logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    पानीले धानसंगै किसानको भविष्य डुबायो


    ८ कार्तिक २०७८ , सोमबार

    पानीले धानसंगै किसानको भविष्य डुबायो

    जितेन्द्र चौधरी
    भैरहवा । एक साता अघिसम्म रुपन्देही लगायत तराईका किसानहरु सुनजस्तै लहलह झुलेका धानका बाला देखेर निकै उत्साहित थिए । धेरै जसो किसानहरु पाकिसकेको धान काटेर समयमै थन्काउने र तरकारी खेतीमा लाग्ने योजना बुनेका थिए तर ती किसानहरुका सपना एकै रातमा चख्नाचुर भयो । धान रोप्ने बेलामा मौसम अनुकुल थियो र किसानहरु उत्साहित थिए तर भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले उनीहरुको मेहनत र सपना पुरै डुबायो ।

    दशैमा रमाई रहेका किसानहरुलाई अनुमान नै थिएन शरदीय मौसममा पनि यति ठुलो पानी पर्छ र लहलह खेतमा झुलिरहेका सुनौला धानका बाला डुबानमा पर्छन् भन्ने । बेमौसमी वर्षाले तराईका अधिकांस किसानहरुका ६ महिनाको मेहनत मात्र खेर गएन वर्षभरिका आयस्रोत नै डुब्यो । असार महिनामा जेनतेन रोपेको धान कार्तिक महिनामा काटेर भित्र्याउनै लाग्दा भएको बेमौसमी वर्षाको कारण धान बालीमा पुगेको क्षतिले किसानहरुको रुवाबासी चलेको छ ।

    वर्षभरि खानलाई असार महिनाको टन्टलापुर घाममा पसिना चुहाएर रोपेको धान काटेर भित्र्याउनै लाग्दा वर्षाले धान खेतमै कुहिन थालेपछि किसानहरुलाई अब के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ । साथै अन्नबाली आयको प्रमुख स्रोत भएका किसानहरुलाई हातमुख जोर्न अब गाह्रो हुने हो कि भन्ने चिन्ता पनि छ । यो वर्ष अनुकुल मनसुन, मलखाद र उन्नत बिउका कारण धान उत्पादन गत वर्षको भन्दा बढी हुने अनुमान गरिएपनि बाली भित्र्याउने समयमा परेको वर्षाले धान उत्पादनमा कमी हुने सजिलै अनुमान गर्न सकिन्छ ।

    राहतको पर्खाईमा किसान 

    आसै नगरेको बेमौसमी वर्षाका कारण धान बालीमा भएको क्षतिको पिडा भोग्नु परेका किसानहरु अहिले राहतको पर्खाईमा छन् । धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिणी क्षेत्र देवदह, ओमसतिया, सियारी, शुद्धोधन, गैडहवा, मर्चवारी, सम्मरीमाई, कोटहीमाई, रोहिणी लगायतका स्थानीय तहहरुका अधिकांस किसानहरुले भित्र्याउनै लागेको धान डुबानमा परेपछि राहतका लागि सरोकारवालाहरुसँग हारगुहार गरेका हुन् ।

    दशैं मनाएर धानबाली भित्र्याउने तयारी गरिरहेका ओमसतिया–३ का किसान पराग मौर्याले आफ्नो अधिकांस धानबाली पानीले नष्ट गरेको बताए । झन्डै १ बिघा १० कट्ठामा लगाएको धानबाली नष्ट भएपछि उनमा वर्षभरी हातमुख जोर्ने चिन्ता थपिएको छ । ‘बैंकबाट कृषि ऋण निकालेर खेताला लगाई असारमा खेती गरियो । यो वर्ष अनुकुल मनसुन, मलखाद र उन्नत बिउका कारण धान उत्पादन हरेक साल भन्दा राम्रो होला भन्ने सोचेको थिए, तर एक दिनको वर्षाले सबै सपना चख्नाचुर पार्यो । सरकारले राहत दिने भन्ने सुनेको छु, तर खै विश्वास लागेको छैन,’ उनले गुनासो पोखे ।

