logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ट्रक साहित्य : सभ्य की असभ्य


    ८ चैत्र २०७३ , मंगलबार

    ट्रक साहित्य : सभ्य की असभ्य

    लुम्बिनीखबर
    भैरहवा, चैत्र ८ । ट्रक साहित्यले महिला हिंसा गरिरहेको छ । यसलाई तत्काल हटाउनु पर्दछ । व्यवसायी प्रशासन तथा सरोकारवालाले तत्काल ध्यान दिओस भन्दै महिला अधिकारकर्मी ज्ञानु पौड्यालले भर्खरै सम्पन्न नारी दिवसको अवसरमा भैरहवामा आयोजित एक कार्यक्रममा आफ्ना भनाइहरु राखिरहँदा सबै आश्चर्य चकित भए ।

    सांसद, सिडिओ, एसएसपी सहित सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा  सहित पत्रकारहरुको उल्लेख्खय सहभागीता रहेको लुम्बिनीखबरद्वारा आयोजित सन्चार र संस्कृतिमा नारी सहभागीता विषयक कार्यक्रममा अवधारणा पत्र पेश गर्दै अधिकारकर्मी पौड्यालले त्यसो भनिरहँदा ट्रक साहित्य पढेर रोमाञ्चित हुनेहरु पनि सोचमग्न  हुन पुगे ।

    त्यसपछि ट्रक साहित्यले महिला हिंसा गरेको छ छैन भनेर सर्वदा चासोको विषय बन्यो । त्यसै प्रसंगमा ट्रक साहित्य खोज्दै जाँदा हामीले केही प्रतिनिधीमूलक ट्रकहरुमा लेखिएका रचनाहरु हेर्दा महिलाप्रति केहीमा घोचपेच त केहीमा सकारात्मक नै भएर लेखिएको देखियो ।

    ना ५ ख ३३० नम्बरको गाडीमा लेखिएको थियो ः गाडी हो छ चक्के, युरो थ्री, दाई चढे भाडा बहिनी चढे फ्री ।। यसैगरी अर्को ट्रकमा थियो आमाको बचन काट्नु हुदैंन, बुबालाई कहिले ढाट्नु हुदैंन । जन्मदिने आमाबुबा पन्छाएर, श्रीमतिको गाला चाट्नु हुदैंन ।।

    राजमार्गका सडकमा कुदिंरहेको ट्रक साहित्य खोज्दै जाँदा कतै गाली त कतै अश्लिल शब्दहरु पनि देखिए । कुनै त उल्लेख गर्न पनि नमिल्ने रहेछन् । त्यस्ता अश्लिल रचना पुर्व पश्चिम कुदिरहने सवारी साधनमा लेख्दा समेत प्रशासन मौन बसेको देख्दा अधिकारकर्मी पौड्यालले उठाएको आवजलाई अभियानको रुपमा  लानुपर्ने देखिएकोछ ।

    कुनै सवारी साधनमा लेखिएको थियोः मलाई छाडी जाने तिमी, तिम्रो भाग्य फुटोस् । लोकल रक्सी खाएर राति राति तिम्रो पोईले कुटोस ।।
    ट्रक साहित्यको सम्बन्धमा धेरै लामो इतिहास नभएता पनि इन्टरनेटको दुनियाँमा भने यसको पहुँच पुगिसकेको देखिएको छ । जसलाई विभिन्न व्यक्तिहरुले रोमाञ्चित हँुदै सामाजिक सन्जालमा शेयर समेत गरेका छन् ।

