logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कृषिबाट आत्मनिर्भर बन्दै किसान


    २७ माघ २०७८ , बिहिबार

    कृषिबाट आत्मनिर्भर बन्दै किसान

    जितेन्द्र चौधरी ⁄ असलम खान
    मर्चवार । कुनै समय नेपाली सामाजमा बाबु पढिनस् भने हलो जोत्नुपर्ला है भन्ने उखान निकै चर्चित थियो । यो भनाई गाउँघरका किसानले छोराछोरी नपढेर बरालिदा भन्ने गर्थे । कृषिमा यान्त्रिकरणको सुविधा, कृषि कर्ममा कठिनाई र उत्पादनमा उचित मुल्य नपाउँदा भविष्यमा आफ्ना सन्ततिले समेत कृषि पेशा गर्न नपरोस् भनेर किसानले छोराछोरीलाई भन्ने गर्थे तर अहिले अवस्था फेरिएको छ ।

    युवा जनशक्ति अहिले मिहिनेतको फल कृषि पेशाबाटै मिल्दो रहेछ भन्ने बुझेर माटोबाट सुन फलाउन व्यस्त छन् । जसले माटोको महत्व बुझेका छन् उनीहरुले स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । जिल्लामा कृषिको पकेट क्षेत्र मानिने मर्चवारका युवाहरु आफ्नो जन्मभूमिको माटोमा सुन फलाएका छन् ।

    शिक्षा, स्वास्थ्य र भौतिक विकासमा पिछाडिएको क्षेत्रका रुपमा चिनिने मर्चवारमा स्वरोजगार गर्न सक्ने युवाहरु चोकचोकमा बसेर अनावश्यक गफ लगाउने, जुवातास खेल्ने तथा हो–हल्ला गर्ने जस्ता गतिविधिहरु प्रसस्तै देख्न पाइन्थ्यो जुन अहिले केही मात्रामा कम भएको छ ।

    मर्चवारका धेरैजसो युवाहरु माटोको माया भएपनि महत्व नबुझ्दा विदेशी भुमिमा पसिना बगाइरहेका छन् । तर जसले महत्व बुझे उसको लागि आफ्नै देशको माटो सुन बनेको छ । मर्चवारको सम्मरीमाई गाउँपालिका–६ मा बासोबास गर्ने ४२ वार्षिय कपिल केवट सायद माटोको महत्व बुझेरै होला मासिक लाखौ कमाइरहेका छन् । उनी साढे ४ कट्ठा जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । उमेरले ४० कटेका केवट खर्च कटाएर वर्षको ५ लाख बढी आम्दानी गर्दै आएका छन् । उनी भन्छन्, “अन्य पेशा नगर्दा पनि तरकारी खेतीबाट नै अरामदायी रुपले परिवार पल्न सकेको छु ।” तरकारी खेतीमा जमेर होला उनी अरुलाई पनि तरकारी खेती गर्न सिकाउँदै हिड्छन् । हिउँदको बेला खेतमा फुलगोभी, बन्दागोभी, टमाटर लगायतका तरकारी लगाएका थिए तर गत साता परेको असिनाले तरकारी खेतीमा ठुलो क्षति भएको छ ।

    माटोको महत्व बुझेका उनी जस्तै अर्का किसान हुन् गृस कुर्मी । उनी पनि ३ कट्ठा क्षेत्रफलमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । खर्च कटाएर वार्षिक ३ लाख बढी आम्दानी गरेर तरकारी खेतीबाट नै परिवारको जीवन गुजारा चलाइरहेका छन् । अरुको जिहुजुरी गर्नुभन्दा पनि आफ्नै खेतबारीमा खेतीकर्म गर्नु उनी उचित ठान्छन् । ‘अरुको घरमा काम गर्दा १२ घण्टा खटिनुपर्छ, तर आफ्नै व्यवसाय भएपछि जतिबेला फुर्सद मिल्छ, त्यतिबेला गर्न सकिन्छ । अरुको नियन्त्रणमा बस्नुपर्दैन,’ कुर्मीले भने ।

    त्यस्तै सम्मरीमाई–६ का सहआलम धुनिया कोरोना महामारीका कारण अन्य काम नपाएर घरमा मौसमी तथा बेमौसमी तरकारी खेती गरी आत्मनिर्भर बन्ने प्रयत्नमा छन् । घरमा तरकारी उत्पादन गरेर आफै बजारमा लगेर बेच्ने कार्य गरेर सोचेजस्तो आम्दानी गरिरहेका छन् । उमेरले २५ वर्षको रहेका धुनिया तरकारी खेती गरेर पुरै परिवारको खर्च धानेका छन् ।

    मटोको महत्व बुझ्नेहरुको यी केवल पात्र मात्र हुन् । यिनीहरु जस्तै खेतीमा स्वरोजगार बन्न चाहनेहरुको संख्या बढ्दो छ । यसका लागि स्थानिय सरकारको भूमिका उत्तिकै छ । युवाहरुलाई स्वरोजगार बनाउन मर्चवारको सम्मरीमाई गाउँपालिका विभिन्न कृषि परियोजनाहरुका साथ अगाडि बढेको छ । किसानलाई सिचाईको सुविधा होस् या किसानका उत्पादन संचय गर्ने काम होस्, हरेक कुराको सुविधाका लागि स्थानिय सरकार लागेको गाउँपालिकाका अध्यक्ष बब्लु शुक्लाले बताउनुभयो । गाउँपालिका पुर्ण सिचाईका लागि विभिन्न योजना र पालिकाभित्र ग्रीन हाउस निमार्ण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    गाउँपालिकाले किसानहरुलाई आवश्यक पर्ने मल, धान तथा गहुँको बिउ, तरकारीको बिउ, किटनाशक औषधी लगायतका सामाग्रीहरु उपलब्ध गराउदै आएको कृषि शाखा प्रमुख महेन्द्र प्रसाद हरिजनले बताए । उनले रसायनिक मलको सहज आपुर्तिका लागि १० वटा कुषि शाहाकारीहरु मार्फत मल वितरण समेत गर्दै आएको उनले जानकारी दिए ।

    त्यस्तै सिचाँई सुविधाका लागि किसानहरुलाई ५० प्रतिशत अनुदानमा पानी तान्ने पम्पसेट, मोटर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीले बताउनुभयो । साथै किसानहरुको उत्पादनको सहज ढुवानीका लागि गाउँपालिकाभर चार वर्षको अन्तरालमा १५ खकिलोमिटर बढी कृषि सडक निमार्ण गरिएको जानकारी दिनुभयो । ‘कृषि सडक विस्तारका लागि प्रत्येक वडामा कुल ८ किलोमिटर सडक स्तरोन्नतिका लागि डिपियार समेत भइसकेको छ,’ उहाँले भन्नुभयो ।

    स्थानिय सरकारले कृषिमा विभिन्न अनुदान, राहतका प्याकेजहरु ल्याएपनि घरको जमिन बाँझो राखेर विदेशी भूमिमा पसिना बगाउन जानेको हुल छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशमा केही गर्नु सकिंदैन भन्दै प्रवास जानेको कमी छैन । त्यसरी जानेमा अधिकांश युवा वर्ग छन् । जनशक्ति अभाव र लागत मूल्य उत्पादन भन्दा बढी हुँदा उत्पादनशील जमिन समेत बाँझो छाड्न थालिएको छ । यसको सामाधानका लागि स्थानिय निकाय र किसानहरु बीच राम्रो सहकार्य हुन जरुरी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.