
कमल रायमाझी, सम्पादक
नेपालमा खेती लगाउने बेलामा हुने रासायनिक मलको अभावले किसानलाई वार्षिक रुपमा लाखौको क्षति पुग्ने गरेको छ । नेपालमा वार्षिक रुपमा १५ लाख ५२ हजार हेक्टर जमिनमा खेती गरिने गरेको तथ्याङक रहेको छ । देशको कूल ग्राहस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कषि क्षेत्रको छ । तर राज्यले किसानका लागि देखिने गरी राहत तथा कृषिमल र उपकरणमा सहयोग गरेको देखिदैन । नेपालमा ६० दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको सरकारी आंकडामा देखिन्छ । राज्यको मूल पेशाको रुपमा रहेको कृषिलाई सरकारी तहबाट सहयोग र सहजतामा भने किसानलाई कठिनाई परेको छ । कागजी र भाषणमा कृषि क्षेत्र र किसानका लागि विभिन्न सहयोगहरुका साथ अनुदान दिएको घोषणा गर्ने सरकार व्यवहारमा भने शुन्य प्रतिफलमा झरेको देखिन्छ । नेपालमा तराई क्षेत्र अन्नको भन्डारको रुपमा चिनिएपनि पहाड र हिमालमा समेत मौसमी खेती गरिन्छ । किसानहरु आकासको भरमा पानी र प्राकृतिक रुपमा मलको भरपर्दा देशले चाहेजस्तो कृषि उत्पादन गर्न सकेको छैन । वार्षिक रुपमा नेपालमा आवश्यकता अनुसारको रासायनिक मल तथा अर्गानिक मलको अभाव झेलेका किसानलाई राज्यले सहि रुपमा समस्या समाधानको व्यवस्था नगर्दा कृषि उत्पादनमा समेत कमि आउने गरेको देखिन्छ । नेपाल कृषि प्रधान देश हो । यहाँ उत्पादनहुने मुख्य अन्नबाली धान, मकै, कोदो, गहुँ, जौ लगायत हन् । यसको उत्पादनमा राज्य गंभिर भएको देखिदैन । नेपालमा वार्षिक रुपमा अर्बौको कृषिजन्य पदार्थ आयात गरिन्छ । देश कृषि प्रधान भएपनि कृषिमा आत्मनिर्भर नहुँदा नेपाली जनता कृषिमा समेत विदेशीको भर पर्नुपर्ने अवस्था आएको छ । देशमा वार्षिक रुपमा अर्बौ रकम कृषि क्षेत्रको विकासमा भनेर विनियोजित हुने गरेको छ । तर वास्तविक किसान सम्म त्यो रकम पुगेको हुदैन । दलाल र विचौलियाले सरकारले दिने अनुदान पनि कागजी काम पुरा गरेर लिने गरेको कुरा नेपालको लुकेको सत्यता रहेको छ । वास्तविक किसानले सरकारी तहबाट पाउने अनुदान प्रकृया पनि गर्न अप्ठ्यारो छ । तर यस्ता दलालहरूले गर्दा किसानहरू सरकारी अनुदान पाउने कामबाट बञ्चित रहेका छन् । मलको अभावमा समेत किसानहरुले कृषि उत्पादनलाई बढावा दिन नसकेको देखिन्छ । नेपालमा वार्षिक रुपमा अन्डै ७ लाख टन मलको आवश्यकता देखिन्छ । तर सरकारले तीन लाख भन्दा बढि मल खरिद गरेको देखिदैन । जसका कारणले पनि मलको अभाव सधै हुने गरेको छ । खरिद गरेको मल समेत भारतीय नाकामा लामो समय सम्म रोकिने गरेको छ । वर्षौ किसानले भोग्दै आएको मलको अभावलाई सरकारले नसुन्ने गर्दा समस्या सधै देखिने गरेको छ । फलस्वरुप सधै पिक सिजनमै किसानलाई मलको अभाव भोग्नु पर्दछ । यसकारण राज्य किसान प्रति सधै गैह्रजिम्मेवारी हुँदा कृषि क्षेत्र र किसान सधै मारमा परेका छन् । यसको अन्त्यका लागि हामीले सधै किसान र कृषि क्षेत्रको समस्या पहिचान गरि समाधान गर्न सक्नुपर्दछ । नेपालमा कृषिक्षेत्रलाई अग्रगमनको मार्गमा हिडाउनका लागि राज्यले कृषिलाई मुख्य प्राथामिकतामा कागजमा मात्र होइन व्यवहारमा पनि राख्नु पर्दछ । यहाँ हने कृषि दल र माफियाहरूको अन्त्य गर्न आवश्यकता छ । सच्चा किसान सम्म सरकारले दिने अनुदान पुग्नु पर्दछ ।