    सासु पनि ठीस, ससूरा पनि ठीस, छोरी भने वन पीस ।।,
    काठमाण्डौंका सुकुल गुण्डा, पोखराको गाइने,
    अचेलका केटिलाई ट्यापे केटा चाहिने ।।
    यसरी ट्रकहरुमा लेखिएको साहित्यले महिला हिंसा भयो भनेर भन्न नमिल्ने गाडी चालक बताउंछन् । ना ५ ख ४५४४ नम्बर ट्रकका चालक रमेश गैरेले भने “खै मेरो बुझाईमा त्यस्तो हिंसा भएको जस्तो लाग्दैन । ” ट्रकमा यस्तो सायरी कसरी र किन लेखिन्छ भन्ने सबालमा उनले भने “ट्रकहरुमा यस्तो सायरी लेखिनुको खासै कारण त छैन तर रमाइलोकोलागी नै हो । चालक सहचालकहरुले यस्तो सायरी लेख्न रुचाउँछन् । लामो यात्रामा मालवाहक सवारी लिएर हिड्दा थकाइ लागिरहेको बेला आफ्नो गाडीमा त हुन्छ नै अर्काको गाडीमा पनि लेखेको सायरी पढ्दा मन रोमाञ्चित भई थकानलाई कमी गर्न पनि सघाउँछ । ”


    तर नारी अधिकारकर्मीहरु भने ट्रक साहित्यले महिलाप्रति प्रहार गरेको जनाए । साहित्यकार तथा अधिकारकर्मी एल शर्माले भनिन् “पितृसत्तात्मक परिवारमा महिलालाइ हेप्ने प्रवृति परापुर्वकालदेखी नै चलिआएको हो । यो ट्रक साहित्य त्यसैको निरन्तरता हो । यस्ता उच्छङखृल, अश्लिल शब्दले भरिएको साहित्य साहित्य हुनै सक्दैन । यो त साहित्यको नाममा विकृति हो । यसले महिलाको मान मर्दन गरेको छ । यस्ता साहित्यलाई तत्काल हटाउनु पर्दछ । ”

    अधिकारकर्मी पौड्यालले महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था मिलेर ट्रक साहित्यमा महिला प्रति भएको छेडखानीलाइ तत्काल हटाउनुपर्ने जनाइन् । उनले भनिन् “कतिपय यस्ता सायरी लेखिएका हुन्छन् जुन पढ्न र उल्लेख गर्न पनि लाजमर्दो हुने गर्दछ । ” पौड्यालले भनिन् “ट्रकहरुमा लेख्ने नै हो भने सकारात्मक चिन्तनका, लैगिक समानताका , मानव बेचविखन विरुद्धका सृजना लेखिनु पर्दछ ।”

    ट्रक साहित्यमा कति सभ्य कति असभ्य शब्दावली छनौट भएका छन् त्यसका विषयमा बहस गर्नु जरुरी नै देखिएको छ । अहिलेको २१ औं शताब्दीमा सबै किसिमको विभेदको विरुद्धमा आवज उठिरहेको बेला महिलाप्रति लक्षित गरि सार्वजनिक हिसाबले हिंसा गरिनु कानुन विपरित नै देखिन्छ । यसर्थ महिलाहरुको अपमान नै हुनेगरी सवारी साधनमा लेखिएका साहित्य सृजना हटाउन सबैको हातेमालो जरुरी छ ।

    त्यसो त ट्रक साहित्यमा राम्रा पक्षहरुलाई पनि उल्लेख नगरिएका हैनन् । लु १ ख ११६८ नम्बरको ट्रकमा आफु पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने सन्देशमूलक सृजना उल्लेख छ । अर्को एक टिप्परमा भने श्रृंगार शैलीको हँस मत पगली प्यार हो जायगा भनेर लेखिएको थियो ।

    तराई मधेसमा चल्ने अधिकांश ट्रकहरुमा हिन्दीमा लेखिएका रचनाहरु भेटिन्छन् ।
    साहित्य सृजना समाजको सकारात्मक रुपान्तरणको लागी हुनेगर्दछ तर कहिलेकाँही साहित्यमै विभेद पनि देखिएको छ । पछिल्लो समय ट्रक, लरी, बस, पीकअप ,जीप लगायतका सवारी एवं मालबाहक साधनहरुमा लेखिएका वाक्यांशले नेपालमा महिलाप्रतिको दृष्टिकोण अझै फेरिएको हैन की भन्ने आशंका सृजना गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.