
कमल रायमाझी
भैरहवा । रुपन्देहीको ओमसतिया वार्ड नं. ४ वसन्तपुरमा सञ्चालन रहेको बृद्धाश्रममा अभावै अभाव देखिएको छ । श्री सत्यसाई बृद्ध सेवा आश्रमको नाममा बृद्धहरुलाई सेवा दिइरहेको यो बृद्धआश्रममा स्थायी आम्दानीको स्रोत नहुदा समस्या परेको हो ।
वि.स. २०५९ सालमा स्थापना भएको बृद्धआश्रममा नेपालका धेरै जिल्लाका बृद्धबृद्धाहरु आश्रयका लागि यहाँ आउने गरेको श्री सत्यसाई बृद्ध सेवा आश्रमको व्यवस्थापन शाखाले जानकारी दिएको छ । सरदर ३० जनाको क्षमता रहेको आश्रममा हाल ९ जना आमाहरु र ५ जना बुवाहरु गरि जम्मा १४ जनाले आश्रय लिइरहेका छन् ।
परिवारवाट अपहेलित भै बृद्धाश्रममा आउने आमाबुवाको पालन पोषणका लागि हाल आश्रममा ३ जना कर्मचारी र केहि स्वंय सेवकहरु खटिएपनि आर्थिक अभाव टार्नका लागि आर्थिक स्रोत कमजोर रहेको आश्रम सञ्चालक समितीले जनाएको छ । मासिकरुपमा दुध, तरकारी, ग्यास, विद्युत र पानीको खर्च मात्र रु ३५ हजार देखि रु. ४० हजार सम्म हुने भन्दै बृद्धाश्रम सञ्चालक समितीकी अध्यक्ष माया खरालले अन्य खाध्यान्नहरु स्थानिय र संघसंस्थाहरुको सहयोगमा चलेको जानकारी दिईन ।
बृद्धाश्रम सञ्चालनका लागि जिन्सी र खाध्यान्न समानहरु स्थानिय मानिसहरु र संघसस्थाहरुले सहयोग गर्ने गरेपनि आर्थिक सहयोग भने सधै अभाव रहेको बृद्धाश्रम सञ्चालक समितीले जनाएको छ । बृद्धाश्रममा आश्रय लिनुभएका आमाबुवाका लागि मासिकरुपमा स्वास्थ्य उपचार गर्न समेत स्थायी व्यवस्था नहुदा प्राय दाताहरुलाई गुहार्नु परेको आश्रम व्यवस्थापक केशब पौडेलले बताउँछन् ।
बृद्ध अवस्थामा समाजले समेत वास्ता नगर्दा बृद्धाश्रममा पुग्ने बृद्ध आमाबुवाको आश्रमलाई स्थानिय सरकार तथा प्रदेश र केन्द्रिय सरकारले समेत चासो दिएको छैन् । बृद्ध आश्रममा आश्रय लिइरहेकी ७५ बर्षिय बृद्ध आमा रानी खाणले भनिन्, परिवारमा आमा बुवा बृद्ध भैसकेपछि उनलाई घृणाको दृष्टिले हेर्ने छोराछोरिलाई समेत उनिहरुलाई कर्तव्य र संस्कार सिकाउनु आवश्यक छ । खाँण भन्छिन्, “बृद्धहरु केवल बाच्नकालागि मात्र बृद्धाश्रममा आउने गरेका छन् । उनिहरुको नयाँ सोच तथा जागर हुदैन । बचाउने काम राज्यको हुनुपर्दछ ।”
मानिसहरु जन्मेपछि मृत्यु अवश्य छ । बच्चा, युवा र बृद्धा अवस्था हुनु प्रकृतीको नियम हो । सवै मानिसको चक्र जन्म र मृत्यु हो । सरकारले पनि व्यवस्थित बृद्ध आश्रमहरुको सञ्चालन तथा संघसंस्था बाट सञ्चालनमा रहेका यस्ता आश्रमहरुको अनुगमन र रेखदेख गर्नु पर्ने बृद्धबृद्धाहरु बताउँने गरेका छन् ।
नेपालमा पछिल्लो चरणमा समाजमा बृद्धहरुको रेखदेख र व्यवस्थापनमा समस्या देखिएको छ । बृद्ध अवस्थामा पुगेपछि घरमा परिवारका सदस्यहरु बाट अपहेलित हुनुपर्ने र बृद्धाश्रमहरुमा राज्यको नजर नपुग्नु दुर्भाग्य भएको देखिन्छ । यसका लागि समाज रुपान्तरण सगै मानिसले बाच्न पाउने अधिकारको संरक्षण गर्नु र बृद्ध भैसकेका मानिसहरुका लागि छोराछोरिले पालणपोषण गर्नु पर्दछ । बृद्ध अवस्थामा साहाराविहिन भएका आमाबुवाहरुका लागि राज्यले उनिहरुको रेखदेख र सुरक्षा गर्नु आजको आवश्यकता देखिन्छ । यहाँ सञ्चालित श्री सत्यसाई बृद्ध सेवा आश्रमलाई पनि स्थानिय र संघसस्थाका साथै राज्य तहबाट पनि सहयोग हुनुपर्दछ ।