इलुम्बिनीखवर
भैरहवा, २२ माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा बुधवार बुटवलमा सम्पन्न भएको छ । साधारणमा सभाले स्वच्छ पत्रकारिता र श्रमजिवि पत्रकारकारहरुको पक्षमा काम गर्ने जनाएको छ । साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको सुरक्षा, रोजगार र जिवन निर्वाहका लागि महासंघ केन्द्रले काम गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देही
उनले जनताको पक्षका कलम चलाउन पत्रकार निडर र निपष्क्ष भएर लाग्न समेत आग्रह गरे । राष्ट्र र राष्ट्रियताका पक्षमा नेपाली पत्रकारीता जगत सधै अग्रपंतीमा रहेर काम गरिरहेकाले यसलाई व्यवस्थित रुपमा अगाडी बढाउनु पर्ने समय आएको मन्तव्यका क्रममा अध्यक्ष आर्चाय बताए ।
साधारणसभामा आफ्नो मन्तव्यका क्रममा अध्यक्ष आचार्यले नेपालमा जनताको आवाज दिने पहिलो सामाजिक संस्था नेपाल पत्रकार महासंघ भएकाले यसले गरिव, दुःखी र असाहयको आवाज बुलन्द गराउनु पत्रकारहरुको कर्तव्य भएको बताए ।
अध्यक्ष आचार्यले पत्रकार महासंघ महिला, दलित, जनजाती र मधेशीको प्रतिनिधित्व गर्ने पहिलो साझा संस्था भएकाले यसको मर्म नै सवै पक्षको साझा संस्थाको रुपमा पत्रकार महासंघलाई विकास गनु रहेको बताए । उनले पत्रकारलाई श्रृजनशिल र अध्ययनशिल बनाउन पनि महासंघले प्रकृया चालेको जानकारी दिए ।
कार्यक्रममा महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहालले पत्रकार महासंघ श्रमजिवि पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारको मर्म र भावना संग महासंघ जोडिएको बताए ।
उनले नेपालमा पत्रकारिता जगत न्याय र जनताको पक्षमा लाग्ने भएकाले संविधानको विपरित हुने कार्यको महासंघ सधैव विरोधमा लाग्ने जनाए ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जि.सी.को अध्यक्षतामा भएको साधारण सभामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशी, संविधानसभा सदस्य बिनोद पहाडी, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, महासंघका पुर्व अध्यक्ष डिआर घिमिरे, सल्लाहकार हरी लम्साल, सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पश्चिमाञ्चल यातायात व्यवसायी प्रालीका अध्यक्ष यमप्रसाद पाण्डे, रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली लगाएको सहभागिता रहेको थियो ।साधारणसभाले सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।