
जितेन्द्र थारु
भैरहवा, १४ माघ । जिल्लाको ओमसतिया गाउँपालिकाले कृषि क्षेत्रको आधुनिक तथा नव प्राविधिक तरिकाले उद्यमशीलता तथा रोजगारी सिर्जना गरी उत्पादनमूलक कृषिमा प्रोत्साहन र अनुदानै अनुदानको निति लिएर अगाडी बढेको छ । कृषि उद्यमशीलतामार्फत् रोजगारी सिर्जना गर्दै कृषिजन्य वस्तुको उत्पादन बढाई कृषकको आर्थिक आयआर्जनमा वृद्धि गर्न कृषिमा विषेश प्रोत्साहन तथा अनुदानै अनुदानको निति लिएर गाउँपालिका अगाडी बढेको गाउँपालिकाका कृषि शाखा प्रमुख केशव चौधरीले बताउनुभयो ।
गाउँपालिकालाई कृषि पकेट क्षेत्रकारुपमा विकास गर्दै व्यवसायिक च्याउ खेती र मौसमी तथा बेमौसमी तरकारी उत्पादन बढाउन विषेश कृषि प्याकेजसहित काम भइरहेको उहाँले बताउनुभयो । “ठाउँ र मौसमअनुसारको व्यवसायिक तरकारी तथा च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशतमा बिउ उपलव्ध गराउँदै आइएको छ,” उहाँले भन्नुभयो ।
कृषि उत्पादनमा मलको सहजीकरणका लागि गाउँपालिकाभित्र रहेका १० वटा सहकारीहरुमाफत् मलखाद वितरणलाई व्यवस्थित गरिएको कृषि शाखा प्रमुख चौधरीले बताउँनुभयो । त्यस्तै कृषिलाई प्रविधिमय बनाउन ५० प्रतिशत अनुदानमा कृषि औजारहरु, पानी तान्ने मोटर, पम्पसेट, हेण्ड ट्रेक्टर, स्पेयर्स पार्टस वितरण गरिदै आएको उहाँले जानकारी दिनुभयो । कृषि उत्पादनमा वृद्धिका लागि पालिकाको प्रत्येक वडामा कृषि प्राविधिकको परिचालन गरिएको गाउँपालिका प्रमुख हिरा केवटले जानकारी दिनुभयो । स्थानिय उत्पादनलाई बढाउनका लागि वडाका प्रत्येक टोलटोलमा कृषि सडक विस्तार गरिएको उहाँले बताउँनुभयो ।
गाउँपालिकाले खेतीयोग्य जमिनमा सिचाईका लागि निःशुल्क टयुवेल तथा सानो बोरिङको व्यवस्था गर्नुका साथै किसानलाई पायक पर्ने स्थानमा कुलो निर्माण तथा पोखरी सुन्दरीकरणमा सहयोग पुराउदै आएको प्रमुख केवटले जानकारी दिनुभयो ।
गाउँपालिका भित्रका किसानहरुलाई स्वरोजगार बनाउनका लागि प्रत्येक वर्ष नगदेबाली उत्पादनमा गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद पौडेलले बताउनुभयो । गाउँपालिकामा कृषकहरुको उत्पादन बिक्रीका लागि प्रत्येक वडामा सानाठुला कृषि हाट सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । “पालिकाभित्र प्रत्येक वर्ष उत्कृष्ट कृषकहरुलाई उत्पादन कार्यमा प्रोत्साहन गर्न सम्मान गरिँदै आइएको छ,” उहाँले भन्नुभयो ।
आई. पि. एम. कृषक पाठशाला
कृषकहरुलाई आधुनिक तथा जैविक खेती प्रणालीबारे जानकारी गराउन गाउँपालिकाले पालिकाका विभिन्न वडाहरुमा आई पि एम कृषक पाठशाला सञ्चालन गरेको छ । अहिले पनि आम किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएको र बालीमा लाग्ने रोग र त्यसको रोकथाम लगायतका विषयमा सामान्य जानकारी नहँदा ठुलो क्षति व्योहोर्नु परेको भन्दै आई पि एम कृषक पाठशाला सञ्चालन गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
आई पि एम कृषक पाठशाला अन्तर्गत बिउदेखि भण्डारणसम्मको कुराहरु सैद्धान्तिक तालिम माफत् जैविक र विषादी रहित उत्पादनलाई जोड दिँदै दक्ष किसानमाफत् नै उत्पादनलाई कसरी बजारमुखी बनाउन सकिन्छ भन्ने बारेमा प्रयोगात्मक तालिम प्रदान गरिने गरेको कृषि शाखा प्रमुख केशव चौधरीले बताउनुभयो ।