पशुपती यादव
धकधई ,२९ फागुन । जिल्लाको पुर्व दक्षिण क्षेत्रमा रहेको रोहिणी गाउँपालिका स्थानिय सरकारको गठन संगै विकासको गतिमा अगाडी बढेको छ ।

स्थानिय तहको निर्वाचन संगै सुरुभएको विकास र समृद्धीको कामहरु अगाडी बढेपछि जनमानसमा समेत खुसियाली छाएको देखिन्छ । जनप्रतिनिधिहरु जनताको समस्या समाधानमा सधै अग्रसर भएपछि विकास र समृद्धीले गति लिएको हो ।
हिजो विकासको गन्ध समेत पाउन नसकेका यस गाउँपालिकामा अहिले विकास र समृद्धीले सहजता थपेको छ ।
स्थानिय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि रोहिणी गाउँपालिकामा कृषिका सहयोग, पिच बाटाको निर्माण, खानेपानी, शिक्षा, मदरसा शिक्षाको संरक्षण स्वास्थ्य, रोजगार, धर्मसस्कृतीको संरक्षण, उज्यालो रोहिणी अभियान, खेलकुद र स्थानिय कला संरक्षण भएको स्थानिय बासिन्दाहरु बताउँछन् ।
दलित, मुस्लिम तथा गरिवहरुको पक्षमा समेत गाउँपालिकाले काम गर्न थालेपछि स्थानिय बासिन्दाहरुमा विकासको अनुभुति भएको स्थानियहरु बताउछन् ।
रोहिणी गाउँपालिका स्थानिय रमजान जोल्लाहले आफ्नो गाउँपालिकामा स्थानिय सडकहरु कालोपत्रे, ग्राभल भएको, सिभिल इन्जिनरिङ जस्ता प्राविधिक शिक्षा स्वार्थ, पठनपाठन हुन सुरुभएको, मदरसा शिक्षाको संरक्षण गरिएको भन्दै स्थानिय जनप्रतिनिधिको प्रंशसा गरे ।
उनले गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको निष्पक्षता व्यवहारका कारण समुदायस्तरमा समेत विकास र समृद्धी आएको आफुहरुलाई महसुस भएको बताए ।
गाउँपालिकाले पजकट्टी, पिपरहवा, छिपागढ र बगहामा लाई उच्च माध्यामिक शिक्षा अध्ययन गराउन जनशक्ती र आर्थिक सहयोग गरि सञ्चालन गरेको छ । स्थानिय सोमनाथ कहाँरले भने, “ गरिव तथा जेहेन्दार विद्यार्थीहरुको पहिचान गरि साइकल तथा ल्यापटक समेत गाउँपालिकाका अध्यक्ष यादवले सहयोग गरेका छन् । गाउँपालिकास्तरमा शिक्षालाई गुणस्तर बनाउनका लागि ३२ जना शिक्षक नियुक्ती समेत गरेको कहाँरले बताए । क्रिकेट, भलिवल, कबडी, फुटवल र रसाकस्सी खेलको विकासमा समेत गाउँपालिकाले सहयोग गरेको देखिन्छ ।
स्वास्थ्यमा समेत गाउँपालिकाले महत्वपुर्ण कामहरु गरेको स्थानिय वासिन्दाहरु बताउछँन् । बोधवार र वगाह स्वास्थ्य केन्द्रमा प्राविधिक र दक्ष जनशक्ती नयाँ व्यवस्थापन गरि बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । धकधई स्वास्थ्य केन्द्रमा ल्याव, एक्सरे, भिडियो एक्सरे, बर्थिङ सेन्टर र एम्बुलेन्सको व्यवस्थापन गरिएको देखिन्छ ।
त्यस्तै कृषिमा गहुँ र धानको विउमा ५० प्रतिशत अनुदान, सिचाईको व्यवस्था, कृषि उपकरणमा ५० प्रतिशत अनुदान, तरकारी खेती गर्ने कृषकको मनोवल बढाउन रु २० हजार बार्षिक सहयोग , माछापालनका लागि प्रति कठ्ठाको जलायस पोखरी निर्माणमा लागि रु १० हजार सहयोग गाउँपालिकाल गर्ने गरेको स्थानिय कोइल देवानले बताउँछन् । जसका कारणले कृषिक्षेत्रमा समेत रोहिणीले ठुलो फड्को मारेको पाइन्छ । पशुपालन कृषकलाई उन्नत जातको घासको व्यवस्था, चाप कटर औजारको सहयोग गरेको छ ।
शहरउन्मुख धकधई बजारलाई व्यवस्थित र सुन्दर बनाउने अभियान रोहिणी लागेको छ ।
बजार क्षेत्रमा बृक्षा रोपण, सुरक्षाका लागि सिसि क्यामरा जडान, सोलार बत्ती जडान, फोहोर मैलाको व्यवस्थापनको सुरुवात गरिएको स्थानियहरु बताउँछन् । गाउँपालिकाले गरिव, दलित, विपन्न, एकल महिला र बृद्ध समेतलाई सामाजिक साहयता कार्यक्रम मार्फत सहयोग गरेको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले रोहिणीलाई व्यवस्थितरुपमा विकास गर्न जनप्रतिनिधिहरु एकतावद्ध रुपमा लागेको बताउँछन् । उनले गाउँपालिको विकास आफुहरुको साझा स्वार्थ भएकाले सवैको सहयोग र सहकार्यमा अगाडी बढ्ने काम जनप्रतिनिधि र कर्मचारी लागेको जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले समाजका विकास र समृद्धीको आधार तयार गर्न केहि समय लागेको भएपनि अहिले रोहिणीको बस्ती बस्तीमा आफुहरुले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, शिक्षा, कालोपत्रे बाटो, खानेपानीको व्यवस्था गरेको बताए । उनले गाउँपालिकालाई आज विकासको मार्गमा आफुहरु जनप्रतिनिधिको रुपमा आएपछि हिडाउने प्रयास गरेको बताउँदै जनतालाई केन्द्रमा राखेर काम गरेको सुनाए ।