पनि रुपन्देही राखियो ।
यसरी वर्तमान लुम्बिनी रुपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगरदेखी २२ कि.मि.दक्षिण पश्चिम तराई क्षेत्रमा अवस्थीत छ । (गिरी, २०७३) यसरी लुम्बिनीको ऐतिहासीक नामको अपभ्रंस हुदै रुपन्देही जिल्ला बनेको पश्चिम नेपालको महत्वपुर्ण जिल्ला रुपन्देहीको ७ वटा निर्वाचन क्षेत्र मध्ये लुम्बिनी ७ नम्बर क्षेत्रमा पर्दछ । अहिले यो लुम्बिनी सांस्कृतिक नगरपालिका पनि भएको छ ।
जिल्ला वा नगरको नाम नै सोही क्षेत्रबाट निर्विवादित ढंगले रहनु, संघिय राज्यको नामकरणमा लुम्बिनी प्रदेश विवादहीन ढंगले प्रस्तावीत हुनुले देशमा लुम्बिनीले सामाजिक समनतामा खेलेको भूमिका प्रस्टै हुन्छ ।
दुःख, दुखःको कारण, दुखः निरोध र दुखः निरोधकोलागी विश्व समुदायलाई समनताको छहारीमा राखी आफ्नो चार आर्य सत्य र आष्टाङिग्क मार्ग मार्फत जुन प्रयासको थालनी बुद्धले गरेका थिए त्यहि कारण उनी, उनको जन्मभूमि लुम्बिनी आज संसारमै समनताको खातीर अग्रस्थानमा स्थापित हुँदैं गएको छ । समानताकै कारण शान्ति र समृद्धि कायम हुने परिकल्पना पनि पुरा हुँदै जाने निर्विकल्प हाम्रो सामु छ ।