
कमल रायमाझी, सम्पादक
बुद्धलाई जन्माएको देश नेपाल संसारको चम्किलो तारा हो । विश्वलाई शान्तिको सन्देश फैलाउन भूमिका खेलेको यो देशमा बुद्धका विभिन्न स्वरुपहरु भेटिने गरेका छन् । हजारौं वर्ष अघि नेपालको लुम्बिनीमा जन्मिएका बुद्धले संसारभर दिएको पञ्चशीलको सन्देश अहिले पनि मानव जगतका लागि महत्वपूर्ण रहेका छन् । शान्तिको पवित्र स्थल लुम्बिनीलाई संसारभरका लाखौं मानिसहरु श्रद्धा र दर्शनका लागि आउने गरेको लुम्बिनी विकास कोषको तथ्याङ्कले देखाउने गरेको छ । एसियाका ताराको उपमा पाएका बुद्ध सन्देश बुद्ध दर्शनका अनुयायी र आमजनसमुदायका लागि सधै खुसी, आनन्द र सकारात्मक सोचको मार्ग बनेको छ । हत्या, हिंसा र आतंकको अन्त्य र प्राणी जगतको भलोका लागि बुद्धले दिएका सन्देशहरु संसारभर आज पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । बुद्ध जन्मिएको देश नेपालले मानिसलाई शान्ति र खुसीका लागि अगुवाई गर्नुपर्ने भएपनि यो हुन सकेको छैन । विश्वका विभिन्न धर्म संस्कृतिको विकास तथा प्रचार प्रसार भएपनि बुद्ध दर्शनको विकास र विस्तार सोचे जस्तो हुन सकेको देखिँदैन । मानव जीवनलाई वैज्ञानिक रुपमा आनन्द र खुसी बनाउने यो दर्शनले विकास र विस्तारको बाटो समाउन नसक्दा संसारभर आज अशान्ति र नकारात्मक सोचको विकास हुँदै गएको पाइन्छ । बुद्धको जन्मस्थल लुम्बिनीमा केही विकासका मार्गहरु देखिएपनि उनको राजदरबार तिलौराकोट कपिलवस्तु र उनका विभिन्न स्थलहरुको अध्ययन अनुसन्धान नहुँदा संसार माझ सत्य तथ्य पस्किन नेपाललाई गाह्रो भएको देखिन्छ । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको नेपालका बुद्धस्थलहरुलाई सरकारी तहबाट संरक्षण र विकास नहुँदा बुद्धलाई नेपालमा चिनाउने प्रमाणहरु नष्ट हुने सम्भावना देखिँदै गएको छ । नेपालमा रहेका बुद्धस्थलहरुको संरक्षण, विकास र विस्तारमा नेपाल सरकारको भूमिका कमजोर हुँदा लुम्बिनी केही दलालहरुको दुहुनो गाई बनेको छ । राजनीतिकरुपमा नियुक्ति हुने पार्टी कार्यकर्ताको कब्जामा परेको लुम्बिनी विकास कोषले बुद्ध स्थलहरुको खोजअनुसन्धान र विकासमा भूमिका खेल्न सकेको देखिँदैन । बुद्ध दर्शनको विकासका लागि भूमिका खेल्ने आशा गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत सोचे जस्तो शान्तिको मार्ग समाउन नसकेको पाइन्छ । बुद्धको मार्गलाई नेपालमा सशक्त विकास र बुद्धले दिएका सन्देशहरुलाई संस्थागत गर्न स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय अहिले बुद्ध दर्शनलाई ओझेलमा पार्दै अन्य पाठ्क्रमलाई महत्व दिएको देखिन्छ । लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालय अहिले बुद्धिजमको विकास तथा विस्तार भन्दा पनि त्यहाँ नियुक्ति पाउने राजनीतिक कर्मीका लागि दुहुनो गाई बनेका छन् । आफन्त र आसेपासेका लागि कमाउने माध्यम र नियुक्ति लिने स्थान बनेको बुद्धका यी दुई संस्थाले चाहेका बुद्ध दर्शनको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्न नसक्दा बुद्धको अपमान भएको देखिन्छ । राज्यले सही रुपमा पहिचान र जनपरिचालन नगर्दा लुम्बिनी र बुद्धलाई बेचेर खानेहरु धेरै भेटिएपनि यसको तथ्यलाई संस्थागत रुपमा विकास गर्न खासै भूमिका कसैले खेलेको अनुभुति यहाँ हुन सकेको छैन । यसको विकास र विस्तार गर्नका लागि राज्यले बनाएको नीतिलाई निःस्वार्थ रुपमा लागु गर्नु पर्दछ । राजनीतिक रुपमा हुने नियुक्तिको अन्त्य र योग्य जनशक्तिको परिचालन आजको आवश्यकता हो । यसका लागि बुद्ध दर्शलाई राम्ररी चिनेको जनशक्तिको विकास तथा लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य अनुसन्धानकर्मीहरुलाई अनुसन्धानका लागि राज्य तहबाट निर्देश हुनुपर्दछ । लुम्बिनी र बुद्धको विकास हुन सके नेपालले संसारलाई शान्तिको मार्गमा हिडाउने नेतृत्व गर्ने आशा गर्न सकिन्छ ।