भैरहवा । ओमसतिया गाउँपालिकाले एक कार्यक्रमका बीच अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरेको छ । ओमसतिया गाउँपालिका शिक्षा शाखा समितिको आयोजनामा भएको अन्तराष्ट्रिय साक्षरता एवम् राष्ट्रिय शिक्षा दिवस कार्यक्रममा अवकाश भएका शिक्षकहरुलाई सम्मान गरिएको हो ।
ओमसतिया गाउँपालिकाका उपाध्यक्ष एवम् शिक्षा शाखा संयोजक सुन्दरमती हरिजनले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा निति ल्याएता पनि व्यवहारमा लागु हुन नसकेको बताइन् । उनले शिक्षा क्षेत्र नभए मानव अस्तित्व नै अन्धकारमय हुने कुरा बताउँदै कोभिडका कारण विगत लामो समयदेखि बन्द रहेको शैक्षिक संस्थाहरुमा भौतिक रुपमा पठनपाठन शुरु गर्नुपर्ने बताइन् । ‘लकडाउन पछि शुरु हुन गइरहेको भौतिक पठनपाठनमा निरन्तरता ल्याउन विद्यालयहरु स्वयम् क्रियाशिल भएर लाग्नुपर्छ’, उनले भनिन् ।
त्यस्तै ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले सामुदायिक शैक्षिक क्षेत्रमा सरकारले लगानी गरेअनुसारको नतिजा प्राप्त हुन नसकेको भन्दै आपत्ति जनाएका थिए । उनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
गत २ वर्षदेखि गाउँपालिकाले निरन्तरता दिदै आएको अवकाश प्राप्त शिक्षक सम्मान कार्यक्रममा यो वर्ष श्री ओमसतिया आधारभुत विद्यालयका राधेश्याम निषाद, श्री पटखौली माध्यमिक विद्यालयका मोहम्मद तर्जुमा, अशोक चौधरी, श्री जनजगृती माध्यमिक विद्यालयका प्रदिप श्रेष्ठ, श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्याालयका शिव प्रसाद सापकोटा र शुशिला धितेललाई सम्मान गरेको हो ।
शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय प्याप्सन प्रतिनिधि राजकुमार गुरुङ र विद्यालयका प्राध्यापक लगायतले मन्तव्य राखेका थिए ।
साथै गाउँपालिकाले विगत तीन महिनादेखि बन्द रहेको शैक्षिक संस्थाहरु भदौं २७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रिय सरकारले कारोनाको जोखिमको परिस्थति अनुसार स्थानिय सरकारले स्वयम् विद्यालय सञ्चालन गर्ने निर्णय लिन सक्ने अनुमति दिएको हुँदा सोही अनुसार पालिकाभर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको शिक्षा शाखा प्रमुख तथा सूचना अधिकारी हरि प्रसाद पोखरेलले बताए ।