
बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा भोलि बिहिबार देखि दशैं सस्तो बजार सुरु हुने भएको छ । उद्योग वाणिज्य संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापना देखि ५ दिन सम्म सस्तो बजार सञ्चालन हुने संघले जनाएको छ ।
दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यवस्था सहित साल्ट ट्रेडिङ्, दुग्ध विकास संस्थाका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने छन् । दशैं सस्तो बजारका संयोजक एवं संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद) का अनुसार एक वस्तुको एउटा मात्रै स्टल राखिनेछ ।
दशैं सस्तो बजारमा राखिएका वस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराईने संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले जानकारी दिए । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष हुन सकेको थिएन ।
यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताए । अहिले सञ्चालन गर्न लागिएको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामाग्रि, मसला, माछा मासु लगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ ।