
धकधई । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधीले बनाएको त्रुटीपूर्ण संविधान संविधान संशोधन हुन आवश्यक रहेको बताएका छन् । उनले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी मिलेर मुलुकमा त्रुटीपूर्ण संविधान बनाएको आरोप लगाउदै त्रुटीपूर्ण संविधानमा भएका कमी कमजोरी संशोधनमार्फत सच्याउनुपर्ने बताएका हुन ।
जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका-३ धकधईमा आयोजना गरेको छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको संविधान मुलुकको सातौं संविधान भएको र संविधान संशोधनतर्फ अगाडी नबढे जनताले आठौं संविधान बनाउने चेतावनी समेत दिए । संविधानमा उल्लेख भएको ७ वटा प्रदेश अव्यवहारिक र अवैज्ञानिक रहेकोले उच्चस्तरीय राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै उचित भएको उनले बताए ।
‘जनसंख्याको आधारमा महिला, दलित, मधेशी, मुस्लिम, जनजाति, पिछडावर्ग तथा सम्पूर्ण उत्पीडित समुदायको प्रतिनिधित्व हुनुपर्छ, जनताको त्याग, संघर्ष, बलिदानबाट प्राप्त अधिकारलाई संस्थागत गर्नु हाम्रो पहिलो दायित्व हो, ’उनले भने । ‘नेपाल बहुभाषिक मुलुक भएकाले एकै भाषा सरकारी कामकाजी भाषा हुनुहुँदैन, ’उनले थपे । कांग्रेस, कम्युनिष्टलाई सत्ता र शक्तिसंग मात्र मतलब भएको उनको भनाइ छ ।
केपी ओली नेतृत्वको सरकारले असंवैधानिक तरिकाले दुईपटक संसद विघटन गरी सत्ता र शक्ति आफ्नो हातमा लिन खाजेको यादवले बताए । ‘ओली नेतृत्वको सरकारले दुईपटक संसद विघटन गर्यो, दुनियाको संसदीय अभ्यासमा यस्तो छैन्, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षडयन्त्रलाई सफल हुन दिन्नौं, ’उनले भने ।
जनताको अधिकार रक्षा गर्न जसपा अगाडी बढेको उनले बताए । जसपाले नेतृत्वकारी भूमिका निर्वाह गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरेर लोकतन्त्र बचाउन सफल भएको उनले दावी गरे । कानूनी लडाई सर्वोच्चमा र राजनीतिक लडाई सडकमा लडेर लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेको उनले बताए । राजनीतिक लडाई समाप्त नभएको उनले बताए ।
त्यस्तै अहिलेको निर्वाचन प्रणाली गलत भएको उनले बताए । उनले भने, खिचडी जस्तो निर्वाचन प्रणाली अत्यन्तै महंगो छ, विश्वका ७१ वटा मुलुकमा रहेको समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ ।’ खर्चिलो निर्वाचन प्रणालीका कारण आम जनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको बताए । ‘अहिलेको निर्वाचन प्रणालीले नेपाल जस्तो गरीब मुलुकमा पैसावाला, माफिया, ठेकेदारको प्रतिनिधित्व हुन्छ, जनतालाई केवल भोटर मात्र बनाइएको छ, ’उनले भने ।
त्यस्तै न्याय पाउन समेत खर्चिलो भएकाले न्यायप्रणाली पनि सुधार गर्नुपर्ने उनले बताए । उनले नेपाली नागरिकलाई नागरिकताबिहीन बनाउन नहुने बताए । ‘नागरिक विधेयक संसदमा टेबुल छ, नेपालमा आमा बुवासंग नागरिकता छ, तर उनीहरुको सन्तानसंग नागरिकता छैन्, ’उनले भने । जन्मसिद्ध नागरिकता पाएर आमा बुवा नागरिक हुने तर सन्तान कसरी अनागरिक हुने भन्दै उनले प्रश्न गरे ।
मुलुकको विकासबाट कृषिबाट सुधार गर्नुपर्ने उनले बताए । कृषिको आधुनिकरण तथा जलस्रोतको उचित सदुपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्ने उनको भनाइ थियो । मुलुकमा लगानी आकर्षण गर्न उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने उनले बताए । शिक्षामा व्यापारीकरण अन्त्य गर्नुपर्ने उनले बताए ।
विभेद तथा असमानता अन्त्य गर्नुपर्ने उनले बताए । आगामी निर्वाचनमा जसपा मुलुकको प्रमुख शक्ति बन्ने उनले दावी गरे । ‘जसपाले सडक संघर्ष त्यागेको नभइ स्वरुप मात्र बदलिएको उनले बताए । निर्वाचन संघर्षको रुपमा लिएको छ, ’उनले भने ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य गोविन्द चौधरी, लुम्बिनी प्रदेश सह–इञ्चार्ज कमल खनाल, समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा प्रदेश २ सरकारका कृषिराज्य मन्त्री योगेन्द्र राय यादव, पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर), किस्मत वि.क., संघीय परिषद सदस्य विद्या यादव, महिला नेतृ धनेश्वरी चौधरी, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव, रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय जना बढी जसपामा प्रवेश गरेका थिए । जसपा वरिष्ठ नेता महेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य मोहम्मद अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।