
भैरहवा । पछिल्लो समय टिकटक एप विश्वमञ्चमा छोटो भिडियोका लागि निकै चर्चित बनेको छ । यो एप मानिसमा लुकेर रहेको प्रतिभाहरु बाहिर उजागर गर्दै विश्वसामु चिन्न र चिनाउन प्रयोग हुने अन्य एपहरुलाई पछि पार्दै एक नम्बरमा पर्न सफल भएको छ । अहिले टिकटकबाटै रहर भएकाहरु गायक देखि नायक र गायिका देखि नायिका बन्ने सपना साकार समेत गरिरहेका छन् । नेपालमा पनि यो एप निकै लोकप्रिय बनेको छ । यो एप अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै कलाकारिता मन पराउनेहरुका लागि राम्रो थलोको रुपमा साबित भएको छ ।
मानिसमा टिकटकको क्रेज यतिसम्म बढेको छ कि बालबालिका र युवा देखि लिएर वृद्धवृद्धाहरु समेत यसको इफेक्टिभ दुनियामा हिरो हिरोइनको रोलमा रमिरहेका छन् । नेपालमा यसले आफ्ना प्रयोगकर्ताहरुलाई यतिसम्म भाइरल हुने भोकको भोकी बनाएको छ कि प्रयोगकर्ताहरु भाइरल हुन कम्मर कसिरहेका छन् । यहाँसम्म कि उनीहरुलाई म कहाँ छु, के गर्दैछु भन्ने कुरा पनि भाहा नहुने भैसकेको छ । नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एप मध्येमा पर्ने टिकटक एपमा भ्यूज र लाइकका लागि उम्रे देखि खुम्रेसम्मका मानिसहरु काम छोडेर भिडियो बनाउनमा लागि परेका देखिन्छन् ।
पछिल्लो समय नेपालमा सरकारी कार्यालय पनि कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेको छ । सेवाग्राहीहरुका कामलाई थाति राखेर सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै व्यस्त हुने पाइएको छ । केही समय अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यकक्षमा माओवादी कार्यकर्ताहरु टिकटक बनाउनका लागि नाचेको भिडियोले निकै आलोचना खेपेको कुरा ताजै छ । तर पनि पछिल्लो समय कार्यालय समयभित्र र कार्यकक्षमा टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या बढ्दो छ । जिल्लाको ओमसतिया गाउँपालिका जसको एउटा उदाहरण हो ।
गाउँपालिकाका कतिपय कर्मचारीहरु सेवाग्राहीका काम छोडेर दिनभर टिकटकमा लाइभ बसेको पाइएको छ । विशेष गरेर सुरक्षाका लागि गाउँपालिकाले खटाएका नगर प्रहरीहरु, कृषि र पशु शाखाका कर्मचारी तथा करारमा नियुक्त भएका स्थानिय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन् । गाउँपालिका अध्यक्षको कार्यकक्ष अगाडि ड्युटिमा खटिएका नगर प्रहरी मनोज अग्रहरी कार्यलय समयमै टिकटक भिडियो बनाउने तथा टिकटकमा लाइभ बस्ने गरेको एक सेवाग्राहीले बताए । उनले नाम नखोल्ने सर्तमा भने, ‘उनी टिकटक भिडियो खिचिदिन सेवाग्राहीहरुलाई नै क्यामेरा पर्सनका रुपमा काममा लगाउने गरेका छन् ।’
यस विषयमा बुझ्न नगर प्रहरी अग्रहरीको टिकटक एकाउण्टमा गएर हेर्दा कार्यालय समयमा नगर प्रहरीको बर्दी लगाएर टिकटक बनाएको थुप्रै भिडियोहरु भेटिएका छन् । उनी आफू त टिकटक बनाउँछन् नै पालिकाको कार्यालयमा कामका लागि आउने आफ्ना चिनजानका व्यक्तिहरुसँग समेत बनाउने गरेका छन् । यद्यपी उनले कार्यालय समयमा बनाएका टिकटकहरु आफ्नो टिकटक एकाण्टबाट अहिले डिलेट गरेका छन् । त्यस्तै कार्यालय समयमा टिकटक बनाउने अर्का पात्र हुन् : कृषि शाखाकी कल्पना ओझा । उनी पनि कार्यालय समयमा कार्यालयको पोषाक र परिचयपत्र झुण्डयाएर टिकटक बनाउने गरेको सेवाग्राहीहरु बताउँछन् ।
रुपन्देहीको यो पालिका टिकटक बनाउने अखडाको प्रतिनिधि पालिकाको पात्र मात्र हो । जिल्लाका अन्य यस्ता धेरै पालिकाहरु छन्, जहाँ कर्मचारीहरु कार्यालय समयमै टिकटकमा झुम्मिने गरको पाइन्छन् । जिल्लाको कोटहीमाई गाउँपालिकामा उद्यम विकास सहजकर्ताको पदमा कार्यरत मुकेश चौधरी पनि कामको समयमा टिकटकमा रमाउने गरेका छन् । उनी पनि कार्यालय पोषाक र परिचयपत्र झुण्डयाएर टिकटक बनाउने गरेको सेवाग्राहीहरु बताउँछन् । यस विषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसँग सम्पर्क गर्न खोज्दा फोन उठेन ।
यसरी कार्यालयको सेवा कक्षमै सेवाग्राहीका काम छोडेर टिकटकमा रमाउने, नाच्ने जस्ता हर्कतले सेवा मात्र प्रवाभित हुँदैन समाजमा नकारात्मक सन्देश समेत जान्छ । माथि चर्चा गरिएका पात्रहरु केवल प्रतिनिधिमुलक पात्र मात्र हुन् जिल्लाका अधिकांश स्थानिय तहहरुमा कार्यरत निजामति र करार कर्मचारीहरुले टिकटकमा कार्यालय समयमा फुर्सद निकालेर एकछिन भन्दै कर्मचारी परिचय पत्र झुण्डयाएर तथा सेवामा रहदाको सरकारी पोशाकमै टिकटकमा नाचेका दृष्यहरु प्रशस्त मात्रामा देख्न पाईन्छ । कर्मचारहरुको नियमित अनुगमन नहुँदा यस्तो विकृती बढदै गएको सेवाग्राहीहरुको गुनासो छ । त्यसकारण सम्बन्धित निकायले यस विषयमा निगरानी गरी यस्ता गतिविधिहरु सरकारी कार्यालयहरुमा निषेध गर्न आवश्यक छ ।