बुटवल । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र सक्षम परियोजना, बुटवलले परियोजना समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सक्षम परियोजनाका संयोजक हिरा बहादुर केसीले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए । सन् २०१७ देखि २०२१ सम्मको गतिविधि प्रस्तुत गर्दै परियोजनाले १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका रुपन्देही, अर्घाखाँची र गुल्मी गरि २५ सय बालबालिका रहेको र परियोजनाले अपाङ्गता भएका बच्चालाई सहायक सामाग्री, शैक्षिक सामाग्री, स्वास्थ्य सामाग्री, कोरोनाको बेला खाद्य सामाग्री वितरण र अर्घाखाँचीमा फिजियो थेरापी सञ्चालन पनि गरेको जानकारी दिएका थिए ।
रुपन्देहीका ईन्चार्ज लेखनाथ आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै १२ वटा पालिकामा साझेदारी गरेको र यो अवसरमा चुनौती र सिकाई पनि भएको जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा ले विकास भनेको सडक चिल्लो हुनु मात्रै होईन गरिब विपन्न, अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य उपचार पनि विकास त्यसैले रुपन्देहीमा रहेको १६ वटै पालिकाले समन्वय गरेर काम गर्न जरुरी रहेको बताएका छन् ।
त्यस्तै सिद्धार्थनगरका उपाध्यक्ष उमा काफ्ले र सैनामैनाका उपाध्यक्ष बिना रानाले परियोजनाले प्रभावकारी काम गरेको र आगामी दिनमा पनि पालिकाले समन्वय गर्न तयार रहेको बताएका हुन् ।

कार्यक्रममा सेवा ग्राही (अपाङ्गता भएको बच्चा) सोमनाथ नाऊ, अभिभावक राम ध्रुव प्रजापती विद्यार्थी बाल संजालका राहुल देव सापकोटा, फाउण्ड परियोजनाका राधा अधिकारी, अपाङ्ग महिला संघका सदस्य कल्पना ढकाल, अपाङ्ग महासंघ रुपन्देहीका सावित्रा घिमिरे, भैरहवा नमुना मा. वि. का प्राचार्य चुन्नु प्रसाद पाण्डे, राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका सचिव होमनाथ आचार्य, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, मर्चवारी गाउँपालिका अध्यक्ष केशव नन्द बानियाँ लगायतले परियोजनाले काम निकै प्रभावकारी गरिरहेको बेला यसको ५ वर्षे योजना सकिन लागेकोमा दुख व्यक्त गरे ।
आगामी दिनमा उपचारका क्रममा अपाङ्गता भएका सेवा ग्राहीलाई सरकारले जिम्मेवारी लिनु पर्ने बताएका छन् ।
अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र सक्षम परियोजनाको आयोजना एवं सिबिएमको आर्थिक सहयोगमा भएको कार्यक्रम सक्षम परियोजनाका संयोजक हिरा बहादुर केसीको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यता, पि आर टि टेक्निसियन रजनी लामाको स्वागत तथा तुल्सिराम वलि र रुविना वि.क. को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।