भैरहवा । १५ औँ विश्व रेविज दिवसको अवसरमा भैरहवामा सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ तारिखमा मनाइने विश्व रेविज दिवसलाई लक्षित गर्दै बुधबार रेविज सप्ताह-२०७८ शुरु भएको हो ।
इन्टरनेशनल भेटेरिनरी स्टुडेण्ड एशोसिएशन (आइभीएसए) पक्लिहवा र भैरहवा आसपासमा सक्रिय रहेका रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको संयुक्त आयोजना तथा एस एग्रीकल्चरको सहयोगमा उक्त रेविज सप्ताह शुरु गरिएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका अध्यक्ष दिक्षा सुनारले बताइन् ।
उनले घरमा सुरक्षाका लागी पालिने पशुहरुको स्वास्थ्य अवस्थाबारे ध्यान नदिँदा तथा चेतनाको अभावमा हुने गरेको विभिन्न घटनाहरु न्युनिकरणका लागि उक्त रेविज सप्ताह गर्न लागिएको जानकारी दिइन् ।
सप्ताहको पहिलो दिन सिद्धार्थनगर नगरपालिका-३ स्थित ब्राइट स्टार स्कुलमा गरिएको रेबिज विरुद्ध जनचेतनामूलक कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत ९० विद्यार्थीहरुलाई रेबिज हुने कारण, रेबिजको लक्षण र यसबाट बच्न अपनाउनुपर्ने सावधानी लगायतका कुराहरु सिकाइएको थियो ।
कार्यक्रममा ब्राइट स्टार स्कुलका प्रबन्ध निर्देशक अमित यादव, प्रिन्सिपल एल. बी. रौतार, इन्टरनेशनल भेटेरिनरी स्टुडेण्ट एशोसियशन (आइभीएसए) नेपालका अध्यक्ष आशिष अधिकारी, रोट्रयाक्ट क्ल्ब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष बिनिता पोखरेल, रोट्रयाक्ट सेन्ट्रल बौद्ध ल्याण्डका अध्यक्ष दीक्षा सुनार, रोट्रयाक्ट क्लब अफ भैरहवाका प्रथम उपाध्यक्ष अंकित पौडेल, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीका अध्यक्ष निखिल खत्री, आइभीएसए पक्लिहवाका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रमहरु :
• सेप्टेम्बर २२ तारिख (पहिलो दिन)- स्कुलमा रेबिज रोगबारे सचेतना कार्यक्रम ।
• सेप्टेम्बर २३ तारिख (दोस्रो दिन)- रेडियोहरुमा रेबिज रोगबारे सामाग्री प्रसारण ।
• सेप्टेम्बर २४ तारिख (तेस्रो दिन)- रेबिज रोगबारे अनलाईन अनुच्छेद लेखन प्रतियोगिता ।
• सेप्टेम्बर २५ तारिख (चौथो दिन)- सामाजिक सञ्जालका माध्यमबाट रेबिज रोगबारे सचेतना फैलाउने ।
• सेप्टेम्बर २६ तारिख (पाचौं दिन)- रेबिज क्वीज २०२२
• सेप्टेम्बर २७ तारिख (छैठौं दिन)- बृहत् र्याली, सडक नाटक तथा रेबिज रोगबारे सामुदाय स्तरमा सचेतना फैलाउने ।
• सेेप्टेम्बर २८ तारिख (अन्तिम दिन)- कुुुुकुुरहरुलाई रेबिज विरुद्धको बृहत् सामुहिक खोप लगाइने, छाडा कुकुरहरुको घाँटीमा टल्किने कागज लगाइने, अनुच्छेद लेखनमा उत्कृष्ट भएकालाई पुरस्कृत गरिने तथा सप्ताहव्यापी कार्यक्रमको समापन ।