रुपन्देहीमा ५ सय ८५ जोडीले सम्बन्ध विच्छेद गर्दै
कमल रायमाझी
भैरहवा,३० चैत । रुपन्देहीमा सम्बन्ध विच्छेद गर्नेमा पुरुषभन्दा महिला अगाडि देखिएका छन् । पुरुष भन्दा महिलाहरु सम्बन्ध विच्छेदमा बढी आउने गरेको जिल्ला अदालत रुपन्देहीको सुचना शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७५ भदौबाट शुरु भएको नयाँ कानुन देवानी संहितामा पुरुष पनि सिधै अदालतमा सम्बन्ध विच्छेदका लागि जान पाउने व्यवस्था अनुसार पुरुष महिला दुबैले अदालतबाट सम्बन्ध विच्छेद दर्ता गर्न पाउने प्रकृयामा महिलाहरु अगाडि देखिएको जिल्ला अदालत रुपन्देहीको रेकर्डमा देखिन्छ ।

यो आर्थिक वर्षको चैत मसान्तसम्मको रेकर्ड हेर्ने हो भने जिल्ला अदालत रुपन्देहीमा ५ सय ८५ जोडीले सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गरेका छन् । जसमा महिलाहरुले पुरुषको तुलनामा दोव्बरको संख्यामा सम्बन्ध विच्छेद गर्न अदालतसम्म आइपुगेको रेकर्डमा देखिन्छ ।
आर्थिक वर्षको यो आठ महिनामा १ सय ८७ पुरुषहरुले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता गर्न आएका छन् । यो आर्थिक वर्षको ९ महिनामा सम्बन्ध विच्छेद गर्न आउने महिलाहरुको संख्या भने ३ सय ९८ रहेको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार नेत्र प्रसाद भुसालले जानकारी दिए । जसमा पुरुषभन्दा २ सय ११ सम्बन्ध विच्छेदका मुद्धा महिलाको बढी परेको हो ।
सम्बन्ध विच्छेद गर्नका लागि पुरुषहरुलाई पनि कानुनले सिधै अदालत जान पाउने व्यवस्था गरेपछि सम्बन्ध विच्छेद गर्नेमा पुरुषहरुको संख्यामा केही वृद्धि भएको हो । विगतमा भने पुरुषहरुले सम्बन्ध विच्छेदका लागि अदालत जान पाउने व्यवस्था नहँुदा महिलाहरुले मात्र अदालत पुगेर सम्बन्ध विच्छेद गर्ने गर्दथे ।
समाज रुपान्तरसंगै महिला पुरुष बिचमा हुने सम्बन्ध विच्छेदको संख्यामा समेत वृद्धि हँुदै गएको छ । जसका कारण परिवार तथा समाज बिखण्डनको दिशातिर उन्मुख भएको समाजशास्त्रीहरुले बताउँछन् ।
समाजशास्त्री शान्ती अधिकारीले समाजमा सम्बन्ध बिच्छेदको घटना बढ्नुमा कानुनमा महिलाहरुलाई सहजता थपेकाले भएको बताउँछिन् । उनले केहि सचेत महिलाहरुले कानुनको सहजतालाई दुरुपयोग गर्दा समेत सम्बन्ध बिच्छेदको घटना दैनिक रुपमा बढिरहेको लुम्बिनीखवर संगको कुराकानीमा बताइन् । पुरुषहरु धेरै मात्रामा वैदेशिक रोजगारमा जानाले र महिला प्रति दमन गर्नाले पनि महिलाहरुमा असन्तुष्टि बढाएकाले सम्बन्ध बिच्छेद बढेको समाजशास्त्री अधिकारीको धारणा रहेको छ ।