नेपालका यी पाँचवटा प्रदेशमा आज हल्का वर्षाको सम्भावना
३ मंसिर २०७८ , शुक्रबार
काठमाडौ। अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावको कारण नेपालका पाँचवटा प्रदेशमा आज हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद्हरुका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको कारण हाल प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ ।
आगामी २४ घण्टामा देशका अधिकांश भूभागहरुमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सो प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितामा समेत कमी आउनसक्ने महाशाखाले जनाएको छ। त्यसैले सडक तथा हवाई यातायातको क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
महाशाखाका अनुसार शनिबार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
Krisha Sanchar Griha P. LTD.
SiddharthaNagar-12, Rupendehi
E-mail: elumbinikhabar1@gmail.com
Contact: 9851351793
Department of Information and
Broadcasting Regd. No:3214/78/79
Press Council Registration No. 3262/2078/079