धकधई । जिल्लाको रोहिणी गाउँपालिकामा बाढीबाट प्रभावित भएका ७० परिवारलाई नेपाल रेडक्रस सोसाइटी धकधई उपशाखाले राहत वितरण गरेको छ ।
गत केही साता अघि भएको अविरल वर्षाका कारण प्रभावित भएका रोहिणी गाउँपालिका वडा नम्बर २, ३, ४, ५ र ६ का उक्त परिवारहरुलाई त्रिपाल, कम्बल, बाल्टी, मास्क, मग, झुल लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको सहयोग तथा धकधई उपशाखाको आयोजनामा भएको राहत वितरण कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अविरल वर्षाका कारण रोहिणीका प्रभावित परिवारलाई रेडक्रसले गरेको सहयोग प्रशंसनीय रहेको बताए ।
उनले बाढी प्रभावित परिवारका लागि रेडक्रसले गर्दै आएको राहत वितरण कार्यक्रममा आफु पनि गत १४ गतेदेखि निरन्तर सहभागी हुँदै आएको बताउँदै, विपदका बेला रेडक्रसले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
रोहिणी गाउँपालिकाको प्रत्येक वडाको बाढी प्रभावित गाउँ तथा परिवारहरुको प्रत्यक्ष अनुगमन गरि गत भदौ १२ गतेदेखि राहत वितरण कार्यक्रमलाई तिब्रता दिएको नेपाल रेडक्रस धकधई उपशाखाका सभापति अनिल कुमार कौशलले जानकारी दिए । हालसम्म रोहिणी गाउँपालिकाका करिब ३०० सय बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको उनले बताए ।
नेपाल रेडक्रस सोसाईटी धकधई उपशाखाका सभापति अनिल कुमार कौशलको अध्यक्षता एवं रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा रेडक्रस उपशाखाका सह–सचिव मदन पोखरेल, संचारकर्मी बिबेक बिश्वकर्मा, संजय गुरुङ, नेपाल रेडक्रस धकधई उपशाखाका पदाधिकारी र विभिन्न समाजसेवी व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रमको संचालन धकधई उपशाखाका सचिव पशुपति यादवले गरेका थिए ।