logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    जग्गा छ, लालपूर्जा छैन


    २१ पौस २०७८ , बुधबार

    जग्गा छ, लालपूर्जा छैन

    जितेन्द्र थारु
    भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका भित्रकै ३ नम्बर सिङ्गो वडा कयौँ पुस्तादेखि लालपूर्जा विहिन छ । अस्थायी लालपूर्जा र एउटा सामान्य कागजको भरमा यहाँ करोडौंका लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । तर यसरी न घरधनी सुरक्षित छन् न त सरकारले राजस्व पाएको छ ।

    गाउँब्लक जग्गाको लालपूर्जा नभएपछि आफूहरु सुकुम्बासी भएको भन्दै वडाबासीहरुले स्थानीय सरकारसँग पटकपटक जग्गाको लालपूर्जा पाउनुपर्ने माग समेत गर्दै आएका छन् । भौतिक पूर्वाधार विकासको सवालमा अघि रहेको वडा नम्बर ३ का करिब ५५ प्रतिशत नागरिक गाउँब्लक जग्गाको लालपूर्जाको आशमा बसेको कयौँ पुस्ता बितिसकेको छ । तर लालपूर्जा कहिले पाइने हो कुनै ठेगान छैन ।

    २०१९ सालमा जग्गा ऐन र २०२१ सालमा भूमिसम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भएको थियो । रुपन्देहीमा भने २०२७ सालमा जग्गा नापजाँच भएको थियो। त्योबेला बस्ती बाक्लो भएको ठाउँमा नाप्न असजिलो भएको भन्दै पछि नाप्ने भनेर एकमुष्ठ गाउँको क्षेत्रफल नापी त्यसलाई गाउँ ब्लकको नाम दिएर छोडिएको थियो । छाडिएको सोही जग्गाको नापजाँच नहुँदा अहिले पनि गाउँब्लक जग्गामा बस्ने लालपूर्जा विहिन छन् ।

    २०४६ सालपछि कांग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालिन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि गाउँब्लक जग्गाको लालपुर्जाको विषयमा कसैले चासो दिएनन् । सविकको हाटी फर्साटिकर गविस अहिले ओमसतिया गाउँपालिकामा गभिएर वडा नम्बर ३ भएको छ । हाटी फर्साटिकर, करुवानी, लालपुर, तर्कुलहा, सेखुवानी, दुम्दुमवा, लोहरौली, बडसारी गरी ८ वटा गाउँ मिलेर ओमसतिया वडा नम्बर ३ बनेको सिङ्गो वडा नै लालपूर्जा विहिन रहेको छ ।

    ‘जुनसुकै पार्टीको सरकार बने पनि लालपूर्जाको माग कहिल्यै सुनुवाइ भएन’ स्थानीय प्रताप नारायण चौधरीले भने ‘पुर्जा त चुनावी नारा मात्रै भए । गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पूर्जा दिलाउने कुरा महत्वसाथ उठाएका थिए ।’
    उनले थपे–‘घर बनाएर बसेको पुर्खौ बितिसक्यो । तर, लालपुर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन । तर, सुकुम्बासी जस्तै भएका छौँ ।’

    ‘दुई वर्ष अघि वडा कार्यालयको समन्वयमा नापी कार्यालय रुपन्देही अन्तर्गतको ३ नं. नापी टोली मधवलियाले गाउँब्लक जग्गाको नापजाँच गरेको थियो । पुस्तौ देखिको गाउँब्लक जग्गाको लालपूर्जा पाउने सपना अब पूरा हुन्छ कि भनेर हामी निकै उत्साहित भएका थियौ । तर नापजाँच भएको तीन वर्ष पुग्न लाग्यो, लालपूर्जा कहिले हातमा आउँछ ठेगान छैन,’ उनले भने ।

    तीन वर्ष अघिसम्म लालपुर्जा नभए पनि गाउँब्लकको जग्गा बैंक धितो राखेर कर्जा लिन पाइन्थ्यो तर अहिले राष्ट्र बैंकले त्यो व्यवस्था रोकेको छ । यसले गर्दा ब्लकमा बस्नेहरु व्यावसायिक काम गर्नबाट समेत वञ्चित भएको स्थानिय मोहन चौधरीले बताए । ‘लामो समय पूर्जा नपाउँदा आफ्नै जग्गा भएर पनि सुकुम्बासी जस्तो भएको गाउँब्लकमा बसोबास गर्ने नागरिकलाई अब सरकारले पूर्जा दिन ढिलाई गर्नुहुदैन,’ उनले भने ।

    २०७६ सालमा भएको गाउँपालिकाको सर्वेक्षण अनुसार वडा नम्बर ३ मा ५ हजार ८ सय ४६ जनसंख्या रहेको छ । जसमा ३ हजार १४ पुरुष र २ हजार ८ सय ३२ जना महिला रहेका छन् । आठ गाउँ मिलेर बनेको वडा नम्बर ३ का करिब साढे ५ सय घरधुरी लालपूर्जा विहिन रहेको वडा अध्यक्ष चन्नर प्रसाद यादवले बताए । स्थानियहरुको मागअनुसार सिङ्गो वडालाई नै लालपूर्जा उपलब्ध गराउनका आफू निरन्तर लागेको उनले बताए । ‘जग्गा हकदावी सम्बन्धि ७ दिने सूचना समेत प्रकाशित भइसकेको र अबको पुस महिनाभित्र लालपूर्जा वितरण गर्ने तयारी भइरहेको छ’ उनले भने ।

    पछिल्लो समय नापी कार्यालयले विवादरहित ठाउँमा थानीय तहहरुसँग समन्वय गरेर गाउँब्लक जग्गाको नापजाँच गरी धमाधम पुर्जा वितरण गरिरहेको नापी कार्यालय रुपन्देही अन्तर्गतको ३ नं. नापी टोली मधवलियाका अमिन मनोज चौधरीले बताए । उनले ओमसतिया वडा नं. ३ गाउँब्लक जग्गाको नापजाँच सम्बन्धि सबै काम भईसकेको र अबको केही दिनमा स्थानिय तहसँग समन्वय गरेर पूर्जा वितरण गरिने उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.