भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब र संचारमाध्यमबीच सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिइएको छ । लायन्स अगुवा र संचारकर्मीबीच आईतबार भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सधै समाज रुपान्तरण र सेवामा खटिने लायन्स र संचारकर्मीबीच सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिएका हुन् ।
लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लायन्स डिस्ट्रिक ३२५ बी टु नेपालका गभर्नर लायन्स रामप्रसाद भट्टले लायन्सका हरेक क्रियाकलापलाई संचारमाध्यमले प्राथमिकता दिएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । ‘हाम्रो उद्देश्य समाज रुपान्तरणको हो, गरिब–दुखीको सेवा हो’, उनले भने, ‘हामीले गरेका सकारात्मक गतिविधिलाई स्थान दिँदै जानुभएको छ । आगामी दिनमा यसलाई निरन्तर गर्र्नुहुन सबैलाई आग्रह गर्छु ।’ उनले सामाजिक क्षेत्रमा संचारमाध्यमले उठाएका विषयवस्तुलाई लायन्स क्लबहरुले चासोसाथ हेर्ने र आवश्यक ठाउँमा सहयोग गर्दै आएको बताए ।
लयान्स इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले यस क्षेत्रका पत्रकारहरु र लायन्सबीच सधै सकारात्मक सम्बन्ध रहेको जनाउँदै लायन अभियानलाई सार्थकता प्रदान गर्न संचारमाध्यमले ठूलो टेवा पुर्याएको बताए । आउँदा दिनहरुमा लुम्बिनी प्रेस क्लबसँग सहकार्य गरी समाज सेवामा लायन्सका सदस्यहरु लाग्ने
सामाजिक सेवा लायन्स पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना
यसैबीच लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले लुम्बिनी प्रेस क्लबको सहकार्यमा ‘सामाजिक सेवा लायन्स पत्रकारिता पुरस्कार अक्षयकोष’ स्थापना गरेको छ । एक लाख राशीको उक्त अक्षयकोषबाट प्रत्येक वर्ष सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान गरिने अध्यक्ष गिरीले बताए ।
अक्षयकोष स्थापनाका लागि आइतबार ग्रिन सिटी अध्यक्ष गिरी र प्रेस क्लब अध्यक्ष केसीबीच सम्झौता भएको छ । कार्यविधि बनाएर प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गरिने छ । ग्रिन सिटीले प्रेस क्लबलाई अक्षयकोषवापतको एक लाख रुपैयाँको चेक हस्तान्तरणसमेत गरेको छ ।
नयाँ लियो क्लब स्थापना
भैरहवामा नयाँ लियो क्लब स्थापना भएको छ । नरेन्द्र केसीको अध्यक्षतामा क्लब स्थापना भएको हो । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीको स्पोन्सरमा क्लब स्थापना भएको अध्यक्ष गिरीले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा सृष्टि पन्थी, द्वितिय उपाध्यक्षमा रमेशजंग बस्नेत, तृतिय उपाध्यक्षमा सुभाष पौडेल, सचिवमा अस्मिता केसी, कोषाध्यक्षमा एलिना आचार्य, सह–सचिवमा अंकित गुप्ता र सह-कोषाध्यक्षमा प्रमिश थापा छन् । यस्तै, सदस्यहरुमा सीमाना न्यौपाने, सरोज केसी, दीलिप रायमाझी, मोहन क्षेत्री, असिम जिसी, केशव जिसी लगायत छन् ।
लुम्बिनी प्रेस क्लबको भवन निर्माणमा सहयोग गर्ने
यसैबीच लायन्स क्लबले लुम्बिनी प्रेस क्लबको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । लयान्स इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले यहाँ आयोजित कार्यक्रममा क्लबको एउटा फल्याट निर्माणमा लायन्स क्लबहरुले संयुक्त सहयोग गर्ने बताए ।
क्लबको मायादेवी गाउँपालिका-८ स्थित लुम्बिनीरोडमा भवन निर्माणाधीन छ । लायन्सहरुको सहकार्यमा निर्माणाधीन भवनको फल्याटको सम्पूर्ण काम गरिने न्यौपानेले बताए । कार्यक्रममा संयोजक रोशन शर्माले स्वागत, कार्यक्रममाथि श्री बहादुर रायमाझी प्रकाश पारेका थिए भने ध्वजा अभिवादन विना पौडेल र संचालन थानेश्वर पाण्डेले गरेका थिए ।