
दीपक जैसवाल
सुर्यपुरा । उदाउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व सम्पन्न भएको छ । बुधबार बेलुकी अस्ताउँदो सूर्य र बिहिबारको उदाउँदो सूर्यलाई अर्घ दिई छठ माताको पूजा आराधना गरी छठ पर्व सम्पन्न भएको हो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको पूजा आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व दुई दिन एक रात सम्म मनाउने गरिन्छ । छठ पूजा गर्ने ब्रतालुहरुले उक्त ब्रतको समयमा निराजल बस्ने गर्दछन् । छठ माताको पूजा गर्दा सूर्य देवतालाई प्रसन्न गर्नका लागि झुप्पा सहितका फलहरू चढाउँने गरिन्छ । यसरी भगवान सूर्यलाई फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।
छठ पर्व तराई क्षेत्रमा निकै धुमधामका साथ मनाइन्छ । अझ अहिले त तराईमा मात्र नभएर पहाडी क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको छ। छठ माताको पूजा तथा भगवान सूर्यको पूजा आराधना गर्दा सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ ।
छठ पर्वमा रुपन्देहीका विभिन्न नदी, तलाउ तथा पोखरीमा गई भगवान सूर्यको पूजा आराधना गर्नेको भीड हुने गर्छ । रुपन्देहीको गैंडहवा गाउँपालिका तथा शुद्रोधन गाउँपालिकको सिमानामा पर्ने तिनाउ नदीमा छठ पूजा गर्नेको घुइँचो झनै ठुलो हुन्छ । छठ पर्वमा पूजा गर्ने श्रद्धालु हरुले विशेष गरी आफ्नै खेत बारीमा उब्जाएका कृषि उपजको प्रयोग गर्ने गर्दछन् । विशेषतः मिथिला र भोजपुर क्षेत्रका बासिन्दाले गर्ने छठ पर्वलाई अहिले संसारभरि फैलाएका छन् ।