
भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जनउत्थान साकोस अन्तर्गत सिस्टर्स क्लबको आयोजनामा भएको ३५ औं खुल्ला रक्तदान कार्यक्रममा १० जना महिला र २९ पुरुष गरि ३९ जनाले रक्तदान गरेको सहकारीका सचिव सरु रानाले बताइन् । संस्थाले गर्ने सामाजिक क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम गरिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले जनउत्थान साकोसले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको बताए । संस्थाले वर्षको ३ पटक साउन, मंसिर र चैत्र महिनामा नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहदै आएको साकोसका सचिव सरु रानाले बताइन् ।
सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता, सञ्चालक समिति सदस्य निल प्रसाद पुनको स्वागत मन्तव्य तथा सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेफ्स्कून सर्वोकृष्ट साकोस–२०७८ बाट जनउत्थान पुरस्कृत

जनउत्थान बचत तथा सहकारी संस्था लिमिटेड (नेफ्स्कून) सर्वोकृष्ट साकोस–२०७८ बाट पुरस्कृत भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३४ औं स्थापना दिवसको अवसरमा संघमा आबद्ध संस्थाहरुमध्ये आर्थिक वर्ष २०७७/०७८ को लागि सर्वोकृष्ट साकोस विधामा जनउत्थान छनौट भएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको काठमाडौंमा भएको ३० औं वार्षिक साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले जनउत्थानका अध्यक्ष ज्ञानु पौड्याललाई प्रशंसापत्र प्रदान गरिन् ।
कात्तिक २५ गतेसम्म जनउत्थान सहकारीको कुल पुँजी २६९ करोड, बचत संकलन २१० करोड, ऋण लगानी २२६ करोड, संस्थागत कोष १८ करोड र शेयर सदस्य संख्या २९ हजार १ सय ९४ रहेको जनउत्थान साकोसका अध्यक्ष पौड्यालले बताइन् ।
गत साउन ३२ गते घोषित सम्मान तथा पुरस्कार शुक्रबार ३० औं वार्षिक साधारणसभाको अवसरमा प्रदान गरिएको हो । नेफ्स्कुनले नेपालको सहकारी तथा साकोस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व तथा संघ–संस्थाहरुको घोषणा स्थापना दिवसमा र वार्षिक साधारणसभामा सम्मानित एवं पुरस्कृृत गर्दै आएको छ ।