असलम खाँन
मर्चवार, १९ माघ । रुपन्देही जिल्लाको दक्षिणी भेगमा पर्ने मर्चवारी गाउँपालिकाले सिँचाईलाई मुख्य प्राथमिकतामा राखेको छ । विगत २ वर्षअघिसम्म खेति गर्नका लागि मर्चवारका किसानहरु अकाशे पानीको भर पर्ने अवस्था थियो । विकासका सवालमा पछि परेको यो क्षेत्र कृषिका लागि उर्बर मानिन्छ तर सिँचाईको उचित व्यवस्था नहुँदा+ किसानहरु अकाशको पानीको भरमा खेति गर्ने गर्थे । तर पछिल्लो समय गाउँपालिकाले सिँचाईलाई प्राथमिकतामा राखेर काम गरेको हुँदा खेतिका लागि किसानहरुलाई सहज भएको स्थानियहरु बताउँछन् ।
सिचाँईकै लागि गाउँपालिकाले ट्युवेल जडान, सार्वजनिक पोखरी सुन्दरीकरण, नहरहरुको सरसफाई र मर्चवार लिफ्ट सिँचाई योजनालाई अघि सारेर काम गरिरहेको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाले बताउँनुभयो । उहाँले सिँचाईका साथसाथै खेत खनजोत र कृषि उत्पादनको सहज ढुवानीका लागि कृषि सडकलाई पनि प्राथमिकतामा राखेको बताउँनुभयो । ‘म निर्वाचित भएपछि गाउँपालिकाभर करिब १० कि.मि.बढी कृषि सडक निर्माण भएको छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै गाउँपालिकाले किसानहरुलाई आवश्यक मलखाद, बिउबिजन, किटनाशक औषधी र कृषि उपकरण खरिदमा सहजीकरण गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याले बताउँनुभयो । उहाँले सिँचाई सुविधाका लागि ५० प्रतिशत अनुदानमा पम्पसेट, मोटर लगायत उपलब्ध गराउनुका साथै गाउँपालिकाले मर्चवार लिफ्ट सिँचाईमा समेत सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई अनुदानमा स्प्रे ट्याङ्की, किटनाशक औषधी, तरकारीको बिउ वितरण गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश यादवले बताउँनुभयो । यादवका अनुसार कृषि प्रचारप्रसारका लागि गाउँपालिकाभर ३८ वटा कृषक समूह समेत गठन गरिएको छ ।