logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मलको महाभारत : जोहो गर्न दिनभर भौतारिन्छन् किसान


    ५ पौस २०७८ , सोमबार

    मलको महाभारत : जोहो गर्न दिनभर भौतारिन्छन् किसान

    जितेन्द्र चौधरी
    भैरहवा । सरकार र सरोकारवालाहरु ठुला–ठुला योजनाका साथ देशमा कृषि क्रान्ति गर्ने भन्दै किसानलाई आश्वासन दिने गर्छन् । अब किसानको दुःख सकिएको भन्दै सिँचाई, मल र प्रविधि मैत्री कृषिको दाबी पनि गर्छन् । यहाँसम्म कि कृषक पेन्सन देखि कृषक परिचय पत्रसम्मको वकालत गर्छन् । तर यी सबै विषय वास्तविक कार्यन्वयनबाट धेरै कोष टाढा छन् । कृषकको अवस्था सुधारिनुपर्ने ठाउँमा झन् झनै बिग्रदो अवस्थामा छ । बजार तथा मुल्य नपाउनु, विदेशी खाद्यवस्तुको सहज आयात लगायतका समस्या उनीहरुका सदियौ देखिका साझा समस्या हुन् । आएका भनिएका सरकारी योजनामा अझै पनि वास्तविक किसानको पहुँच पुग्न सकेको छैन ।

    जसोतसो कृषि पेशा अगाल्दै आएका कृषकले लामो समयदेखि हातमा पैसा लिएर भौतारिदा समेत आवश्यक मल पाउन सकेका छैनन् । जसका एक पात्र हुन् ओमसतिया–३ कि टुकुरी थरुनी । बिहान उठेर घरको काम सकाएर छोरा छोरीलाई स्कुल पठाउँछिन् । आफू पनि हतारहतारमा खाना खाएर रसायनिक मलको खोजीमा आफ्नै वडामा रहेको लगनशिल महिला तथा सहकारीमा पुग्छिन् । सहकारीको सटर खुलिसकेको हुँदैन त्यो भन्दा पहिला नै उनी सहकारीको सटर अगाडी लाइनमा उभिन्छिन् । मानौँ कि सहकारीको सटर खोल्ने जिम्मा उनकै छ । सहकारीका कर्मचारीहरु कार्यालयमा पुगिसकेका हुँदैनन् तर उनी त्यहाँ पुगिसकेकी हुन्छिन् । यो उनको विगत २ सातादेखिको दिनचर्या नै बनेको छ । उनी युरिया मल पाउने आशाका साथ पुग्छिन् तर फकिर्ने बेला आश्वासन बाहेक केही हुँदैन । सहकारीका कर्मचारीहरुले सहकारीमा मल सकिएको छ, एक दुई दिनमा आउँछ त्यसपछि आउनुहोला भनेर आश्वासन दिएर पठाउने गरेको उनले गुनासो सुनाइन् । ‘२ बोरा युरिया मलको लागि सहकारीमा धाइरहेको करिब १५ दिन भइसक्यो, जसोतसो एक बोरा मल पाए, बाँकी एक बोरा कहिले पाउँछु कुनै ठेगान छैन’ उनले भनिन् ।

    उनीजस्तै अर्का एक किसान हुन् तिलोत्तमा–१७ का पुन्ने चौधरी । उनी पनि करिब एक सातादेखि आफ्नो घरायसी र दैनिक ज्यालामजदुरीको कामलाई विश्राम दिएका छन् । बिहानको खाना खाएर युरिया मलको जोहोमा भौतारिन सुरु गछन् । बिहान घरबाट मल पाउने आश लिएर जान्छन् तर फर्किने बेला साथमा सहकारीको कर्मचारीहरुको आश्वासन लिएर निसाश भएर फकिन्छन् । भारतबाट लुकिछिपी मल ल्याएर जसोतसो गहुँ छरेका चौधरी सिँचाई गरिसकेको गहुँमा थप मल छर्न नपाएर चिन्तामा परेका छन् ।

    त्यस्तै त्यस्तै ओमसतिया–५ दीपनगरका सर्वजीत यादव गहुँ खेतीका लागि आवश्यक मात्रामा रसायनिक मल नपाउँदा सोचेजस्तो उत्पादन नहुने हो कि भन्ने चिन्तामा छन् । ‘गहुँ छर्ने बेलामा पनि मल पाएनौँ, मल बिना नै गहुँ छर्न पर्यो । हातमा पैसा लिएर मलका लागि सहकारी भौतारिदा समेत पाइँदैन, किसानले के गरी खाने’, उनले दुखेसो पोखे ।

