
इ-लुम्बिनीखबर
भैरहवा, माघ २२
संवैधानिक आयोगका पदाधिकारीहरु असंवैधानिकरुपमा नियुक्त गरी सपथ ग्रहणसमेत गराइएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालको प्रभाव रुपन्देहीमा आंशिक परेको छ । रुपन्देहीका मुख्य सहरहरु बुटवल, भैरहवा, देवदह, सैनामैना, धकधई, लुम्बिनीमा बन्दको प्रभाव केही मात्रामा परे पनि ग्रामीण इलाकामा भने बन्दकर्ता नदेखिएको प्रहरीले जनाएको छ ।
बुटवलमा युवा नेता राजु गुरुङको नेतृत्वमा बन्दकर्ताले टायर बालेर विरोध जनाएका थिए । लुम्बिनी प्रदेशको मुकामसमेत रहेको बुटवलमा जिल्लाको अन्यस्थानमा भन्दा आम हड्तालको प्रभाव केही बढी देखिएको छ । यद्यपि निजी सवारी मोटरसाइकल भने निर्वाधरुपमा चलेका छन् । भित्री सडकहरुमा इरिक्सा, चारपांग्रे साना गाडीहरु पनि भलिरहेका छन् । भैरहवा क्षेत्रमा पनि निजी सवारी चलेका छन् । बुटवलका चोकहरुमा बन्दकर्ता भए पनि भैरहवामा भने खासै देखिएनन् ।
भैरहवा प्रचण्ड–माधव समूहका नेताहरु डार्विन रोका, जीवलाल अर्याल, कमला थापा, राम बहादुर बस्नेत, चोपलाल आचार्यलगायत केही समय सडकमा निस्किएर बन्द गराए पनि उनीहरु पनि धेरै समय बसेनन् । यसले गर्दा भैरहवामा भित्री र मुख्य सडकमार्गमा रहेक केही किराना तथा खाद्यान्न पसल तथा होटलहरु खुलेका छन् । बैंक तथा वित्तीय संस्था पनि खुल्ला रहे । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी रुपन्देहीमा ठप्प रहे ।
यस्तै, विद्यालय तथा उद्योग कलकारखाना पनि ठप्प भएका छन् । बन्दका कारण भन्सार नाकामा सयौं गाडी रोकिएका छन् । यातायात लगायत शैक्षिक क्षेत्र र उद्योग कलकारखाना बन्द रहे पनि जिल्लामा आम हड्ताल शान्तिपूर्ण रहेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए । दिउँसो ४ बजेसम्म जिल्लामा कुनै किसिमको अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । अन्य स्थानमा सवारी तोडफोड र झडपसमेत भए पनि रुपन्देहीमा बन्दकर्ताले शान्तिपूर्णरुपमा बन्द गरिरहेका छन् ।