
जितेन्द्र चौधरी
भैरहवा । आत्महत्या निरिहताको परिणाम मानिन्छ । कमजोर सोच र निरासाको पराकाष्टा आत्महत्या बढ्नुको मुख्य कारण हुन् । पछिल्लो तथ्यांक अनुसार सामान्य मृत्यु भन्दा औसतमा आत्महत्या नेपाली समाजमा बढ्दै गएको छ । मानिसको जीवनमा जब निरासाले स्थान पाउँछ अनि आत्महत्याको सोच विकास हुन्छ । अत्याधिक निरासा फैलिन थालेपछि मानिसमा जीवन समाप्त पार्ने उत्कण्ठा सुरु हुन्छ जसले आत्महत्यालाई बढ़ावा दिने गरेको मनोचिकित्सकहरुको भनाई छ ।
मानसिक असन्तुलनता, प्रेममा असफलता, पारिवारिक समस्या, आर्थिक, स्वास्थ्य समस्या, लागुपदार्थको लत, आवेश, यातनाको सिकार, शारीरिक रोग जस्ता कुराले आत्महत्याको सोचलाई बढ़ावा दिने गर्दछ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा केही दशक यता आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । पाँच वर्षमा मात्र मुलुकभरका विभिन्न स्थानमा करिब ३० हजार मानिसले आत्यहत्या गरेका छन् । कोभिड-१९ को महामारीको केही महिनामै रोगले भन्दा पनि आत्महत्या गरेर मर्नेको संख्या बढी रहेको देखिन्छ ।
अन्य समयको तुलनामा भन्दा पनि कोभिडको त्रासले देशमा पहिलो पटक लकडाउन भएको समय देखि आत्महत्या गर्नेको झनै ठुलो संख्यामा वृद्धि भएको उक्त तथ्यांकले देखाउँछ । उक्त समयमा मुलुकभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन् । जसमा ५ सय ७१ पुरुष, ३ सय ९६ महिला, ५२ बालक र ८६ जना बालिका रहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार अधिकांश मुलुकमा महिलाकोे तुलनामा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ । नेपालमा पनि ठिक त्यस्तै छ । प्रत्येक वर्ष महिलाहरु भन्दा पुरुषहरुले आत्महत्या गर्ने संख्या बढ्दै गएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार मुलुकभर एक वर्षमा ४ हजार पुरुषले आत्महत्या गर्दा महिलाको आत्महत्या गर्ने संख्या २५ सय हुने गरेको पाइएको छ । यसले मुलुकमा पछिल्लो समय आत्महत्या गर्ने पुरुषको संख्या बढ्दै गएको देखाउँछ ।
रुपन्देहीको कुरा गर्ने हो भने यहाँ पनि आत्महत्याले विकराल समस्याको रूप लिन थालेको छ । जिल्लाभर केही समययता आत्महत्या गर्नेको संख्या तीव्र रुपमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांक अनुसार रुपन्देहीमा चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ११४ आत्महत्याका घटनाहरु घटेका छन् ।
चालु आर्थिक वर्षमा मात्रै झुण्डिएर ८७, विषादी सेवन गरेर २१, आगो लगाएर १ र आत्महत्या दुरुत्साहन ४ जनाले गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्ने पुरुषको संख्या ४५, महिलाको संख्या ३३, बालकको संख्या १ र बालिकाको संख्या ९ रहेको छ । त्यस्तै विषादी सेवन गरेर आत्महत्या गर्ने पुरुषको संख्या १४, महिलाको संख्या ७ रहेको छ । त्यस्तै आगो लगाएर आत्महत्या गर्ने एक जना पुरुष रहेको र आत्महत्या दुरुत्साहन गर्ने ४ महिला रहेको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षमा पनि २५० जनाले आत्महत्या गरेका थिए । १०२ पुरुष, ६९ महिला, ४ बालक, १४ बालिका गरी कुल १८९ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । त्यस्तै ३० पुरुष, १८ महिला, १ बालिका गरी कुल ४९ जनाले विषादी सेवन गरेर आत्महत्या गरेका थिए । त्यस्तै १ पुरुष र ३ महिला गरी कुल ४ जनाले आगो लगाएर आत्महत्या गरेका थिए भने ७ जना महिलाले आत्महत्या दुरुत्साहन गरेको रुपन्देही प्रहरीको तथ्यांकले देखाउँछ ।
यसरी रुपन्देही प्रहरीको तथ्यांक केलाउदा दुई आर्थिक वर्षमा ३ सय ६३ जनाले आत्महत्या गरेका छन् । जसमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको देखिन्छ । तर जिल्लामा आत्महत्याका घटना लगातर बढ्दा पनि सरोकारवाला निकायहरु भने आत्महत्याका कारण खोतल्न र निराकरणका लागि कुनै अध्ययन अनुसन्धान गरेको पाइदैन ।
आत्महत्या हिन्दू धर्म अनुसार पापका रुपमा लिइन्छ । सामाजिक रुपमा पनि आत्महत्यालाई राम्रो मानिदैन । यसले परिवारका सदस्यलाई नराम्रो प्रभाव मात्र पार्दैन, समाजलाई नै नकारात्मक असर पुर्याउने काम गर्दछ । परिवारमा सहयोग, विश्वास, माया र राम्रो सम्बन्ध कायम गरे आत्महत्याको सोचलाई कम गर्न सकिन्छ । आत्महत्या घटाउनका लागि समुदायमा चेतनशील वर्गहरुले ठूलो सहयोग पुर्याउन सक्दछन् र खाँचो पनि यही हो ।