लुम्बिनीखबर
भैरहवा, २२ कात्तिक । दीपावलीको सांस्कृतिक रौनकसँगै स्थानीय उत्पादन, रैथाने खानाका परिकार तथा व्यावसायिक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित शुक्रपथमा आयोजित महोत्सवको शुक्रबार साँझ नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा नगरप्रमुख पाण्डेयले बुटवलको गौरवपूर्ण इतिहास र बुटवल उद्योग वाणिज्य संघको व्यावसायिक विरासतलाई स्मरण गर्दै सहरको आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बुटवलको व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गर्नुभयो ।
औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि उपमहानगरपालिकाले फरक सोच र प्राथमिकतासहित काम गरिरहेको बताउँदै उहाँले मोतीपुर औद्योगिक क्षेत्र स्थापना तथा बुटवल–१५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउनुका साथै आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । बुटवल समयअनुसार डिजिटल प्रविधिमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले प्रविधिको विकास र बजारको मागअनुसार आफूलाई रूपान्तरण गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभयो ।
संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, रैथाने खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले दीपावलीको सांस्कृतिक महत्त्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन महोत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको उल्लेख गर्नुभयो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालित महोत्सव कात्तिक २२ गतेसम्म अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका ५० वटा स्टल राखिएका छन् ।
महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्रीको प्रदर्शनी तथा बिक्री भइरहेको छ । खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमसमेत समेटिएको महोत्सवको पहिलो दिन स्थानीय ब्यान्डको प्रस्तुति रहेको थियो । दोस्रो दिन देउसीभैलो प्रतियोगिता तथा तेस्रो दिन राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति आयोजना गरिने आयोजकले जनाएको छ ।