पशुपति यादव
धकधई, २९ कार्तिक । रुपन्देही जिल्लाको धकधईमा अवस्थित धकधई सामुदायिक समाज सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आर्थिक मारमा परेको छ ।
साविकको १२ वटा गा. वि. स, हालको रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकाको वार्ड नम्बर ५ र ६, देवदह नगरपालिकाको वार्ड नम्बर ११ र १२ का जनताहरुलाई सेवा प्रदान गर्दै आएको सामुदायिक समाज सेवा केन्द्र स्वयम् आर्थिक संकटमा परेको सामुदायिक समाज सेवा केन्द्रका अध्यक्ष जयप्रकाश यादवले बताए ।
स्थानीयहरुका सानातिना झैझगडा, बादविवाद इत्यादिमा दुई पक्षबीच मेलमिलाप गराउने कार्यहरु गरी आम समुदायको सारथीको रुपमा धकधईबाट घर बहालमा रही सेवा दिँदै आएको सामुदायिक सेवा केन्द्र हाल कार्यालयको मासिक भाडा तिर्ने र कार्यालय व्यवस्थापन समेत गर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष यादवले जानकारी दिए ।
उनले निष्पक्ष र निस्वार्थ भावनाले यस कार्यालयका पदाधिकारीहरु जनताको सेवा गर्दै आइरहेको तर कार्यालयलाई समस्या पर्दा सम्बन्धित निकायबाट कुनै पहल नभएको बताउँदै सक्दो पहलका लागि सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन् ।