भैरहवा, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीले २७ औं महान जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरेको छ । संगठनले भैरहवा स्थित भिम अस्पतालमा रहेका करिब ४० जना विरामीहरुलाई फलफुल वितरण गरेको हो ।
२०५२ साल फागुन १ गते जनताको अधिकार स्थापना गर्ने उद्देश्यले शुरु भएको जनयुद्धको स्मरणमा हजारौं सहिदहरु प्रति सम्मान गर्दै आइतबार अस्पतालमा उपचार गराइरहेका विरामीलाई फलफुल वितरण गरिएको माओवादी केन्द्र सिद्धार्थनगरका प्रवक्ता लोकेन्द्र धामीले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले जनताको अधिकार स्थापना गर्नमा महान जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले केही राजनीतिक शक्तिहरुले गणतन्त्रलाई नै धरापमा पार्न खोजेको बताउँदै जनयुद्धको राप र तापमा स्थापना भएको गणतन्त्रलाई धरापमा पार्न खोज्नेहरु होसियार हुनु पर्ने चेतावनी दिनुभयो ।
त्यस्तै कार्यक्रममा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण बहादुर जि.सी. (निर्मल), रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन) लगायतले बोल्दै जनयुद्धमा ज्यान गुमाएका शहिदहरु, जनयुद्धमा घाइते र वेपत्ता लगायतको योगदानलाई राज्यले कहिल्यै भुल्न नहुँने बताउनुभयो ।
पार्टीका सिद्धार्थनगर कमिटी अध्यक्ष नारायण हमाल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर इञ्चार्ज फैज अहमद खान, नगर उपाध्यक्षद्वय मेराज खान, ध्रुव लामगादे, अनेरास्ववियु (क्रान्तिकारी) रुपन्देहीका संयोजक कपिल चापागाई, सुनिल कान्दु, अनिरुद्ध दुवे लगायत पार्टीका सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।