    यादवकै टोलमा बस्ने दशरथ अहिर र नारद यादवलाई पनि मलको समस्याले निकै पिरोलेको छ । गहुँमा सिचाई गरेर मल हाल्ने समय नेपाली बजारमा युरिया नपाएपछि चोर बाटोबाट सीमावर्ती भारतीय बजारमा निर्भर हुनुपरेको उनीहरुको बेग्लै पिडा छ । समयमा मल, बीउ नपाउने समस्या उनीहरुको एक्लैको होइन । खेतीपाती गर्ने रुपन्देहीका सबै किसानले यस्तै कठिनाइका बीच किसानी कर्म गर्दै आएका छन् ।

    रुपन्देही गहुँ उत्पादन हुने प्रमुख जिल्लामा पर्छ । अनुदानित मल बिक्री वितरणको जिम्मा पाएको भैरहवास्थित कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत जिल्लाका २०३ वटा सहकारीबाट कृषकहरुलाई मल बिक्री वितरण हुने गर्छ । कृषि कम्पनीका अनुसार मल बिक्री वितरणका लागि करिब ३ सय बढी सहकारी संस्थाहरु कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवामा दर्ता छन् । उनीहरुलाई पालैपालो मल उपलब्ध गराउने गरिएको कम्पनीका क्षेत्रीय प्रबन्धक राजेन्द्र बहादुर कार्कीले बताए । ‘गहुँ खेतीका लागि रुपन्देहीका किसानहरुलाई चाहिने मल हामीसँग प्रयाप्त मात्रामा छ । सहुलियतको मल बिक्री वितरणको डिलरसिप लिएका कृषि सहकारीहरुलाई यहाँबाट नियमित रुपमा मल पठाउने गरेका छौं । कृषकले मल नपाउनु अलग कुरा हो । यसको अनुगमन सम्बन्धित स्थानिय तहले गर्नुपर्छ,’ उनले भने ।

    सहकारीले आफ्नो कार्यक्षेत्र र सदस्य बाहेक अरूलाई मल बिक्री गर्न नपाउने नियम छ । तर जिल्लाका अधिकांश कृषि सहकारीले सहुलियत मलको कालोबजारी गर्ने गरेको किसानहरुको आरोप छ । ‘सहकारीले हामीलाई मल दिँदैन, तोकिएभन्दा बढी पैसा दिनेलाई बेच्छ,’ उनले भने, ‘वर्षौंदेखि यस्तो कारोबार गर्दै आएका सहकारीलाई कसैले कारबाही गर्दैन । ’मायादेवी–३ का कृष्ण प्रसाद यादवले आरोप लगाए । सहकारीका अध्यक्षले नै मनपरी ढंगले मल राख्ने गरेकोे यादव बताउछन् । ‘सकारीको अध्यक्षको कब्जामा मल हुन्छ, आफूलाई चाहिए जति राख्ने अनि बचेको मन परेको व्यक्तिलाई बढी रकम लिएर बच्ने गरेको छन्,’ उनले भने । सहकारीलाई दिएको मल कस्ले पायो, के गरियो लगायत विषयमा कसैले सोधखोज नगरेकाले मलमा सहकारी कै अध्यक्षका रजाइँ हुँदै आएको उनले बताए ।

    गत असोज अन्तिम सातामा भएको अविरल वर्षाका कारण रोएका कृषकलाई हिउँदे बालीमा सरकारले पनि रुवाएको छ । कृषक गहुँ बालीमा मल छर्न कुरेर बसेका छन् । कृषि प्रधान देश नेपालका सरोकारवाला निकाय भने अझैँ पनि जिम्मेवार बन्न सकेका छैनन् । नेपाल कृषि प्रधान देश हो । यसमा नेपालीले गर्व समेत गर्छन् । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिले करिब ३२ प्रतिशत योगदान दिदै आएको छ । तर पनि खेती गर्ने समयमा कृषकले मलको अभाव बेहोर्नुपर्ने अवस्थामा सूधार आउन सकेको छैन । सरकारले हरेक वर्ष समयमा मल उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेपनि मलको समस्या भने जिउको तिउ छ । किसानलाई ठुला ठुला आश्वासन होइन यतिबेला गहुँ खेतीका लागि आवश्यक पर्ने मल उपलब्ध गराए पुग्छ र अहिले किसानहरुको माग पनि यहि हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.