मनोज क्षेत्री
भैरहवा, १८ साउन । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित सिद्धार्थ बालगृहमा खीर खुवाउनुको साथै बालगृहलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । ग्रीन सिटीले बालगृहलाई ६० हजार बराबरको खाद्यान्न तथा मायादेवी गाउँपालिकाले ग्रीन सिटीमार्फत बालगृहलाई १० हजार रुपैयाँ हस्तान्तरण गरेको क्लवका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले लायन्स ग्रीन सिटीले गरेको कामको प्रशंसा गर्दै बालगृहलाई आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।
विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एडभाइजर ओम कुमार श्रेष्ठले लायनिजमको उद्देश्य ग्रीन सिटीले पुरा गरेको बताउँदै समाजसेवामा निरन्तरताको लागि सुझाव दिए ।

लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२१÷२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरीले सामाजिक कार्य गर्दै मानवीय कार्यमा समेत लायन्स ग्रीन सिटीले स्थानीय सरकारसंग सहकार्य गर्दै जाने बताए । उनले भाडाको घरमा बालगृह सञ्चालन भएकोले बालगृहका लागि जग्गा उपलब्ध भए भवन बनाउन यहाँका संघ–संस्थाहरुले सहयोग गर्ने बताए ।
लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष गोबिन्द प्रसाद गिरीको अध्यक्षता, निरज शाक्यको संयोजकत्व तथा सचिव थानेश्वर पाण्डे (प्रकाश)को कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा लायन्स डिष्ट्रिक प्रोग्राम नेत्र प्रसाद आचार्य, तथा ग्रिनसिटीका क्लव सदस्यहरुको सहभागिता रहेको क्लवका सदस्य लक्ष्मी थापाले बताए । सोही कार्यक्रममा क्लबमा आबद्ध महिला सदस्यहरुले बालगृहमा रहेका बालिकाहरुलाई मेहेन्दी समेत लगाइदिएका थिए ।