
भैरहवा । देशको राजनीति यतिबेला ‘दलबदलु’ हरुको कब्जामा गइसकेको अवस्था छ । ठुल्ठुला क्रान्तिकारी भाषण गर्ने नेताहरुले आफू सत्तामा रहेको बेलाको कामको आत्मसमीक्षा समेत गर्न नभ्याए पनि समय समयमा दल फेर्न भने भ्याएका छन् । नेताहरुको कामबाट काकाकुल र असन्तुष्ट रहेको बेला नेताहरुले जनताको मुद्दाको सम्बोधन गर्नुभन्दा पनि पार्टी परिवर्तन गर्न गराउनमा व्यस्त रहेका छन् ।
जतिजति स्थानीय तहको चुनाव नजिकिँदै गएको छ त्यतित्यति नै नेताहरु एक पार्टी परित्याग गरि अर्को पार्टीमा प्रवेश गर्दै गरेको अवस्था छ । नेपाली राजनीतिमा नेताहरुले पार्टी फुटाउने काम देखि लिएर लिङ्गेपिङ खेलेजस्तो घरि यो पार्टी त घरि त्यो पार्टीमा चहारिरहेका देखिन्छन् । नेपाली राजनीतिमा दलबदल गर्ने प्रविति अहिले त होडबाजी कै रुपमा फस्टाएको छ ।
हालै मात्रै रुपन्देहीका तीन पालिका अध्यक्षहरुले आफु निर्वाचित पार्टी परित्याग गरि विभिन्न पार्टीमा प्रवेश गरेका छन् । जसको पछिल्लो उदाहरण हुन् : रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, ओमसतियाका अध्यक्ष हिरा केवट (राहुल) र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतियाका अध्यक्ष हिरा केवट सोमबार रोहिणी गाउँपालिका-३ स्थित धकधईमा नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा एमालेमा प्रवेश गरेका छन् । गत स्थानिय तहको निर्वाचनमा ३ हजार ७ सय ६० मत ल्याएर जितेका यादव संघीय समाजवादी पार्टी फोरम, नेपाल हालको जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
संघीय समाजवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेको र सुरुवातीमा नै सफलता पाएका अध्यक्ष यादवले एकाएक संघीय समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्दा जनमानसमा एउटा ठुलो चर्चाको विषय बनेको छ । अध्यक्ष यादवले के कारण पार्टी परित्याग गरी पार्टी परिवर्तन गरे उनी निकट कार्यकर्ता समेत अश्चर्यचकित भएको जनता समाजवादीका एक कार्यकर्ताले बताए । यस विषयमा लुम्बिनीखबरसंगको कुराकानीमा अध्यक्ष यादवले पार्टीका स्थानिय नेता, कार्यकर्ताहरुले आफुलाई सहयोग नगरेको कारण आफुले पार्टी परिवर्तन गरेको बताए । उनले पार्टीका कार्यकर्ताहरु पार्टीको विधि विधान अनुसार नचलेकोले आफुलाई चित्त नबुझेको कारण आफ्नो राजनीतिक भविष्यलाई चिन्तन गरी एमालेमा प्रवेश गरेको बताए ।
उनीसंगै ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन पनि एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा केवटले २ हजार ४ सय ४२ मत प्राप्त गरेर अध्यक्ष पदमा र हरिजनले २ हजार २ सय ६४ मत ल्याएर उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । रुपन्देहीका १६ पालिकाहरुमध्ये ओमसतिया गाउँपालिकामा मात्रै माओवादी केन्द्रले जित हात पारेको थियो, जहाँ अध्यक्ष पदमा केवट र उपाध्यक्षमा हरिजन निर्वाचित भएका हुन् ।
निर्वाचनको समयमा अवसर चहार्दै राजनीतिक स्वार्थ पूर्तिका लागि पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले उनीहरुको आलोचना गरेका छन् । कतिपयले अध्यक्ष केवट अगामी निर्वाचनमा अध्यक्ष पदको लागि टिकट नपाइने हो कि भन्ने डरले त कतिपयले पाँच वर्षको समयमा कमाएको कालो धनको संरक्षणका लागि एमालेमा प्रवेश गरेको बताएका छन् । उता अध्यक्ष केवटले माओवादी र गठबन्धनबाट मुलुकमा विकास हुन नसक्ने भएकाले आफुहरुले एमाले रोजेको बताए । उनले ओमसतिया, रोहिणी र क्षेत्र नम्बर १ लाई एमालेको लालकिल्ला बनाएर अगामी निर्वाचनमा बलियो शक्तिको रुपमा आउने बताए ।
त्यस्तै अवसर खोज्दै हिड्ने मध्येका अर्का हुन् : सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) । पछिल्लो समय डा. सिके राउतको जनमत पार्टीसँग नजिक रहेका अध्यक्ष शुक्ला गत साता माओवादीमा प्रवेश गरेका छन् । उनलाई पार्टी केन्द्रीय कार्यालयमै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा प्रवेश गराएका हुन् । गत निवार्चनमा मधेशी जनअधिकार फोरम, नेपालबाट ३ हजार २ सय ६६ मत ल्याएर जितेका उनी अगामी निवार्चनमा आफ्नो टिकट सुरक्षित बनाउनका लागि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।