
भैरहवा, २० फागुन । वि.सं. २०४८ सालमा कानुन विषय पढाउने भनि खोलिएको रुपन्देही क्याम्पस स्थापनाको ३० वर्ष पूरा गरी ३१ औँ वर्षमा प्रवेश गरेको छ । ३१ वर्ष अगाडी भैरहवा क्षेत्रका शिक्षाप्रेमी डा. राम प्रसाद बस्याल, बालकृष्ण भट्टराई, धनपति उपाध्याय, कपिलदेव लामिछाने, मणिराम भट्टराई, गितु गिरी, कमलराज जोशी, ज्ञानदेव कटुवाल, सुकदेव गौतम र आदित्यनारायण कसौधन लगायतको पहलमा स्थापना भएको क्याम्पसले विभिन्न कठिन र चुनौतीपूर्ण अवस्थाको सामना गर्दै ३१ औँ वर्षमा प्रवेश गरेको हो ।
क्याम्पसले शुक्रबार एक कार्यक्रम गर्दै आफ्नो ३१ औँ वार्षिकोत्सव मनाएको छ । कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै सिमित प्राध्यापक, सञ्चालक समिति तथा क्याम्पस सभाका पदाधिकारी र छात्रवृत्तिदाताहरुको सहभागितामा क्याम्पसले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संविधान सभा सदस्य आदित्यनारायण कसौधनले रुपन्देही क्याम्पस शिक्षाप्रेमीहरुको महत्वपूर्ण योगदानबाट स्थापना भएको बताउनुभयो । क्याम्पस स्थापनामा योगदान दिएकालाई सम्झदै उहाँले भन्नुभयो, ‘व्यक्ति ठुलो होइन, विचार ठुलो हो । भैरहवामा धन भएका मान्छे नभएका होइनन् तर जसको मन र विचार ठुलो छ उहाँहरुले नै यस क्याम्पसमा महत्वपुर्ण योगदान पुर्याउनुभएको छ । त्यसकारण उहाँहरुको योगदानको सदैव कदर गरिनु पर्दछ ।’
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले क्याम्पस स्थापनाको इतिहास भुल्न नहुने बताउनुभयो । उहाँले क्याम्पस स्थापना गर्नमा योगदान पुर्याएका व्यक्तिहरुको इतिहास सदैव सम्झिरहनुपर्ने बताउँर्दै यो क्याम्पस समुदायिक क्याम्पस भएकाले सबैले यसको उन्नति र प्रगतिका लागि सक्दो योगदान पुर्याउन आवश्यक रहेको जीकिर गर्नुभयो ।
सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन मन्त्रालयका प्रमुख दिवाकर भण्डारी, सिद्धार्थनगरकि नगर उपप्रमुख उमा काफ्ले, वडा नं. ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी, संस्थापक सञ्चालक समिति सदस्य प्रा. डा. गितु गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रमका बीच प्रा. डा. कपिलदेव लामिछाने, प्रा. डा. गितु गिरी, भूतपुर्व क्याम्पस प्रमुख बाबुराम अर्याल र दयाशंकर पाण्डेलाई सम्मान गरिएको थियो । सहायक क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीको सञ्चालन तथा सहप्रध्यापक मोतिलाल सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।