भैरहवा । सहकारी क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा रहेको संस्थाको मुख्य कार्यालय सहित १० वटै सेवाकेन्द्रबाट विभिन्न कार्यक्रमहरु गर्दै वार्षिकोत्सव मनाइएको हो ।
त्यस्तै ओमसतिया १ ठुटिपिपलमा अवस्थित सहकारीको पटाकसार सेवा केन्द्रले पनि जेष्ठ शेयर सदस्य सम्मान, गरीब तथाजेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण, बाख्रा पालनका लागि निर्व्याज ऋण वितरण लगायतका विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बरालले सहकारीले प्रदान गर्ने सेवा प्रसंसायोग्य रहेको बताए । उनले सानो पुँजीबाट उद्यम गर्न चाहनेहरुका लागि यस सहकारीले महत्वपूर्ण भुमिका खेलेको बताउदै थप उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।
त्यस्तै विशिष्ट अतिथि तथा जनउत्थान साकोसका सल्लाहकार यम बहादुर थापाले साकोसका कार्मचारी र उनीहरुको मिहिनेतको प्रशंसा गर्दै जनउत्थान रुपन्देहीमा मात्रै नभई देशभरिमा नै एक उत्कृष्ट सहकारी रहेको दावी गरे । उनले साकोसलाई अब्बल बनाउन कर्मचारीहरुको अथक प्रयास र शेयर सदस्यहरुको ठुलो साथ र सहयोग रहेको बताए।
सुनिता चौधरीको संचालन तथा परामर्श कार्यदल संयोजक भुम बहादुर रेश्मीको स्वागत मन्तव्य रहेको कार्यक्रममा पटाकसार सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य झविलाल थापा, दिपक सिंह थापा लगायतले बोलेका थिए ।
जनउत्थान सहकारीको बारेमा :
सहकारी क्षेत्रमा अग्र स्थानमा रहेको यस संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ । लामो समयदेखि बैकिङ्ग क्षेत्रमा कार्य गरि सकेका दक्ष र अनुभवी व्यक्तिहरु संलग्न रहेका यस संस्थाले सामाजिक र आर्थिक सबलीकरणका लागि विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ ।
३० हजार ७ सय ९२ शेयर सदस्य रहेका संस्थाको कुल शेयर पूँजी २ अर्व ७३ करोड ७१ लाख रहेको छ । त्यस्तै सहकारीले २ अर्व ३५ करोड ५१ लाख ऋण लगानी गरेको छ । त्यस्तै ३ हजार ४ सय १ शेयर सदस्य रहेका पटाकसार सेवा केन्द्रको मात्रै कुल शेयर पूँजी ३९ करोड, ३५ लाख छ भने ३८ करोड ४७ लाख ऋण लगानी छ ।
संस्थाले आफ्नो सदस्यहरुलाई विविध व्यापार, व्यवसाय सञ्चालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना सञ्चालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, तरकारी खेती, पशुपालन, कुखुरा पालन आदिका लागि सदस्यहरुलाई कृषि कर्जाको समेत व्यवस्था गरेको छ ।
संस्थाले ब्याज उठाएर बढी नाफा गर्ने भन्दा पनि शेयर सदस्यको जिवनस्तर उकास्ने योजनाले काम गर्ने गर्छ । अहिले यो सहकारी मुलुककै उत्कृष्ट सहकारी बनेको छ । रुपन्देही जिल्लाको सहकारीहरुमध्ये सबैभन्दा धेरै कर तिर्ने सहकारी पनि बनेको छ ।