
भैरहवा, १६ पुस । डा. नम्रता चौधरीद्वारा भैरहवास्थित रुपन्देही क्याम्पसमा आमाबुवाको नाममा छात्रवृति अक्षयकोष स्थापना गरिएको छ । सिद्धार्थनगर-१२ कि डा. नम्रता चौधरीले आफ्नो आमा केसमति चौधरी र बुवा प्रदिप कुमार चौधरीको नाममा अक्षयकोष स्थापना गरेकी हुन् ।
शुक्रबार एक कार्यक्रमका बीच सिद्धार्थनगर-९ स्थित रुपन्देही क्याम्पसमा डा. चौधरीद्वारा ‘केसमति-प्रदिप छात्रवृति अक्षयकोष’ मा ५० हजार ११ रुपैया जम्मा गरेको भौचर र चेक क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायलाई हस्तान्तरण गरिएको हो ।
उक्त रकमको व्याज वापत आउने रकमबाट हरेक वर्ष सोहि क्याम्पसका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने छ । उच्च शिक्षाका लागि क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई पठनपाठनमा केहि सहयोग होस् भन्ने उद्देश्यले आमाबुवाको नाममा छात्रवृति अक्षयकोष स्थापना गरिएको चौधरीले बताइन ।
सानै उमेरमा आमा गुमाएको र आमाकै प्रेरणाले आफू डाक्टर विषय अध्ययन गरेको उनले बताइन । उनको जन्म ओमसतिया गाउँपालिका वडा नम्बर ५ पटखौलीमा भएको र हाल उनी सिद्धार्थनगर-१२ मा स्थायी बासोबास गर्दै आएकी छन । पेशाले डाक्टर चौधरी मायादेवी गाउँपालिकाको मेडिकल अफिसर हुन् । साथै उनी टोस्ट्मास्टर्सको संस्थापक सदस्य समेत हुन् ।