    रोहिणी गाउँपालिका–४ का किसान कपिलदेव चौधरीको पनि अवस्था उस्तै छ । उनले लगाएको धानबालीको ५० प्रतिशतमा वर्षाले नोक्सान पुर्याएको छ । ‘यस वर्ष धानमा राम्रो बाला लागेको थियो, विगतमा भन्दा उत्पादन बढ्ने अनुमान थियो, तर सबै पसिना खेर गयो,’ चौधरीले भने । उनलाई पनि राहत पाइने कुराको विश्वास लागेको छैन ।
    त्यस्तै बेमौसमी वर्षाले काटेर राखेको करिब १० कट्ठा क्षेत्रफलको धानबाली नष्ट गरेपछि तिलोत्तमा–१७ गंगोलियाका किसान अनिष चौधरी परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उनी जस्तै जिल्लाका अधिकांस किसानहरु यतिबेला निकै पिडामा छन् । कतिले काटिसकेका र काट्न बाकी धानबाली नष्ट भएपछी उनीहरुमा वर्षभरिको हातमुख जोर्ने चिन्ता थपिएको छ । स्थानीय सरकारले क्षतिको विवरण संकलन गरी आवश्यक राहत उपलब्ध गराउने आश्वासनले उनीहरु राहतको पर्खाईमा छन् ।

    किसानलाई राहत दिने कुरामा प्रदेश सरकार सकारात्मक 

    बेमौसमी वर्षाका कारण धानबाली नष्ट भएका किसानहरुलाई राहत उपलब्ध गराउने कुरामा लुम्बिनी प्रदेश सरकार सकारात्मक देखिएको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वर्षाका कारण धानबाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि क्षतिको विवरण संकलन जिल्ला कृषि ज्ञान केन्द्रहरुलाई निर्देशन दिएका छन् ।
    जिल्लाका कृषि ज्ञान केन्द्र मार्फत स्थानीय तहका कृषि शाखाहरुले स्थलगत क्षतिको लगत संकलन गर्ने र उक्त लगतका आधारमा प्रदेश सरकारले उचित राहत उपलब्ध गराउने बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले जानकारी दिएका छन् ।

    कृषि विकास निर्देशनालय लुम्बिनीका अनुसार प्रदेशका विभिन्न जिल्लामा ३६ हजार ४ सय २० हेक्टरमा काटिसकेपछि खेतमा पाजा लगाएर राखिएको धान र डुबानमा परेका ९३ हजार ५ सय ७६ हेक्टरमा खडा रहेको धानबाली सहित कुल १ लाख २९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको हो । लुम्बिनी प्रदेशमा यो वर्ष ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । जसमध्ये ५५ हजार ५४ हेक्टर धान काटेर थन्काइसकेको र १ लाख ३२ हजार ३ सय ६४ हेक्टर क्षेत्रफलमा रहेको धान मात्रै भित्र्याउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । यसरी लुम्बिनी प्रदेशमा १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धान क्षति हुँदा करिब ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ ।

    त्यस्तै लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका अनुसार पहिलो चरणमा संकलन गरिएको विवरण अनुसार रुपन्देही जिल्लामा मात्रै ३ हजार ४ सय ६८ हेक्टर क्षेत्रफलको काटिएको धान र २० हजार ७ सय ९३ हेक्टर क्षेत्रफलमा रहेको काट्न बाँकी रहेको धानमा क्षति पुर्याएको छ । रुपन्देहीको ८२ हजार हेक्टर खेतियोग्य जमिन मध्ये यो वर्ष ६९ हजार भन्दा बढी हेक्टरमा धान खेति गरिएको छ । गोरखनाथ, राधा–४, सर्जु–५२ लगायतका अत्याधिक उत्पादन हुने र छिटो पाक्ने जातका अधिकांस धानमा क्षति पुगेको हो ।

    प्रदेश सरकारले कृषि ज्ञान केन्द्र तथा स्थानीय निकायसँग समन्वय गरी धानबालीमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ तर एक साता बितिसक्दा पनि क्षतिको पूर्ण विवरण आउन भने सकेको छैन । वास्तविक किसानले यथासिघ्र क्षतिपूर्ति पाउनका लागि अनुमानका आधारमा क्षतिको विवरण संकलन गर्नु भन्दा पनि किसान तहमै पुगेर क्षतिको विवरण संकलन गर्नु उपयुक्त हुन्छ । यसरी क्षतिको विवरण संकलन पछि सरकारले ठिक ढंगबाट वास्तविक क्षति भएका किसानलाई राहत उपलब्ध गराउन आवश्यक छ र पिडित किसानहरुको यही माग पनि हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.