पशुपति यादव
धकधई, भदौ २० । भैरहवा परासी खण्डमा पर्ने रोहिणी करिडोरका उद्योगहरु डुबानको समस्यामा परेका छन् । कोभिडको मारमा परेका उद्योगहरुमा पुनः वर्षात्का कारण आएको बाढीले संकटमा परेको उद्योग व्यवसायीहरु बताउँछन् ।
यस करिडोरका उद्योगहरु डुबानमा पर्दा करोडौँ मूल्य पर्ने मेशीनरी सामान, उद्योगका कच्चा पद्धार्थ, तयारी सामानहरु बिग्रिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।
रोहिणी करिडोरमा खाद्यान्न, प्लास्टिक, आइरन, स्टील, कारपेट लगायतका उद्योगहरुमा बढी क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपक पौडेलले जानकारी दिए ।
यस क्षेत्रमा लगभग पाँच दर्जन साना ठुला उद्योगहरु संचालनमा रहेका छन् । र केहि निर्माणाधिन अवस्थामा छन् । सबै उद्योगमा धेरै थोरै क्षति पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।
रुपन्देहीमा बढ्दो औद्योगीकरणका कारण विकासको बाटोमा रहेको रोहिणी करिडोरमा राज्यले उचित व्यवस्थापन नगर्दा उद्योगीहरुलाई यो वर्षको बाढी र डुवानले ठुलो क्षति पुर्याएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले बताए ।
न्यौपानेका अनुसार जिल्लाको बुटवल भैरहवा करिडोर, भैरहवा लुम्बिनी करिडोर लगायत अन्य क्षेत्रमा समेत बाढी र डुवानले ठूलो क्षति पुर्याएको छ ।
भदौ १० र ११ गतेको अविरल वर्षाले मुख्यतः रुपन्देहीका ठूला उद्योगहरु पञ्चकन्या समुह, जगदम्बा ग्रुप, गोयन्का ग्रुप, सिद्धार्थ ग्रुपबाट सञ्चालित उद्योगहरुमा करोडौको क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कोभिडका कारण समस्या ग्रस्त उद्योगहरु वर्षा र बाढीले डुवानमा पर्दा अर्थतन्त्रमा समेत असर परेको छ । उत्पादन मुलक क्षेत्रमा रहेको उद्योगहरु कोभिड र डुवानको भरमा पर्दा मूल्य वृद्धि समेत हुन सक्ने व्यवसायीको अनुमान रहेको छ ।
उद्योगहरुलाई यसरी परेको समस्या सरकारले बुझ्नुपर्ने, क्षतिको विवरण संकलन गरी सहयोग गर्नु पर्ने माग व्यवसायीहरुको रहेको छ । उद्योग सञ्चालनका लागि संकटको बेला ब्याज मिनाहा, विद्युत महसुलमा मिनाहा, भन्सारमा सहुलियत, करमा मिनाहा गर्नुपर्ने माग सिद्धार्थ उद्योग वाणिज्य संघको छ ।
यसकारण देशको अर्थतन्त्र सबलीकरण र गुणस्तरलाई ध्यान दिनका लागि औद्योगिक गुरुयोजना निर्माण गरी अगाडी बढ्नु पर्दछ ।
उद्योगहरु स्थापना भएको क्षेत्रलाई सडक, खानेपानी, ढल निकास, विद्युत जस्ता प्राप्त पूर्वाधारहरु राज्यले गर्न आवश्यक छ । उद्योगीहरुले पनि दिर्घकालीन सोचका साथ उद्योगहरु स्थापना गर्नुपर्दछ । यस्तो व्यवस्था र व्यवस्थित सोचका साथ उद्योगहरु स्थापना र सञ्चालन गर्न आवश्यक देखिन्छ ।